+

मन किन आत्तिरहन्छ ?

२०८१ साउन  २४ गते १२:४८ २०८१ साउन २४ गते १२:४८
मन किन आत्तिरहन्छ ?

यत्तिकै डर लाग्नु, राति निद्राबाट अचानक ब्युँझिनु, अनावश्यक पसिना आउनु सामान्यतया एन्जाइटी (चिन्ता) का लक्षण हुन् । एन्जाइटी भएकालाई कुनै पनि समयमा अचानक एन्जाइटी अट्याक (छटपटाहट) आउनसक्छ ।

एन्जाइटी अट्याक आउँदा कुनै कुरालाई लिएर अत्यधिक चिन्ता वा डर लाग्न थाल्छ । त्यो मनमा उत्पन्न हुने डर जुनसुकै कुरालाई लिएर हुनसक्छ ।

किन यस्तो हुन्छ ?

यसमा धेरै कारण हुनसक्छन् । जस्तो- विद्यालय वा कलेजमा भोगेको दुर्व्यवहार, अपमान, बाल्यकालमा घटेका कुनै अप्रिय घटना, असफलताको पीडा, वियोगको पीडा, सम्बन्ध विच्छेद, प्रियजनको मृत्यु आदि कारणले मान्छेलाई मानसिक रुपमा विक्षिप्त बनाइदिन्छ । यसमा कतिपय व्यक्ति आवश्यकताभन्दा बढी चिन्तित र दुःखी हुन थाल्छन् । यही मानसिक स्थिति कायम रहिरहँदा एन्जाइटी अट्याक्ट आउन सक्छ ।

कतिपय अवस्थामा एन्जाइटी वंशाणुत पनि हुनसक्छ ।

एन्जाइटी अट्याक कसरी हुन्छ ?

एन्जाइटी अट्याक हुँदा अचानक तनाव भइरहन्छ वा असुरक्षित महसुस भइरहन्छ । एक किसिमको हीनताभावले सताउँछ । मानौं,  केही नराम्रो जुनसुकै बेला हुनसक्छ । जसको स्वनियन्त्रण आफूमा छैन ।

त्यस्तै, अकस्मात छाती दुखे जस्तो, शास फेर्न गाह्रो भएजस्तो, रिंगटा लाएर ढलुला जस्तो, वा शरीरमा निकै अनौठो अनुभूति भएर मर्छु की जस्तो हुन्छ। अनियन्त्रित विचार आउने, सास छिटो छिटो फेर्ने र असिनपसिन हुने हुनसक्छ । टाउकोमा झट्का हानेको जस्तो, लगभग यो अट्याक केही क्षणदेखि १५ मिनेट लामो पनि हुनसक्छ ।

यो अनुभव परीक्षामा लेख्दा, कुनै प्रस्तुति दिंदा वा प्रस्तुत हुनुपर्दा, कसैसँग वार्तालाप गर्दा वा नजिकको व्यक्ति घुमाएपछि कहिलेकाहीं स्मरण गर्दा पनि हुनसक्छ । कुनै बेला राति सुतिरहँदा मनमा अनेक तर्कना आउँदा पनि हुनसक्छ ।

एड्रिनेलिन भन्ने हर्मोन उच्च हुँदा यी लक्षण बढ्न सक्छ । एड्रिनेलिन रक्त प्रवाहमा सञ्चारित भइराख्छ । तनावपूर्ण अवस्थामा यो हर्मोनको स्तर स्वभाविक रुपमा बढ्छ । तर यी लक्षण बारम्बार बढिरह्यो भने यसले एन्जाइटी डिसअर्डर गराउँछ ।

एन्जाइटीले पार्ने प्रभाव

एन्जाइटीले व्यक्तिको व्यक्तित्व, आत्मसम्मान, दैनिक क्रियाकलाप, अध्ययन, सामाजिक र पारिवारिक सम्बन्धमा असर पार्छ ।

जसको प्रभावले स्वयं व्यक्तिलाई मात्र असर गर्दैन, घरका सदस्यलाई पनि असर पार्छ । तर यसले अक्सर परिवार र साथीहरूलाई पनि असर गर्न सक्छ । चिन्ताले व्यक्तिको करिअर, सौख र आत्मसम्मानलाई असर गर्न सक्छ ।

केही कुरामा मन नलाग्ने, अत्यधिक सोचिरहने, अरू जस्तो बन्न सकिनँ भन्ने सोच हाबी हुँदै व्यक्ति डिप्रेसनमा पुग्न सक्छ ।

यसले मानसिक मात्र नभई स्वास्थ्यमा पनि समस्या ल्याउँछ । उनीहरूको मनमा यति धेरै उकुसमुकुस हुन्छ कि कोही थला नै पर्छन् । ती उकुसमुकुसले अत्यधिक तनाव पैदा गर्छ ।

