+
+

निक्षेपको ब्याजदर घट्दा नागरिक लगानी कोषको आम्दानी प्रभावित, घट्यो नाफा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १५:११

२५ साउन, काठमाडौं । नागरिक लगानी कोषको आम्दानी सामान्य बढेको छ । तर, नाफा भने आर्थिक वर्ष २०७९/८० को तुलनामा घटेको छ ।

कोषले २०७९/८० को लेखापरीक्षण भएको वित्तीय विवरणमा स्थगन कर आम्दानीमा १५ करोड २१ लाख ५५ हजार लेखांकन गरेको छ ।

सोही आम्दानी लेखांकनले कर अगाडिको नाफा अघिल्लो वर्षको तुलनामा गत आवमा वृद्धि भए पनि करपछि भने घटेको छ ।

शुक्रबार बैंकले प्रकाशित गरेको गत आव २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कोषले २०७९/८० मा १ अर्ब २२ करोड ३६ लाख नाफा कमाएकोमा गत आव नाफा ९.९१ प्रतिशतले घटेको हो ।

दीर्घकालीन प्रकृतिको कोष संकलन गर्ने नागरिक लगानी कोषले लगानी बढाउँदै लगेको छ । लगानीको ठूलो हिस्सा मुद्दती निक्षेपमा राखेकाले कोषको लगानीमा भएको वृद्धि अनुसार आम्दानी बढ्न सकेको छैन । जसले कोषको  नाफा समेत घट्न पुगेको छ ।

कोषको लगानी प्रतिफल २०७९/८० मा ९.४० प्रतिशत रहेकोमा गत आव ८.२० प्रतिशतमा झरेको छ । यस्तै संकलन गरेको कोषको लागत पनि १ प्रतिशत बिन्दुले घटेको छ । आव २०७९/८० मा ८.४९ प्रतिशतबाट गत आव ७.५१ प्रतिशतमा झरेको हो ।

लागतको तुलनामा प्रतिफल उच्च घट्दा लगानी बढे पनि आम्दानी घटेको हो । गत आव नागरिक लगानी कोषको ब्याज आम्दानी ३७ करोड २ लाखबाट बढेर ४४ करोड २५ लाख पुगेको छ ।

यस्तै सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३९ करोड २० लाखबाट बढेर १ अर्ब ४१ करोड १३ लाख पुगेको छ । कोषको कुल आम्दानी १ अर्ब ८२ करोड ९० लाखबाट बढेर १ अर्ब ९२ करोड ४९ लाख पुगेको छ ।

खर्च सामान्य बढेर ४३ करोड ३० लाखबाट ४५ करोड  ५१ लाख पुग्दा कर अगाडिको नाफा करिब साढे ७ करोडले बढेको छ ।  २०७९/८० मा १ अर्ब ३९ करोड ६० करोड रहेको कर अगाडिको नाफा गत आव बढेर १ अर्ब ४६ करोड ९९ लाख पुगेको छ ।

मुद्दती निक्षेपमा केन्द्रित लगानी

कोषको कुल लगानी एक वर्षमा ९.५७ प्रतिशतले बढेको छ ।  २०७९/८० मा २ खर्ब २२ अर्ब ४२ करोड ५४ लाख रहेको कुल लगानी गत वर्ष बढेर २ खर्ब ४३ अर्ब ७२ करोड १९ लाख पुगेको हो ।

कोषको कुल लगानीमा ५० प्रतिशतभन्दा धेरै हिस्सा मुद्दती निक्षेपको छ । मुद्दती निक्षेपको लगानी एक वर्षमा १ खर्ब १३ अर्ब ९५ करोड १२ लाखबाट बढेर १ खर्ब ३० अर्ब ७१ लाख १५ हजार पुगेको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले मुद्दती निक्षेपका ब्याजदर घट्दा कोषको ब्याज आम्दानी अपेक्षित बढ्न सकेको छैन ।

यस्तै कोषले नेपाल सरकारको ऋणपत्रमा गरेको लगानी ५० करोडमा स्थिर छ । कोषले उपलब्ध गराएको समयकालीन कर्जा २३ अर्ब ३९ करोड १० लाखबाट बढेर २५ अर्ब २ करोड ७० लाख पुगेको छ ।

संगठित संस्थाको सेयरमा गरेको लगानी भने घटेको छ । यस्तो लगानी ३४ अर्ब २७ करोड ५९ लाखबाट ३० अर्ब ७१ करोड ९० लाखमा झरेको छ । कोषले सहायक कम्पनीमा २ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।

कोषमा योगदान गर्ने योगदानकर्ता सापटी र आवास कर्जा ५४ अर्ब ३ करोड ९७ लाख पुगेको छ । २०७९÷८० मा यस्तो सापटी ४७ अर्ब ५८ करोड २६ लाख थियो ।

५ अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पूँजी रहेको कोषले २०७९/८० को मुनाफाबाट बोनस सेयर दिएकोमा त्यसलाई पूँजीकरण गर्न बाँकी देखिन्छ । उक्त बोनस सेयर पूँजीकरण नहुँदा कोषको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?