+
+

कांग्रेस प्रदेश सभापतिहरूको प्रश्न : पार्टीभित्र संघीयता खोइ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते २०:१०

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सात प्रदेशका सभापतिहरूले केन्द्रले प्रदेशलाई बेवास्ता गरेको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन् ।

बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार आमन्त्रित सदस्यका रुपमा सात प्रदेशका सभापतिलाई बोल्न दिइएको थियो ।

प्रदेश सभापतिहरू उद्धव थापा, कृष्ण यादव, इन्द्र बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले संघीयता अनुसार प्रदेश कार्यसमितिको भावना पार्टीले बुझ्न नसकेको गुनासो गरेका छन् ।

पार्टी संरचनामा प्रदेश समितिलाई भूमिकाविहीन बनाइएको उनीहरूको चिन्ता थियो ।

१५ भदौदेखि प्रस्तावित १०० दिने सांगठनिक अभियानको प्रदेश संयोजन गर्न पनि सहमहामन्त्रीहरूलाई दिने भए आफ्नो भूमिका कहाँ हुने भन्दै उनीहरूले चासो राखे ।
प्रदेशमा मन्त्री बनाउँदा सम्बन्धित समितिलाई बेवास्ता गरिएको उनीहरूले बताएका छन् ।

‘संघ नीति बनाउने, प्रदेश विकास गर्ने संरचना हो । स्थानीय तह कार्यान्वयन गर्ने संरचना हो । यसअनुसार कांग्रेसले बुझ्न सकेन,’ बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टी बैठकमा भने ।

प्रदेश सभापतिहरूले प्रदेश समितिलाई बोधार्थ कार्यालयका रुपमा मात्रै पार्टीले प्रयोग गरेको बताएका छन् ।

केन्द्रीय सदस्य राजेन्द्र कँडेलले पनि प्रदेशलाई अधिकार नदिइएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारलाई प्रभावकारी बनाउन सरकार हेर्ने संयन्त्र बनाउनुपर्ने मत राखिन् ।

कर्णाली, मधेशको भ्रमण गर्दा धेरै कार्यकर्ता एवम शुभेच्छुकहरू कांग्रेसप्रति त्यति सन्तुष्ट नभएको पार्टी बैठकमा उनले बताइन् ।

‘पार्टी भित्रको गुटबन्दी वडावडामा पुगेको छ । एमालेसँग, त्यो पनि केपी ओलीको नेतृत्वमा गठबन्धन चलाउन हामीले के कस्तो तयारी गरेका छौं ?’ उनले पार्टी नेतृत्वलाई प्रश्न गरिन्, ‘कस्तो टिम पठाएका छौं ? त्यो टिमलाई सघाउने पार्टीको संयन्त्र खै ?’

केन्द्रीय सदस्य मोहन बस्नेतले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी–इस्टेट प्रकरणमा दुई महामन्त्री बोलेको भन्दै आपत्ति जनाए । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ती प्रकरणबारे बोल्दा गठबन्धनलाई अफ्ठ्यारो पर्न सक्ने बताए । उनले भने, ‘महामन्त्रीहरूले शेरबहादुर देउवा प्रधानमन्त्री नबनुन् भन्ने सोच राखेर यस्तो बोल्दैछन् । यस्तो हर्कतलाई रोक्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले वैदिक सनातन धर्मसापेक्ष देश बनाउनुपर्ने मत राखे । कँडेलले संविधान संशोधनको नेतृत्व कांग्रेसले लिएर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र बनाउनुपर्ने मत राखे ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान संशोधनका विषयमा पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई जानकारी गराउनुपर्ने धारणा राखे ।

बैठकमा प्रमुख सचेतक श्याम घिमिरेले संसदीय गतिविधि र संसदमा पेस हुने विधेयकबारे जानकारी गराएका थिए ।

केन्द्रीय सदस्य राजिव कोइरालाले दुई मुख्य दलको गठबन्धन बनेको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?