+

दुनिथ वेलालागे : श्रीलंकाका नयाँ स्टार

२०८१ साउन  २४ गते २१:३९ २०८१ साउन २४ गते २१:३९
दुनिथ वेलालागे : श्रीलंकाका नयाँ स्टार

२४ साउन, काठमाडौं । श्रीलंकालाई भारतविरुद्ध २७ वर्षपछि ओडीआई सिरिज जिताउन २१ वर्षीय बाँया हाते स्पिन अलराउन्डर दुनिथ वेलालागेले प्लेयर अफ द सिरिज प्रदर्शन गरे ।

घरेलु मैदान कोलोम्बोमा बुधबार तेस्रो ओडीआई खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले हराउँदै श्रीलंकाले सन् १९९७ पछि सिरिज जितेको थियो । तेस्रो खेलमा भारतलाई हराउन दुनिथले एक्लै ५ विकेट लिएका थिए ।

भारतविरुद्ध ओडीआई सिरिजमा सबभन्दा कम २१ वर्ष उमेरमा प्लेयर द सिरिज जित्ने उनी श्रीलंका खेलाडी पनि बने । उनले मुख्य प्रशिक्षक सनाथ जयसूर्या १९९७ मा २८ वर्षको कीर्तिमान तोडे । अर्कोतर्फ २७ वर्षदेखि जित्न नसकेको उपाधि र सान फर्काउन सफल भए ।

दबाबमा खेल्नसक्ने खुबी, जिम्मेवारी र धैर्यता उनका गुण हुन् । अनि टोलीको अवस्था र आवश्यकता अनुसार खेल्न सक्छन् । जुन गुण श्रीलंका युवा खेलाडीमा पछिल्लो समय पाउन मुश्किल पर्दछ ।

अनि, अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर खस्किदो प्रदर्शनले निराश बनेको श्रीलंका क्रिकेटलाई विश्वको शक्तिशाली भारतविरुद्धको सिरिज जितले ठूलो राहत दिनेछ ।

अनि युवा खेलाडीको मनोबल फेरिनेछ ।

गत शुक्रबार पहिलो ओडीआईमा भारतविरुद्ध १०१–५ को अवस्थामा पुगेको श्रीलंकालाई २३०–८ को अवस्थामा पुर्‍याउन सातौं नम्बरमा ब्याटिङ गर्दै उनले ६७ रनको अविजित इनिङ खेले ।

२३१ रनको लक्ष्य पछ्याएको भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले १२.४ ओभरमा ७५ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए ।

१६ रनमा गिल र ५८ रनमा रोहित शर्मालाई आउट गरेपछि श्रीलंका खेलमा फर्किएको थियो । भारतलाई अन्तिम १५ बलमा १ रन चाहिँदा चरिथ असलंकाले शिवम दुबे र अर्शदीप सिंहलाई लगातार एलबीडब्लू आउट गर्दै खेल बराबरी गरे ।

तीन टी–२० आई सिरिज भारतले क्लिनस्वीप गरेपछि दबावमा रहेको श्रीलंका टोली, म्यानेजमेन्ट, प्रशिक्षक र समर्थकलाई नाटकीय बराबरी ठूलो राहत थियो ।

दोस्रो खेलमा भारतलाई ३२ रनले हराउन दुनिथले ३५ बलमा १ चौका र २ छक्कासहित ३९ रनको योगदान दिएका थिए । उक्त खेलमा स्पिनर जेफ्री भान्डरसेले एक्लै ६ विकेट लिँदै सहज जित दिलाएका थिए । तीन खेलको सिरिजमा श्रीलंका १–० ले अघि बढ्यो ।

तेस्रो खेलमा पनि श्रीलंकाले टस जितेर पहिला ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २४८ रन बनाएको थियो । अविष्का फेनान्डोले ९६, पाथुम निसांका ४५ र कुशल मेन्डिसले ५९ रन बनाएका थिए ।

