+
+

हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री, भन्छन्-फर्किन खोज्दा दुर्घटना भएको जस्तो देखिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १२:२३

२४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नुवाकोट पुगेर एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको स्थानको अवलोकन गरेका छन् ।

उनले दुर्घटनास्थलको अवस्थाबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराउँदै पाइलटले हेलिकोप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिएको बताए ।

बुधबारमात्रै काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गर्दा नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने ।

झोर भन्ने स्थानभन्दा माथि भञ्ज्याङ जस्तो ठाउँ रहेको र त्यहीँबाट हेलिकप्टर फर्किने बेला दुर्घटना भएको जस्तो देखिने उनको भनाइ छ । उनका अनुसार फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ ।

त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ ।

मन्त्री पाण्डेका अनुसार उक्त हेलिकोप्टर चिनियाँ नागरिकहरुलाई स्याफ्रुबेंसी छोड्ने र फर्किने बेला अमेरिकी नागरिकहरुलाई ल्याउने योजनाका साथ काठमाडौंबाट उडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?