+
+

एमालेमा कर्णाली अध्यक्ष शाह र केन्द्रीय सदस्य महरलाई कारबाही सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १९:४६

२४ साउन, काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह र केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गर्न सिफारिस गरेको छ । स्थलगत अध्ययन सहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको हो ।

‘आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययन, पीडित र अरु व्यक्तिहरुसँग कुरा गर्दा उहाँहरु दुवै जना पदमा बस्न योग्य देखिनुभएन’, आयोगका एक सदस्यले भने । उनका अनुसार, छानबिन प्रतिवेदन तयार भएपछि आयोगको बैठक बसेर कारबाही गर्न पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ ।

‘पार्टी केन्द्रीय कमिटीले के गर्छ, थाहा भएन । तर उहाँहरुले गरेको काम अनुशासन बाहिरको कुरा हो’, ती सदस्यले भने । कर्णाली प्रदेश अध्यक्ष शाहलाई आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको छ ।

पार्टीकै एक महिलाले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोगले छानबिन थालेको थियो । शाहमाथि छानबिन गर्न आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा हर्कबहादुर कुँवर (गोविन्द) र दीपकप्रसाद देवकोटा सदस्य थिए ।

यही समितिलाई महरमाथि समेत छानबिन गर्ने जिम्मेवारी दिइएको थियो । त्यसैले कर्णालीका कुँवर र सुदूरपश्चिमका देवकोटा सदस्य राखिएको थियो । छानबिन समितिमा रहेका देवकोटा अहिले बागमती प्रदेशको प्रमुख नै नियुक्त भइसकेका छन् ।

‘छानबिनमा देखिएको तथ्यहरु हेर्दा शाह भन्दा पनि महरको अपराध ठूलो छ । त्यही कुरा पार्टीमा सिफारिस गरेका छौं’, ती सदस्यले भने । महरलाई पनि यौन शोषणको आरोप लागेको छ । यसअघि एक महिलासँगको उनको अडियो समेत सार्वजनिक भएको थियो ।

त्यो अडियो सार्वजनिक भएपछि महर केन्द्रीय सदस्यबाट हटाइएका थिए । तर गत १५ वैशाखको उपचुनाव अगाडि पुनः पदबहालीको निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?