२४९ रनको लक्ष्य पछ्याएको भारत १३८ रनमा अल आउट भयो । वेलालागेले ५.१ ओभरमा २७ रन खर्चेर ५ विकेट लिदै भारतीय ब्याटिङक्रम ध्वस्त पारे । उनले रोहित शर्मा, विराट कोहलीसँगै श्रेयस ऐर, अक्षर पटेल र स्पिनर कुलदीप यादवको विकेट लिदै ऐतिहासिक उपाधि जिताए ।

गतवर्ष एसिया कपको सुपर ४ खेलमा भारतलाई २१३ रनमा अल आउट गर्न दुनिथले रोहित शर्मा, शुभमन गिल, विराट कोहली, लोकेश राहुल र हार्दिक पान्ड्यालाई आउट गरेका थिए ।

तर उनले ४२ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न नसक्दा श्रीलंका ४१ रनले पराजित भएको थियो । हारका बाबजुद दुनिथ खेलको प्लेयर अफ द म्याच चुनिएका थिए ।

भारतविरुद्ध ओडीआईमा दुई पटक पाँच विकेट लिने दुनिथ विश्वकै पहिलो स्पिनर बनेका छन् ।

२००३ जनवरी ९ मा जन्मिएका दुनिथका बुबा सुरांगा निरो क्रिकेट खेलाडी हुँदा उनलाई धेरै सहज भयो । सेन्ट सेबास्टियनबाट यू–१३ र यू–१५ उमेर समूहको क्रिकेट खेले । त्यसपछि सेन्ट जोशेफबाट यू–१५ र यू–१९ क्रिकेटलाई अघि बढाएका थिए । सन् २०१९ मा उनले लंका क्रिकेट क्लबबाट श्रीलंका नभ्या स्पोर्ट्स क्लबविरुद्ध १६ वर्षकै उमेरमा प्रथम श्रेणीमा डेब्यू गरेका थिए ।

यू–१९ क्रिकेटबाट उदय

२०२१ मा यूएईमा भएको यू–१९ एसिया कपमा दुनिथले श्रीलंका कप्तानी गर्दै पहिलो खेलमा कुवेतविरुद्ध १.३ ओभरमा २ रन खर्चेर ४ विकेट लिएका थिए । नेपालविरुद्ध २४ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाउनुको साथै १ विकेट र सेमिफाइनलमा पाकिस्तानविरुद्ध ३ विकेट लिए ।

२०२२ जनवरी र फेब्रुअरीमा सम्पन्न वेष्टइण्डिजमा सम्पन्न यू–१९ विश्वकपमा दुनिथले दुनिया हल्लाए । उनले प्रतियोगिताभर ६ खेलमा १ शतकसहित २६४ रन बनाउनुको साथै १७ विकेट लिए । सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिए ।

उनले स्कटल्यान्ड ५ विकेट तथा अष्ट्रेलियाविरुद्ध ५२ रन बनाउनुको साथै ५ विकेट लिँदै लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिए । वेष्टइडिज र अफगानिस्तानविरुद्ध ३–३ विकेट लिए । दक्षिण अफ्रिकाविरुद्ध ११३ रनको शतकीय इनिङ खेलेपछि उनको सिनियर टोलीमा ढोका खुलेको थियो ।

दुनिथले २०२२ जुनमा घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध डेब्यू गरेका थिए । उक्त खेलमा स्टिभ स्मिथ र एश्टन अगरको विकेट लिन सफल भएका थिए । ओडीआई अघि खेलेको तीन टी–२० आई सिरिज भारतसँग श्रीलंकाले क्लिनस्वीप हार ब्यहोरेको थियो ।

सबै खेलमा भारतको हार अन्त्य राम्रो गर्न नसक्नु थियो । ओडीआईमा दुनिथलाई बेन्चमा राख्ने गल्ती श्रीलंकाले गरेन । अनि उनले टोलीको विश्वासलाई पूर्ण न्याय गरे ।

‘म कप्तान, टिमका साथी र कोचिङ स्टाफलाई धन्यवाद भन्न चाहन्छु । सबैले मलाई राम्रो साथ दिनुभयो । त्यसैले म यहाँ छु’, प्लेयर अफ द सिरिजपछि वेलालागेले भने ।

दुनिथ वेलालागे श्रीलंका
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय