+
+

सात वर्षपछि क्याटलोनियामा देखिए पृथकतावादी नेता पुज्डमोन

सात वर्षको निर्वासनपछि विहीबार बार्सिलोनामा उनी देखिएनन् मात्रै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै क्याटलोनियाको स्वतन्त्र अभियान जारी रहेको अभिव्यक्ति दिए ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८१ साउन २५ गते ७:०३

बार्सिलोना । ‘क्याटलोनिया स्वतन्त्रता लामो समयसम्म जीवित रहन्छ, हामी अझै यहाँ छौं भनेर याद दिलाउनुको लागि फर्केको हुँ,’ क्याटलोनिया जिन्दावादको नारा लगाउनुपूर्व उनले भने, ‘जनमत संग्रह गराउनु अपराध होइन र कहिल्यै हुने छैन ।’ उनी थिए– क्याटलोनियाका पृथकतावादी नेता कारलस पुज्डमोन ।

राज्यद्रोह गरेको आरोपमा उनी प्रहरीको खोजीको सूचीमा छन् । तर उनले विहीबार बिहान संसद भवन नजिकै भेला भएका सयौं समर्थकहरूलाई बार्सिलोनामा संक्षिप्त रूपमा सम्बोधन गरे । त्यसपछि उनी अज्ञात भए । क्याटलोनियाको प्रहरीले अप्रेशन जारी गर्दै उनलाई खोजी गरिरहेको छ ।

सात वर्षको निर्वासनपछि विहीबार बार्सिलोनामा उनी देखिएनन् मात्रै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै क्याटलोनियाको स्वतन्त्र अभियान जारी रहेको अभिव्यक्ति दिए ।

सन् २०१७ मा तत्कानीन क्षेत्रीय सरकार प्रमुख पुज्डमोनले विवादित जनमत संग्रह गराएका थिए । त्यसपछि उनले क्याटलोनिया स्वतन्त्र भएको घोषणा समेत गरे । त्यसप्रति प्रतिक्रिया जनाउँदै स्पेनको केन्द्र सरकारले क्षेत्रीय सरकार र संसदलाई विघटन गरेको थियो । आफू बर्खास्तमा परेपछि पुज्डमोन बेल्जियम पुगेका थिए ।

संसद भित्र बहस, बाहिर पुज्डमोनको भाषण

क्याटलोनियाको संसदले विहीबार नयाँ प्रमुख चुन्न मतदान गर्दै थियो । संसदमा बहस सुरु हुनुभन्दा एक घण्टा अघि नै पुज्डमोन देखिए । संसद भवन बाहिर उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गरे । कतिपयको अड्कलबाजी उनी संसदमा प्रवेश गर्ने प्रयास गर्दैछन् भन्ने पनि थियो ।

आममाफीको कानुन लागू नहुने फैसला सर्वोच्चले सुनाएपछि राजनीतिले नयाँ मोड लियो । त्यसलगत्तै पृथकतावादी नेता पुज्डमोनले आफ्नो सक्रियता देखाएका छन् ।

त्यहीँबाट गिरफ्तार हुनसक्ने कतिपयको अनुमान पनि थियो । तर प्रहरीको आँखा छल्दै उनी अज्ञात भए । ‘क्याटलोनिया जिन्दावादको’ नारा लगाउँदै बिदा भएका उनी यो समाचार तयार पार्दासम्म पनि अज्ञात छन् । पुज्डमोनलाई भाग्न मद्दत गरेको आशंकामा एक क्याटालान प्रहरी अधिकारीलाई हिरासतमा लिइएको स्पेनी मिडियाहरुले जनाएका छन् ।

सडक हुँदै संसदसम्म तातेको आममाफीको कानुन

स्पेनको समाजवादी पार्टीका पेद्रो सान्चेजले आफूलाई प्रधानमन्त्रीको समर्थन लिन दुई क्याटालान पृथकतावादी पार्टीहरूसँग सम्झौता गरेका थिए । उनीहरूले भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।

प्रधानमन्त्री पेड्रो सान्चेजको समाजवादी पार्टी (पीएसओई) ले संसदमा आममाफी कानून प्रस्तुत गरेको थियो । आम माफीसम्बन्धी कानुनको विरोधमा गत वर्ष नोभेम्बरमा दशौं हजार स्पेनीले प्रदर्शन गरेका थिए । विरोधका बाबजुत पनि संसदबाट कानूनलाई अनुमोदन गरिएको थियो ।

तर जुलाई १ मा स्पेनको सर्वोच्च अदालतको फैसलाले नयाँ मोड लियो । आममाफीको कानुन लागू नहुने फैसला सर्वोच्चले सुनाएपछि राजनीतिले नयाँ मोड लियो ।

त्यसलगत्तै पृथकतावादी नेता पुज्डमोनले आफ्नो सक्रियता देखाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत स्पेन फर्कने योजना समेत सुनाएका थिए । क्याटलोनिया अलग हुने पक्षमा विवादास्पद जनमतसंग्रह गराएयता उनी बेल्जियममा निर्वासनमा थिए ।

क्याटलोनियाको नयाँ प्रमुखमा साल्भाडोर

स्पेनको सत्तारुढ समाजवादी पार्टीका साल्भाडोर इला क्याटलोनियाको १३३ औं राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।

विहीबार संसदमा भएको निर्वाचनमा उनले राष्ट्रपतिको रुपमा दावी गरेका थिए । १३५ सदस्य रहेको संसदमा उनले ६८ मत प्राप्त गर्दै नयाँ राष्ट्रपति बनेका हुन् । स्वतन्त्र पक्षधर पार्टी रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया (ईआरसी) को मुख्य सहयोगमा नै साल्भाडोर निर्वाचित भएका हुन् ।

साल्भाडोर स्पेनका पूर्व स्वास्थ्य मन्त्री समेत हुन् । कोरोना महामारीकालमा प्रधानमन्त्री पेड्रो सान्चेजको मन्त्रिमण्डलमा उनी स्वास्थ्य मन्त्री थिए ।

क्याटालोनियामा सन् २०१० देखि नै स्पेनबाट अलग हुने लक्ष्य राखेका पार्टीहरू र राष्ट्रपतिहरूले शासन गर्दै आएका थिए । सन् २०२४ बाट साल्भाडोरको नेतृत्वले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने कतिपयले विश्लेषण गरेका छन् । सत्तारुढ समाजवादी पार्टी स्पेन एकता कायम राख्ने पक्षमा उभिदै आएको छ ।

लेखकको बारेमा
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?