+
+

काठमाडौं महानगरका ६५ प्रतिशत विद्यार्थी कक्षा १२ उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १९:५४

२४ साउन, काठमाडौं । १८ साउनमा सार्वजनिक भएको कक्षा १२ को नतिजामा काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान)का अध्यक्ष सुदाम गौतमका अनुसार महानगरपालिकाका ४० विद्यालयका ५ हजार ४०६ जना विद्यार्थीमध्ये ३ हजार ५४९ जना उत्तीर्ण भएका हुन् । यो ६५.६४ प्रतिशत हो ।

महानगरपालिका भित्रका सामुदायिक विद्यालय प्रधानाध्यापकहरूले नतिजा सोचेजस्तो आउन नसक्नुमा शिक्षकले समय व्यवस्थापन गर्न नसक्नु र शिक्षण सिकाइ शैली उचित नहुनु निष्कर्ष निकालेका छन् ।

पानका अध्यक्ष गौतम भन्छन् ‘यी दुई कारण अपेक्षित नतिजा आएको छैन । यस्तो हुनुमा तालिमप्राप्त शिक्षक नहुनु, शिक्षक दरबन्दी नहुनु हो ।’

उनका अनुसार कक्षा ११ र १२ लाई सरकारले शिक्षक दरबन्दी दिंदैन । जसकारण न्यून पारिश्रमिकमा विद्यालयले दक्ष जनशक्ति लिन सक्दैन ।

महानगरका विद्यालयहरूले प्रावि तहमा २०० भन्दाबढी शिक्षक पुल दरबन्दीमा रहेकोले त्यो दरबन्दीलाई कक्षा ११, १२ मा रुपान्तरण गर्ने विषयमा पनि छलफल भइरहेको गौतमले बताए ।

माध्यमिक तहसम्मको विद्यालय स्थानीय तहको मातहतमा रहने व्यवस्था भए पनि अहिलेसम्म पालिकाहरुले कक्षा १० सम्मको लागि मात्रै शिक्षा सुधारका लागि काम गरिरहेको र राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा लिने, नतिजा सार्वजनिक गर्ने काम मात्रै गरिरहेको जानकारहरूको बुझाइ छ ।

अध्यक्ष गौतम भन्छन् ‘कक्षा ११ र १२ प्रति कोही पनि उत्तरदायी भएनन् । संघले परीक्षा लिने, नतिजा दिने, स्थानीय तहले अनुमति दिने बाहेक अरू काम गरेन, स्कुलहरूले भगवान भरोसा जसरी चलाइरहेका छौं ।’

विद्यार्थीबाट अलि बढी शुल्क लिएर क्षमतावान शिक्षक राख्न अथवा शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न सक्ने समेत अवस्था नरहेको उनले बताए । यसरी कक्षा ११ र १२ संघ, प्रदेश, स्थानीय तीनै तहबाट उपेक्षामा परेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका, शिक्षा विभागका शिक्षा अधिकारी गोविन्द शर्माले कक्षा १२ को समग्र तथ्यांक महानगरसँग नभएकाले विश्लेषण गर्न नपाएको बताए ।
उनले भने ‘विद्यालय अनुसार बोर्डले नतिजा दिएको छ । समग्र नतिजाको पहुँचमा छैनौं । त्यसैले विश्लेषण गर्नै पाएका छैनौं ।’

कक्षा १० सम्मका विद्यार्थीको लागि महानगरले जति प्राथमिकता दिएर शैक्षिक सुधारको कार्यक्रम लागू गरेको छ, त्यति कक्षा ११ र १२ मा लागू नगरेको शिक्षा अधिकारी शर्मा पनि स्वीकार गर्छन् ।

‘उपेक्षा नै गरेको भन्न मिल्दैन, किनभने महानगरले शिक्षकको व्यवस्थापन गर्दै आइरहेको छ । यसपटक पनि करिब सय जना शिक्षक थप्ने योजना भइरहेको छ,’ उनी भन्छन् ‘कक्षा १० सम्मलाई जति ध्यान दिएका छौं । त्यति भने गर्न सकिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?