+
+

मौलिकता हराएका तीज गीत

रविना पौडेल रविना पौडेल
२०८१ साउन २५ गते १३:३७

हिन्दु महिलाहरुको पर्व तीज नजिकिंदै छ । महिलाका दुःख, पीडा र वेदना गीत-संगीत मार्फत उजागर गर्ने पर्व पनि हो यो ।

प्रविधिको विकास नभएका बेलामा महिलाहरू माइतमा जम्मा भएर आफ्नो पीडालाई गीत मार्फत प्रस्तुत गर्थे, जसले मौलिकता र यथार्थता बोकेको हुन्थ्यो । समाजमा भएका विकृति, विसंगति र विकासका पक्षलाई पनि गीत मार्फत प्रस्तुत गर्ने पर्वको रूपमा तीजलाई चिनिन्थ्यो ।

तर हिजोआज यो मौलिक पर्वको महत्त्वपूर्ण पक्ष गीत-संगीतलाई व्यापारसँग जोड्न थालिएको छ । मौलिकता हराउँदै, उच्छृङ्खलता र अश्लीलता भरिएका शब्द र भिडियो सार्वजनिक गर्दै डिजिटल प्लाटफर्ममा भ्युज बटुल्ने होडबाजी चल्न थालेको छ ।

हिन्दु नेपाली महिलाको विशेष पर्व, जहाँ ‘परम्परागत रूपमा नाचगान र भजनले भरिपूर्ण गीतहरू गाएर वेदनालाई प्रस्तुत गरिन्छ’ भन्ने कुरा अहिलेको समयमा अनौठो हुन थालेको छ । पहिले तीजका गीतमा दुःख वेदनाका भाव झल्किन्थें । रेडियो, टेलिभिजनले पनि यस्ता गीतहरूलाई प्राथमिकताका साथ प्रसारण गर्थे । गायकले भन्दा पनि बढी गायिकाले भाका हालेर तीजका गीत गाएका सुन्न पाइन्थ्यो ।

तर अहिले तीजका गीतलाई फेसनका रूपमा लिन थालिएको छ । तीज पर्वमा रातो सारी लगाएर माइतीको आँगनीमा नाच्ने, दिदीबहिनीसँग भेटघाट गर्ने, दर खाने र भगवान शिवको आराधना गर्ने परम्परा हो । अहिलेका तीज गीतका शब्दहरूमा अश्लीलताले डेरा जमाउन थालेको छ । नृत्य कलाकारलाई रातो सारीमा होइन, अत्याधुनिक पहिरन प्रदर्शन गरेको देखिन्छ ।

तीज नजिकिंदै जाँदा धेरै गीत रिलिज भइरहेका छन् । तर त्यस्ता धेरै गीत विवादित पनि बनिरहेका छन् । उदाहरणका लागि ‘काले केके बोल्यो बोल्यो, मलाई बिस्ताराले पोल्यो’ भन्ने गीत विवादित भएपछि लोकप्रिय गायिका शान्तिश्री परियारले माफी नै माग्नुपरेको थियो । त्यस्तै, कविता क्षेत्री र भागीरथ चलाउनेको स्वरमा रहेको ‘बिहेअघि दिन्न म लरि लरिलै’, प्रीति आलेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, प्रीति आले र प्रकाश शर्माको ‘चियर्स बियर’ लगायत गीत अश्लील भएको भन्दै विवादित बनेका छन् ।

त्यसो त उच्छृंखलता सांगीतिक क्षेत्रमा नौलो होइन, तर लोक सांस्कृतिक क्षेत्रमा यो सह्य हुने कुरा होइन । यस्ता गीतहरु लोक संगीतमा धमिरा हुन् भन्छु म । आधुनिक गीत बाहिरी सौन्दर्य र मनोरञ्जनमा मात्र केन्द्रित हुँदा महिलाहरूको वास्तविक पीडा र संघर्ष ओझेलमा परेको छ । त्यसैले तीजका गीतमा देखिएका यी विकृतिले नेपाली समाजमा तीज पर्वको मौलिकता र सांस्कृतिक महत्वलाई कमजोर बनाइरहेका छन् । तीज पर्वको मौलिकता र सांस्कृतिक महत्त्वलाई जोगाउन र यसको पवित्रता कायम राख्न सबैको प्रयास जरुरी छ ।

हरेक कुरा झैं गीत-संगीत पनि समयअनुसार परिमार्जन हुँदै जान्छन् । त्यसैले तीज गीतमा मौलिकता र आधुनिकताको सन्तुलन हुनुपर्छ, नकि छाडापनको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?