+

मेरो तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ?

२०८१ साउन  २५ गते १४:३१ २०८१ साउन २५ गते १४:३१
मेरो तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ?

मेरो तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ?

यो थुप्रै महिलाको साझा प्रश्न हो । महिलाको तल्लो पेट दुख्ने समस्या किन हुन्छ ? यो प्रश्नको उत्तर खोज्नुअघि ‘तल्लो पेट’बारे जान्न जरुरी हुन्छ ।

महिलाको तल्लो पेटमा प्रजनन् स्वास्थ्यका अंगहरु हुन्छन् । जस्तो पाठेघर, अण्डाशय, अण्डाविहीन नली, पिसाबथैली, ठूलो आन्द्रा, एपेन्डिक्स आदि । यी अंगहरुमध्ये कुनैपनि एक अंगमा समस्या भएमा तल्लो पेट दुखेको महसुस हुन्छ । त्यो दुखाइ तीव्र वा मन्द हुनसक्छ । वा कतिपय अवस्थामा हल्का महसुस मात्र हुनसक्छ । असहज लागिरहन्छ तर कहाँ दुखेको वा के दुखेको भनेर भेउ पाउन सकिरहेका हुँदैनन् ।

तल्लो पेट के हो ?

तल्लो पेट र माथिल्लो पेट भनेको के हो भनी ठ्याक्कै छुट्याउन गाह्रो छ । सामान्यत नाइटोभन्दा माथिको भागलाई पेट र त्यसभन्दा मुनिको भागलाई तल्लो पेट भनी बुझ्ने गरिन्छ । यद्यपि विशेषगरी प्रजनन् स्वास्थ्यसँग सम्बन्धित अंगहरुको क्षेत्रलाई तल्लो पेट भनिन्छ । सायद त्यसैले होला, पुरुषहरुमा तल्लो पेट भन्ने प्रचलन छैन ।

तल्लो पेट केके कारणले दुख्न सक्छ ?

तल्लो पेट दुख्नुमा एउटा मात्र कारण हुँदैन । महिलाको प्रजनन् अंगमध्ये कुनै एकमा समस्या छ भने दुखाइ महसुस हुन्छ । यस्तो दुखाइ कतिपय अवस्थामा सामान्य हुनसक्छ, जो उपचार नगरी आफैं निको हुन्छ । तर कहिलेकाहीं गम्भीर समस्याको लक्षण पनि हुनसक्छ ।

जस्तो- महिनावारीको बेला पनि तल्लो पेट दुख्छ । महिनावारी चक्र सुरु हुनु केही दिनअघि सो क्रममा र पछि दुख्न सक्छ । यो सामान्य हो । यस्तै डिम्ब उत्पादन हुँदा पनि तल्लो पेट दुख्ने गर्छ । त्यसबाहेक पिसाबको संक्रमण, यौनाङ्गको संक्रमणमा तल्लो पेट दुखेको अनुभव हुन्छ । यी सामान्य अवस्थामा मान्न सकिन्छ । उपचारपछि सहजै ठीक हुन्छ तर कहिलेकाहीं अण्डाशय लगायतमा क्यान्सर भएमा पनि तल्लो पेट दुख्ने गर्छ । त्यसैले दुखाइको आधारमा त्यो सामान्य हो वा जटिल भन्न सकिंदैन ।

दुखाइ कस्तो छ ? यसका किसिम अनि यसका इन्टेसिटी, फ्रिक्वेन्सी, एसासिएसनको आधारमा थप परीक्षणपछि मात्र भन्न सकिन्छ ।

अब के गर्ने त ?

निरन्तर तल्लो पेटको दुखाइ मात्रले केही पनि भन्न सकिंदैन । निरन्तर कति महिना वा वर्ष भयो दुखेको ? दुखाइसँगै रक्तश्राव छ कि छैन, सेतो पानी बग्छ कि बग्दैन ? ढाड पनि दुख्छ कि ? यी कुराहरुको आधारमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । त्यसैले यसमा आत्तिने भन्दा पनि स्वास्थ्य परीक्षणपछि उपचार गराउनु सही हुन्छ ।

यस्तो अवस्थामा के कस्ता स्वास्थ्य जाँच गर्ने त ?

यस अवस्थामा पहिलो चिकित्सकले पेट हेर्ने, पेट थिचेर जाँच्ने, योनीमार्ग हेर्ने वा औजार प्रयोग गरेर पाठेघरको मुख हेर्ने, अल्ट्रासाउन्ड (भिडियो एक्स-रे) गर्ने लगायत आवश्यकता अनुसार धेरै रगत, पिसाब वा पानीको परीक्षण गर्नुपर्ने हुनसक्छ । हरेक पेट दुखाइलाई सबै परीक्षण गर्नुपर्छ भन्ने छैन । बिरामीको परीक्षण गरिसकेपछि चिकित्सकलाई आवश्यक लागेको परीक्षण चिकित्सकले सुझाउन सक्छ ।

डा. बालकृष्ण साह तल्लो पेट स्त्रीरोग
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय