+
+

अस्पतालमा बिरामीको लाइन हटाउने योजनामा प्रधानमन्त्रीको चासो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १३:४०

२५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको हटाउने विषयमा चासो दिएका छन् ।
स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदहाली गरेदेखि नै अस्पतालमा लाग्ने लाइनहरू हटाउन सुझाव संकलन गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पनि त्यसमा रूची देखाएका हुन् ।

प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे । ‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन पनि दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने कार्यक्रमबारेको छलफलमा उनले राज्यको बजेट न्यून भएको अवस्थामा भौतिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम निर्माण गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक सेवा सुविधा उपलब्ध गराइ बिरामीको सेवा परिचालन गर्न सुुझाव दिए ।

उनले अस्पतालमा आकास्मिक सेवालाई प्रभावकारी बनाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

स्वास्थ्य र अन्य क्षेत्रमा अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न निर्देशन दिए ।

‘खरिद गरिएका उपकरण र औषधि प्रयोग भएनन् भने निजी क्षेत्र वा अन्य कुनै परोपकारी संस्थालाई पनि दिन सकिन्छ तर दुरुपयोग वा प्रयोगबिहीन हुनुभएन, यसतर्फ विशेष ध्यान दिनुहोला,’ उनले भने ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव, सम्बन्धित सचिवहरुलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?