अत्यधिक तनाव हुने बित्तिकै शरीरमा कोर्टिसोल नामक हर्मोन निस्कन्छ । कोर्टिसोल हर्मोन बढेमा शरीरको प्रतिरक्षा प्रणालीमा प्रभाव पार्छ । फलस्वरुप प्रतिरक्षा प्रणाली कमजोर भएर ज्वरो तथा टाउको दुखाइ हुने र संक्रमणले घेर्न सक्छ ।

एन्जाइटी अट्याक र हार्ट अट्याकमा द्विविधा

एन्जाइटी अट्याक र हृदयघातका लक्षण मिल्दोजुल्दो हुन्छ। जसकारण एन्जाइटी अट्याक हुँदा हार्ट अट्याक हुन लागेको भन्ने ठान्न सक्छन् । यी दुवै रोग फरक हुन् । एन्जाइटी अट्याक मानसिक समस्या हो भने हार्ट अट्याक शारीरिक रोग हो । यो बीच भिन्नता भनेको एन्जाइटी अट्याक आउँदा छाती जुनसुकै भागमा दुख्ने र मनमा डर हुने देखिन्छ र केही क्षणमा सामान्य हुँदै आउँछ।

यता, हार्ट अट्याक हुँदा छातीको दुखाइ बायाँ सर्दै जाने, दाँतको बंगाराको भाग दुख्ने र तत्काल उपचार नगरे ज्यान नै जाने जोखिम रहन्छ।

त्यस्तै, अत्यधिक तनाव वा चिन्ता ( एन्जाइटी ) हुँदा पनि एन्जाइटी अटयाकका जस्ता लक्षणहरु अनुभव हुनसक्छ ।

एन्जाइटी अट्याकलाई रोक्न सकिन्छ ?

एन्जाइटी अट्याकलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा लक्षण र कति पटक आउँछ भन्नेमा भर पर्छ । यसका लागि मनोचिकित्सक वा मनोविद्सँग परामर्श लिनुपर्छ ।

यद्यपि, केही व्यवस्थापनका उपाय छन्, जसले एन्जाइटी अट्याकको अवस्था सामान्य पार्न मद्दत गर्छ ।

– कुनै कुराले मन खान थाल्यो भने बिस्तारै बिस्तारै लामो सास नाकबाट तान्ने र मुखबाट फाल्ने गर्ने अभ्यास गर्न सकिन्छ ।

– आफ्नो भावनालाई मनमा गुम्स्याएर राख्नु हुँदैन । अनेकौं विचार आइरहेको छ भने रुने, चिच्याउने वा विश्वासिलो साथी वा परिवारको सदस्यलाई मनको कुरा पोख्न सकिन्छ ।

– दिमागलाई आराम दिन मोबाइल वा टिभी हेर्ने जस्ता उत्तेजक गतिविधिबाट रातको समयमा ब्रेक लिनुपर्छ ।

– एन्जाइटी भइरहन्छ भने खाली समय सदुपयोग गर्न घुम्न जाने, बिहानको समय १५ मिनेट घुमफिर गर्ने वा व्यायाम गर्ने अभ्यास गर्नु उपयुक्त हुन्छ । शारीरिक गतिविधि सक्रिय राख्दा न्युरोट्रान्समिटरहरु सक्रिय हुन थाल्छ । जसले दिमागलाई आराम दिन्छ ।

– प्रत्येक व्यक्तिमा निश्चित रूपमा यस्तो ट्रिगर बिन्दु हुन्छ, त्यहाँ पुगेपछि उसले धेरै सोच्न थाल्छ । यस्तो अवस्थामा आफ्नो ट्रिगर बिन्दु पत्ता लगाउनु पनि समस्याबाट राहत पाउने राम्रो तरिका हो । यदि कुनै कुरा वा घटनाले आफूलाई दुःखी बनाउँछ जस्तो लाग्छ भने आफैंलाई सकारात्मक वातावरणमा समावेश गर्ने प्रयास गर्नुपर्छ ।

यी उपायले भएन भने मनोचिकित्सा उपचार आवश्यक हुन्छ । मनोचिकित्सकले अवस्था हेरी औषधि, थेरापी र परामर्श दिनेछन् । जसले बिस्तारै लक्षण कम गरी निर्मूल हुन थाल्छ ।

(ढकाल मनोविद् हुन् ।)

आत्तिने बानी एन्जाइटी मानसिक स्वास्थ्य
गोपाल ढकाल
लेखक
गोपाल ढकाल
मनोविद्

ढकाल मनोविद् हुन् । हाल उनी काठमाडौंको चावहिलस्थित मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय