+
+

युरोपलाई ट्रान्जिट बनाएर कोकिन तस्करी

ओलम्पिक हेर्न फ्रान्स पुगेका व्यक्ति वाल्टर्स कोकिन बोकेर काठमाडौं आए

नारायण अधिकारी नारायण अधिकारी
२०८१ साउन २४ गते १९:३९

२४ साउन, काठमाडौं । ६ किलोभन्दा बढी लागूऔषध कोकिन लिएर काठमाडौं आएका लाटभियाका एक नागरिक त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

यसअघि अफ्रिकी मुलुकबाट खाडी मुलुक हुँदै नेपाल आएका व्यक्तिबाट कोकिन बरामद हुँदै आएको थियो । तर ५१ वर्षीय इभार्स वाल्टर्स ६ किलो २४ ग्राम कोकिनसहित युरोपेली मुलकबाट आएकाले भेटिएपछि प्रहरी झस्किएको छ ।

‘पहिलो पटक युरोपलाई ट्रान्जिट बनाउँदै नेपाल आइपुगेका व्यक्तिबाट कोकिन बरामद भएको छ । यसले हाम्रो निगरानीको दायरा बढाउनुपर्ने सन्देश दिएको छ’, लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख तथा एसएसपी दिनेश आचार्य भन्छन् ।

सोधपुछका क्रममा ओलम्पिक हेर्न पुगेका वाल्टर्स पैसाको लोभमा परेर कोकिन भरिया बनेको खुलेको छ । प्रहरीका अनुसार लाटभियाका वाल्टर्स २ अगस्टमा लाटभियाबाट फ्रान्सको पेरिस पुगेका थिए । उनी ५ अगस्टसम्म पेरिसमै रहे । त्यहाँबाट कतारको दोहा यात्रामा निस्किए ।

अनि ६ अगस्टमा कतारबाट एअरवेजमार्फत दोहाबाट काठमाडौंका लागि उडेका थिए ।

प्रहरीले दिएको बयानअनुसार पेरिस पुगेको भएपनि उनले कोकिन भने दोहामा रिसिभ गरेका थिए । ‘पेरिसमा रहँदा अलेक्जेन्डर नाम गरेका अर्का ल्याटभियन नागरिकसँग ह्वाट्स एपमा सम्पर्क भयो । उनैले सबै कुरा बताएपछि ओलम्पिक हेर्न छाडेर कोकिने बोक्ने दोहा पुगेको देखियो’, एक अनुसन्धान अधिकृतले भने ।

वाल्टर्सले दोहामा पुगेपछि मात्रै कोकिन रिसिभ गर्नुले युरोप ट्रान्जिट देखाएर झुक्याउन खोजेको ब्यूरोको निष्कर्ष छ ।

दोहा एअरपोर्टमा कोकिन प्याक

अलेक्जेन्डरले ह्वाट्स एपमा फोटो पठाएका व्यक्तिलाई वाल्टर्सले दोहा एअरपोर्टमा भेटेका थिए । अफ्रिकन मूलका उनको पूरा विवरण खुलिसकेको छैन ।

एक अनुसन्धान अधिकृतका अनुसार उनी कोकिनका क्याप्सुल निलेर दोहा एअरपोर्टमा पुगेका थिए । बाहिर प्लाष्टिकले बेरेर तयार पारिएका कोकिन दोहा एअरपोर्टमा पुगेपछि शौचमार्फत निकाले । अनि बच्चाका खेलौना (डल) भित्र प्याक गरे ।

त्यही सामान सुटकेसमा प्याक गरेर वाल्टर्सलाई दिएपछि उनी काठमाडौं उडेको खुलेको छ ।

खेलौनामा दिसा गन्हाएपछि…

२३ साउनको राति १ बजेर २० मिनेटमा दोहाबाट नेपाल आइपुगेका वाल्र्टसको सुटकेस भन्सार कार्यालयले जाँच गर्‍यो ।
सुटकेस खोलेर हेर्दा भित्र खेलौना देखियो । तर गन्ध भने दिसाको आयो । भन्सारका कर्मचारीले छाम्दा क्याम्पुलजस्ता गोली भेटिएपछि वाल्टर्स शंकाको घेरामा परे ।

भन्सारले खबर गरेपछि ब्यूरोको टोलीले वाल्टर्सलाई नियन्त्रणमा लिएर खेलौना खोल्दा कोकिन फेला पर्‍यो ।

प्रहरी अधिकृतहरुका अनुसार क्याम्पुलको आकार बनाएर प्लाष्टिकले बेर्दा कोकिनको गन्ध बाहिर आउँदैन । यस्तो बेला तालिम प्राप्त कुकुर सुघाउँदा (स्निफिङ गराउँदा) समेत कोकिन भएको पत्ता लाग्दैनथ्यो । अहिलेसम्म जति पनि लागु औषध बरामद भएका छन्, सबैजसो पूर्वसूचनाका आधारमा पक्राउ परेका हुन् ।

