+
+

रुसबाट आइपुग्यो अस्तु

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ साउन २४ गते २२:००
रुस युक्रेन युद्धमा मारिएका प्रितम कार्की र उनको घर । कार्कीको परिवारले उनको अस्तु बुझेका छन् ।

२४ साउन, काठमाडौं । रुसी सेनामा भर्ना भएका स्याङ्जाका हरिप्रसाद अर्याल रुस–युक्रेन युद्धमा मारिए ।

नेपाली सेनाको जागिर छोडेर उनी रुसी सेनामा भर्ना हुन गत कात्तिकमा मस्को पुगेका थिए । उनी पुगेको तीन महिनापछि उनको मृत्युको खबर परिवारले पाए ।

रुसमा भएका साथीहरुले पुसको पहिलो हप्ता अर्यालको मृत्युको खबर परिवारलाई दिएका थिए तर अधिकारिक सूचना नभएकाले परिवारलाई पत्याउन मुश्किल पर्‍यो ।

दोस्रो हप्ता सरकारले नै पुष्टि गरेपछि परिवारले हरिप्रसादको मृत्यु स्वीकार गरे । तर काजकिरियाका लागि शवको पखाईमा बसे ।

सरकारी निकाय धाउँदा पनि शव ल्याउन सम्भव नदेखेपछि पुसको अन्तिमतिर कुशको शव बनाएर राम्दीस्थित कालीगण्डकीमा अन्त्येष्टि गरे ।

त्यसको करिव ७ महिनापछि अर्यालको परिवारले बुधबार अस्तु बुझेका छन् । रुसबाट अस्तु आउने भएपछि परिवारका सदस्यहरु स्याङ्जाबाट काठमाडौं आएका थिए । बिहीबार विहान त्रिभुवन विमानस्थलमा अस्तु बुझेका उनीहरुले पशुपति आर्यघाटमा सेलाए । शव नआएपनि अस्तु पाएपछि मन बुझाएर घर फर्किए ।

अर्यालको परिवार लामोसँगै गत मंसिरमा रुस–युक्रेन युद्धमा मारिएका स्याङ्जाकै प्रितम कार्कीको परिवारले पनि ८ महिनापछि अस्तु बुझेका छन् । प्रितमको परिवार पनि लामो समयदेखि शवको पखाईमा बसेको थियो । शव आउने सम्भावना नदेखेपछि उनीहरुले कुशको शव बनाएर अन्तिम संस्कार गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार रुस–युक्रेन युद्धमा मारिएका स्याङ्जाका प्रितम कार्की, हरिप्रसाद अर्याल र गणेश श्रेष्ठ, कास्कीका देवन राई र महोत्तरीका अनितकुमार शाहको अस्तु नेपाल ल्याएर परिवारलाई बुझाइएको हो ।

अस्तु मात्र भएपनि आइपुगेपछि परिवारका सदस्यले चित्त बुझाएको रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी कृतु भण्डारीले बताइन् । ‘आफ्नो मान्छेको मृत्युको खबरले मात्र परिवारहरुले चित बुझाउनुपरेको थियो’ भण्डारीले भने, ‘अस्तु आएपछि थोरै भए पनि मन बुझाउनुभएको छ ।’

कसरी ल्याइयो अस्तु ?

सरकारी तथ्यांक अनुसार रुसी सेनामा भर्ना भएका ३६ जना नेपालीको युद्धका क्रममा मृत्यु भएको पुष्टि भएको छ ।

पीडित परिवारले शव ल्याउन माग गरेका थिए । मृतकको शव फिर्ता, क्षतिपूर्ति, रुसी सेनामा भर्ती भएका अरु नेपाली फिर्ता, सम्पर्कबिहीनहरुको खोजी गर्नुपर्ने माग गरे । परराष्ट्रमन्त्री, प्रधानमन्त्रीलाई समेत भेटे, चरणवद्ध आन्दोलन गरे ।

सरकारले नसुनेपछि माघमा १९ दिनसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा अमरण अनशन समेत बसे । ‘कम्तीमा शव ल्याऊ, देऊ भनेर मतृक परिवारले सरकारी निकायदेखि मन्त्री प्रधानमन्त्रीसँग हारगुहार गर्दा पनि सुनुवाइ भएन’ कृतुले भनिन् ।

पराराष्ट्रका अधिकारीहरु भने शव ल्याउन सहज नभएको बताउँछन् । उनीहरुका अनुसार रुसी सेनामा भर्ना गर्ने क्रममा हरेक व्यक्तिसँग लिखित सम्झौता गरिएको छ, जसमा मृत्यु भएमा रुसभित्र मात्र शव पुर्‍याउने उल्लेख छ ।

सरकार आफैंले खर्च गरेर ल्याउन प्रक्रिया पनि खर्चिलो मात्र होइन, प्रक्रिया पनि निकै झञ्झटिलो भएको एक अधिकारीले बताए ।

त्यसपछि मस्कोस्थित नेपाली दूतावासको समन्वयमा रुसमा शव अन्त्येष्टि गर्ने र अस्तु नेपाल ल्याउन समन्वय गर्‍यो ।

पहिलो चरणमा ५ जनाको अस्तु कतार एयरलाइन्सबाट नेपाल आइपुगेको छ । ‘हाम्रो तर्फबाट मृतकको शव ल्याउने प्रयास भएपनि सम्भव भइरहेको छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘अस्तुसम्म भए पनि आइपुगेको छ ।’

अरु केही मृतकको पनि अस्तु आउने चरणमा छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत गुरुङका अनुसार हालसम्म शव पहिचानका लागि रुसबाट २२ जना परिवारको डीएनएको पठाउन भनिएको छ । मस्कोस्थित नेपाली दूतावासले क्षतिपूर्तिका लागि ६ जनाको कागजात माग गरेको छ ।

फिर्ता हुन थाले नेपाली ?

नेपाली नागरिकहरु अवैध रुपमा रुसी सेनामा भर्ना हुन पुगेका गत कात्तिकमा पहिलो पटक सार्वजनिक भएको थियो ।

हालसम्म रुसी सेनामा भर्ती भएका नेपालीहरुको यकिन छैन । रुसी सेनामा भर्ना भएका परिवारका अनुसार यो संख्या एक हजारमाथि भएको अनुमान छ ।

परिवारहरु जोडिएको अभियानका अनुसार हालसम्म करिब ३०० को संख्यामा नेपालीहरु रुसमा सम्पर्कविहीन छन् । सम्पर्कमा नरहेको भनेर खोजी र फिर्ताका लागि ११८ जनाको परिवारले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । यस्तै घाइते वा अरु कारणले फिर्ता गरिदिन भनेर १६६ वटा निवेदन परेको छ ।

मन्त्रालयका अनुसार १६२ जना भने रुसी सेनाबाट फिर्ता भइसकेका छन् । उनीहरुमध्ये एक जना घाइते समेत रहेको मन्त्रालयको दाबी छ ।

‘गत अक्टोबरमा नेपालीहरुको रुस जाने क्रम पिकमा पुगेको थियो । अहिले एक वर्षे सम्झौता पूरा गरेकाहरु फर्किन थालेको खबर आएको छ’, मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मस्कोस्थित नेपाली दूतावासले दिएको विवरण हो, स्वदेश फर्किएकाहरु मन्त्रालयको सम्पर्कमा भने आएका छैनन् ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?