+
+

ढाका पुगेर मुहम्मद युनुसले भने : आभारी छु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १४:४७

२४ साउन, काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन् ।

विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका नेतृत्व गरेका विद्यार्थीहरु, अन्य सुरक्षा निकायका प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरू पुगेका थिए । विमानस्थलमा पत्रकारहरुले उनलाई ‘कस्तो महसुस भइरहेको छ’ भनेर सोधेका थिए । जवाफमा उनले ‘आफू आभारी रहेको’ बताए ।

स्वतन्त्रता सेनानीको परिवारका आफन्तलाई दिइएको आरक्षणविरुद्ध विद्यार्थीले दुई महिनादेखि गरेको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाड्नु परेको थियो ।

यसपछि बंगलादेशी सेनाले अन्तरिम सरकार बनाउन नेतृत्व लिएको थियो । जसअनुसार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्दैछ । उनीसहित १५ सदस्यीय सल्लाहकार परिषद्ले बिहीबार बेलुकी ८ बजे शपथ ग्रहण गर्ने बंगलादेशका सेना प्रमुख जमानले बताएका छन् ।

प्रधानमन्त्री हसिनाले देश छाड्दा युनुस ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिसमा थिए । पेरिसमै भएका बेला विद्यार्थीहरुले स्वतन्त्र चुनाव गराउन उनको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने माग गरेका थिए ।

उनीहरुले सेनाको समर्थन वा सेनाले बनाउने सरकार आफूहरुलाई मान्य नहुने भन्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठनको माग राखेपछि सेना पनि सहमत भएको थियो ।

विद्यार्थीहरुले सुरुमा प्रस्ताव राख्दा आफूले नस्वीकारेको युनुसले बताएका थिए । ‘मैले त्यसबेला धेरै काम गर्न बाँकी छ भनेको थिएँ, तर विद्यार्थीहरुले मलाई पटकपटक अुनरोध गरे’, उनले भनेका थिए, ‘त्यसपछि विद्यार्थी म जिम्मेवारी लिन तयार भएको थिएँ ।’ ८४ वर्षीय युनुस गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् ।

गरिबीको रेखामुनि रहेकाहरुलाई लक्षित गरेर उनले ग्रामिण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । त्यसका लागि प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामिण बैंकलाई सन् २००६ को नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानून उल्लंघन गरेको भन्दै जेल सजाय सुनाएको थियो । तर, उनले यो आरोप राजनीति प्रेरित भएको भन्दै आलोचना गरेका थिए । अहिले उनलाई अदालतले यो आरोपबाट सफाइ दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?