यो पटक भने दोहा एयरपोर्टमा शौच गरेर निकालेको कोकिन खेलौनामा राखेर ल्याइएको थियो । राम्ररी नधोई प्याक गरेर पठाएकाले दिसाको गन्ध आयो, जसले तस्करीको पोल खुल्यो ।

६ दिनपछि फर्कने टिकट

पक्राउ परेका वाल्टर्सको पहिलो पटक नेपाल आएका थिए । ओलम्पिक हेर्न छाडेर कोकिनको भरिया बन्न तयार भएका उनलाई ४ हजार अमेरिकी डलर दिने प्रलोभन देखाइएको पाइएको छ । नेपालसम्म आउने र फर्कने हवाइ टिकट कोकिन तस्करहरुले नै व्यवस्था गरेका थिए भने नेपाल घुम्न भनेर ६ दिनको होटल बुकसमेत गरिएको भेटिएको छ ।

नक्सालस्थित क्राउन प्लाजामा वाल्टर्सका लागि भने ६ दिनका लागि कोठा बुक भएको पाइएको छ ।

नेपाल घुमिसकेपछि पुनः दोहा हुँदै फर्कनका लागि भने कतार एअरवेजकै टिकट समेत काटिएको फेला परेको छ । बरामद कोकिनको अवैध बजार मुल्य अनुसार २१ करोड ८ लाख रुपैयाँ हुन आउने प्रहरी अधिकारीहरु बताउँछन् ।

नेपाल भित्रिएको ६ किलो २४ ग्राम कोकिनको गन्तव्य भने भारत भएको प्रहरीको दाबी छ । ‘यो महंगो लागू औषध भएकाले अहिलेसम्म नेपालमा खपत भएको देखिँदैन । यसको मुख्य गन्तव्य भारत देखिन्छ’, ब्यूरोका एसएसपी आचार्यले भने, ‘नेपाल आइपुगेपछि स्थलमार्ग हुँदै भारतका जाने गरेको छ ।’

तस्करका अनेक तरिका : बटमदेखि डलसम्म

ब्यूरोले आज बिहीबार सार्वजनिक गरेको कोकिन बच्चाका खेलौना (डल) भित्र प्याक गरेर ल्याएको अवस्थामा भेटिएको थियो ।

यसअघि ३० असारमा ठमेलका एक होटलबाट बरामद भएको ५ किलो ८२० ग्राम कोकिन बच्चाले बोक्ने झोलामा फल्स बटम बनाएर ल्याइएको थियो । त्यतिबेला मलेसियन महिला बाथुमालाई भाडिवालु पक्राउ परेकी थिइन् ।

१ साउनमै ब्यूरोको टोलीले १ किलो १०० ग्राम कोकिनसहित दुई जनालाई पक्राउ गरेको थियो । कोकिन लिएर आएका नाइजेरियन नागरिक इकेचुक्का सिरिल ओबोडोइफुला र कोकिन सिरिभ गर्न कोलकत्ताबाट आइपुगेका भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अन्सारी दुबै पक्राउ परेका थिए ।

दोहा ट्रान्जिट भएर आएको कोकिन यहाँबाट उनीहरुले स्याम्पुको बट्टामा प्याक गरेर भारत लैजान लागेका थिए । ६ असारमा ४ किलो ५०४ ग्राम कोकिनसहित ४ विदेशी नागरिक पक्राउ परेका थिए । यो समूहले भने कपडाको बटममा लुकाएर कोकिन ल्याएका थिए ।

क्याप्सुल आकार बनाएर निल्ने र गन्तव्यमा पुगेपछि दिशामार्फत कोकिन निकाल्ने तरिका पनि तस्करहरुले प्रयोग गर्दै आएका छन् । २ जेठमा ब्यूरोले २ किलो ६५४ ग्राम कोकिनसहित ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले क्याप्सुल बनाएर निलेर कोकिन ल्याएका थिए ।

केही समय पहिले स्याम्पुको बट्टामा झोल बनाएर कोकिन नेपाल ल्याइएको थियो । सन् २०१६ को मार्चमा झोल कोकिनको रुपमा नेपाल भित्रिएको उक्त घटना निकै नौलो थियो ।

त्यसपछि स्याम्पु र लोसनको बट्टामा पाउडर बनाएर पनि कोकिन नेपाल आइपुगेको थियो । नरिवलको जटाभित्र लुकाएर पनि कोकिन काठमाडौं आइपुगेको थियो ।

अनेक तरिका अपनाएर काठमाडौं आइपुगेका १८.८ किलो कोकिन आर्थिक वर्ष २०८०/८१ मा बरामद भएको थियो । चालु आर्थिक वर्ष सुरु भएको एक महिना पनि नबित्दा १६ किलो कोकिन बरामद भइसकेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?