+

अब महिला भलिबलमा पनि फ्रेन्चाइज लिग

२०८१ साउन  २४ गते १९:५२ २०८१ साउन २४ गते १९:५२
अब महिला भलिबलमा पनि फ्रेन्चाइज लिग

२४ साउन, काठमाडौं । नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल)  हुने पक्का भएको छ । इन्फिनिटी ड्रिम्स नामक कम्पनीले महिला भलिबलमा ६ टिम सहभागी गराएर फ्रेन्चाइज लिग गर्न लागेको हो ।

मिति घोषणा हुन बाँकी रहेको लिगका लागि बिहीबार ६ टिमको मालिकको नाम सार्वजनिक गरिएको छ ।

जसमा विभिन्न शहरलाई आधारित रहेर टिम तयार पारिएको छ । लिगमा उपत्यका भित्रबाट काठमाडौं र ललितपुरको टिम हुनेछ भने गण्डकी, चितवन, मधेश र कर्णाली क्षेत्रलाई आधार बनाएर बाँकी टिम बन्नेछ । मधेशले आफ्नो टिमको नाम मधेश युनाइटेड सार्वजनिक गरिसकेको छ ।

इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ । इन्फिनिटी ड्रिम्सका प्रवन्ध निर्देशक आमिर अख्तरले भलिबलको फ्रेन्चाइज लिग दक्षिण एसियामै पहिलो पटक नेपालमा हुन लागेको दाबी गरे ।

छिमेकी भारतमा पुरुषको फ्रेन्चाइज लिग हुँदै आएको छ । सन् २०१९ मा प्रो भलिबल लिगको रुपमा सुरु भएको उक्त लिग सन् २०२२ मा रुपे प्राइम भलिबलको नामबाट हुँदै आएको छ ।

भलिबल नेपालको राष्ट्रिय खेल हो र पछिल्लो समय डोमेस्टिक र अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताका कारण भलिबलको क्रेज बढिरहेको छ । हालै नेपाल भलिबल संघले काभा वुमन्स नेसन्स लिगको सफल आयोजना गर्‍यो । नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स सहभागी लिगको उपाधि भारतले जित्यो भने नेपाल उपबिजेता बन्यो ।

फ्रेन्चाइज लिगले नेपाली भलिबलमा व्यवसायिकताको सुरुवात हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताए । ‘फुटबल क्रिकेट जस्तो भलिबल महँगो खेल होइन । त्यसैले थोरै ठाउँमा पनि यो खेल सहज रुपमा खेल्न सकिन्छ’, उनले भने ।

पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग राउण्ड रोवबनको आधारमा हुनेछ । लिगको बाँकी मोडालिटीबारे भने केही सार्वजनिक गरिएको छैन ।

आयोजकले यसअघि हुँदै आएको अन्य फ्रेन्चाइजी मोडलकै आधारमा यो लिग गर्ने जनाएको छ ।

टिम निर्माणका लागि खेलाडी ड्राफ्ट गर्ने तयारी छ । हरेक टिममा १२ खेलाडी हुनेछन् । जसमा ९ नेपाली र ३ विदेशी खेलाडी रहने आयोजकले जनाएको छ । नेपाली खेलाडीमध्ये एक जना मार्की प्लेअर हुनेछ भने एक जना हरेक टिमले स्थानीय स्तरबाट टयालेन्ट हन्ट गरेर राख्नुपर्नेछ ।

नेपाली खेलाडीलाई तीन समूहमा बर्गीकरण गरेर ड्राफ्ट गरिनेछ । केही दिनपछि नै खेलाडी ड्राफ्ट गरिने आयोजकले जानकारी दिएको छ ।

समूह ए का खेलाडीले १ लाख ५० हजार, समूह बी का खेलाडीले १ लाख र समूह सी का खेलाडीले नगद ५० हजार रुपैयाँ पाउने गर्ने इन्फिनिटी ड्रिम्सका प्रवन्ध निर्देशक अख्तरले जानकारी दिए ।

यो सुरुवात भएकाले विस्तारै खेलाडीको रकम बढाउदै लैजान सकिने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताए ।

‘फुटबल क्रिकेटमा धेरै पैसा छ । तर भलिबलको कथा अली फरक छ । यो खेललाई बचाउनुपर्छ, सुरुमै धेरै खोज्यो भने गाह्रो हुन्छ । लामो समयको योजना बनाएर यसलाई स्थायी बनाउने लक्ष्य छ’,उनले भने ।

