
२५ साउन, काठमाडौं । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणमा असन्तुष्टि जनाउँदै प्रेस काउन्सिल नेपालमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस सेन्टरले वर्गीकरण सच्याउन आग्रह गरेको छ ।
ध्यानाकर्षणपत्र बुझाउन प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी नेतृत्वको टोली काउन्सिलको कार्यालय पुगेको थियो ।
गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरणलगायतमा पक्षधरता देखिएको गुनासो आएको भन्दै यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताएका थिए ।
पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो ।
काउन्सिल अध्यक्ष बस्नेतले पत्रपत्रिकाको वर्गीकरणका विषयमा आएको गुनासोबारे जानकार भएको भन्दै त्यसमा चित्त नबुझाएकाहरुबाट पुनरावलोकन निवेदन संकलन कार्य जारी रहेको बताए ।
प्रतिक्रिया 4