+
+

खानेपानी महसुल वृद्धिविरुद्ध धरान उपमहानगर कार्यालय परिसरमा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १६:३७
फाइल फोटो ।

२४ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाले बढाएको खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ । महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरु उपमहानगर परिसरमा छिर्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी मानबहादुर राईका अनुसार प्रदर्शनकारीहरु उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको बताए । त्यस क्रममा एक जना प्रहरी कर्मचारीको औंलामा चोट लागेको उनले बताए ।

प्रदर्शनमा करिब २०० जना सहभागी छन् । प्रदर्शनकारीले धरान उपमहानगरपालिका कार्यालयबाहिर नाराबाजी गरिरहेका छन् । ‘सामान्य धकेलाधकेल भएको हो, झडपको स्थिति छैन’, उनले भने ।

महसुल वृद्धिविरुद्ध बिहीबार बिहान उपमहानगर अगाडि धर्ना दिएका थिए ।

धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका थिए ।

धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको थियो । बढेको महसुलविरुद्ध १० राजनीतिक दलले विरोध गरिरहेका छन् ।

आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए । त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका थिए ।

२०७४ सालयता धरानमा खानेपानीको महशुल बढेको थिएन । सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महशुल पनि बढाएको मेयर साम्पाङ बताउँदै आएका छन् । उनका अनुसार खानेपानी वितरणका लागि उपमहानगरले लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।

यसअघि २०७५ सालमा मञ्जु भण्डारी कार्यबाहक मेयर रहेका बेला पनि धरानमा खानेपानीको महशुल वृद्धि भएको थियो । त्यसबेला महशुल वृद्धिविरुद्धको आन्दोलनमा साम्पाङ आफैं पनि सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?