उत्सहित फ्रेन्चाइज टिम मालिकहरु

भलिबलको फ्रेन्चाइजका लागि विभिन्न कर्पोरेट क्षेत्रका व्यक्तिहरुले टिमको स्वामित्व लिएका छन् । टिम काठमाडौंको स्वामित्व शरद कृष्ण टिबडवालाले लिएका छन् भने अनुज एम तिमिल्सिना, अनोज रिमाल र विरोचन खनाल (कोरसिंक नेपाल) ले टिम ललितपुरको स्वामित्व लिएका छन् ।

यस्तै टिम मधेशको मालिक रोहित र विशाल अग्रवाल छन् । निम्बस होल्डिङग्सले टिम चितवन तथा सौरभ केडियाले टिम गण्डकीको स्वामित्व लिएका छन् । टिम कर्णालीको स्वामित्व राजेश बगडिया र प्रतिक अधिकारीले लिएका छन् ।

टिम काठमाडौंकी प्रतिनिधित्व गरेकी सुदिक्षा अधिकारीले महिला फ्रेन्चाइज लिगलाई लिएर एकदमै उत्सहित भएको बताइन् । टिम मधेशका रोहित अग्रवालले आफ्नो क्षेत्रमा धेरै युवा ट्यालेन्टहरु रहेको र यस लिगमार्फत उनीहरुलाई अवसर दिने बताए ।

फ्रेन्चाइज लिग हुने भएपछि नेपाली खेलाडीहरु पनि उत्सहित छन् । नेपाली राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारीले क्रिकेट र फुटबलमा फ्रेन्चाइज लिग हुँदा खेलाडीलाई धेरै फाइदा पुगेको भन्दै अब भलिबल खेलाडीलाई पनि राम्रो हुने आशा व्यक्त गरिन् ।

‘नेपालमा नेशनल टिम र विभागबाट मात्र खेलेको छु । अब नयाँ आइरहेका खेलाडीसँग र नयाँ टिमबाट खेल्न पाइन्छ’, उनले भनिन् ।

क्रिकेट र फुटबलपछि भलिबलको फ्रेन्चाइज लिग

यसअघि नेपालमा क्रिकेट र फुटबलको फ्रेन्चाइज लिग भइसकेको छ । भलिबलमा पुरुष र महिला दुवैको फ्रेन्चाइज लिग आयोजना गर्नका लागि नेपाल भलिबल संघले दुई फरक कम्पनीसँग सम्झौता गरिसकेको छ ।

नेपालमा नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा रहँदा एभरेष्ट प्रिमियर लिग (ईपीएल) धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) गरी तीनवटा फ्रेन्चाइज लिग आयोजना भएको थियो । जसले क्रिकेट खेलाडीहरुका लागि राम्रो अवसर प्रदान गरेको थियो ।

आईसीसीबाट क्यानको निलम्बन फुकूवा भएपछि ती तीनवटै लिग हुन सकेको छैन । क्यान आफैंले नेपाल टी-२० लिगको नाममा फ्रेन्चाइज लिग आयोजना गरेको थियो । तर भारतीय कम्पनीसँग मिलेर गरेको उक्त लिग विवादमा परेको थियो ।

यस्तै नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले अखिल नेपाल फुटबल संघसँग सहकार्य गरी दुई संस्करण नेपाल सुपर लिग आयोजना गरिसकेको छ ।

भलिबलको फ्रेन्चाइज लिग गर्न लागेको टिमले नै विगतमा जोहरा इन्टरनेशनलको नामबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजना गरेको थियो ।

महिला भलिबलको फ्रेन्चाइज लिग दशैँ अघि नै गर्ने तयारी छ । ‘हामी केही दिनमै मिति र पुरस्कार राशी पनि घोषणा गर्नेछौं’, अख्तरले भने ।

यसअघि २०७८ साल भदौमा भलिबलको फ्रेन्चाइज लिग गर्ने घोषणा भएको थियो  । तर आयोजकले लामो समयसम्म पनि टिम खोज्न नसकेपछि भलिबल संघसँगको सम्झौता रद्द भएको थियो ।

इडब्लुभिएल इन्फिनिटी ड्रिम्स एभरेष्ट वुमन्स भलिबल लिग महिला भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय