+
+

टुकुचाले कल्भर्टको टेको भत्काउँदा कमलादीको सडकमा भ्वाङ

सडक विभाग भन्छ : पुनर्निर्माण गर्न ३ महिना लाग्छ

डिभिजन सडक कार्यालय काठमाडौंले पुनर्निर्माण गर्न ३ महिना लाग्ने अनुमान गरिरहेको कमलादीको सडक मुनि टुकुचा खोला छ । काठमाडौं महानगरपालिकाले त्यो खोलालाई अवरोध नगरी आफ्नै बाटोमा बग्न दिनुपर्ने तर्क राखेको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ साउन २५ गते २१:०८

२५ साउन, काठमाडौं। बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाको छेउमा कमलादी रोडमा भ्वाङ परेको छ ।डिभिजन सडक कार्यालय काठमाडौं मातहतको उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ परेको छ ।

फुटपाथमा हिँड्न समेत असहज हुने गरी भ्वाङ परेकाले दुई लेनको एकतर्फी यो सडक हाल पूर्णरुपमा बन्द गरिएको छ । सडकमा भ्वाङ परेको जानकारी पाएपछि डिभिजन सडक कार्यालयका अधिकारीहरु अवलोकनका लागि गएका थिए ।

अवलोकनमा गएका डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार टुकुचा खोला (इच्छुमती)को कल्भर्टको टेको भत्किएर सडकमा भ्वाङ परेको हो ।

‘टुकुचा माथि स्ल्याब कल्भर्ट छ । अरु पुल लामो हुन्छ, तर त्यो छोटो पुलजस्तो छ । स्ल्याब कल्भर्टलाई अड्याउन टेको लगाइएको थियो । त्यो टेको ५० औं वर्ष अगाडि ईंटाको बनाइएको रहेछ,’ अनलाइनखबरसँग भण्डारीले भने ।

‘त्यो बेला ईंटाको वाल लगाएर त्यसमाथि फलाम तेर्स्याएर ढलान गरेको रहेछ । त्यसपछि त्यो वाललाई खोलाले खोलाले खोल्दै जाँदा भत्केको हो । जुन ब्रिज वाल हो त्यो भत्केको छ । इँटाको पर्खाल भत्केर फाटेर बस्यो त्यसपछि टुकुचाले माटो बगाएर लगेपछि भ्वाङ पर्‍यो ,’ उनले ब्याख्या गरे ।

भण्डारीका अनुसार पश्चिम क्षेत्र दरबारमार्ग तर्फबाट कमलादीतर्फ पानी आउँदा टेको भत्केपछि सडक मुनिको माटो बगाउँदा भ्वाङ परेको हो ।

पुनर्निर्माण गर्न ३ महिना लाग्ने अनुमान

उनले यसलाई मर्मत सम्भार गरेर मात्र नहुने भन्दै पुरै पुनर्निर्माण गर्ने बताए । ‘त्यो पुरानो कल्भर्टले काम गर्दैन त्यसको लागि फेरी पुरै फेँददेखि नै उठाउन आवश्यक छ,’ भण्डारीले भने ।

कमलादी सडक सञ्चालनमा आउन अब ३ महिना लाग्न सक्ने उनले बताए । ‘यो मर्मत, सम्भार गरेर सञ्चालन गर्ने अवस्था नै छैन । यसको लागि पुरै तलदेखि उठाएर नयाँ कल्भर्ट निर्माण गर्नुपर्ने हुन्छ । अब यो ठेक्का प्रक्रियामै गएर सुरु गर्दा एक–डेढ महिना लाग्छ । काम सम्पन्न गर्दा २–३ महिना हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

बालेन भन्छन् : टुकुचालाई आफ्नै बाटोमा जान दिनुपर्छ

डिभिजन सडक कार्यालय काठमाडौंले पुनर्निर्माण गर्न ३ महिना लाग्ने अनुमान गरिरहेको कमलादीको सडक मुनि टुकुचा खोला छ ।

काठमाडौं महानगरपालिकाले त्यो खोलालाई अवरोध नगरी आफ्नै बाटोमा बग्न दिनुपर्ने तर्क राखेको छ । महानगरका मेयर बालेन शाहले टुकुचा माथि सडकमा परेको खाल्डोको भिडियो सामाजिक सञ्जालमा राख्दै खोलालाई आफ्नै बाटोमा हिँड्न दिनुपर्ने बताएका छन् ।

‘यो टुकुचा माथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौैं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौं,’ बालेनले लेखेका छन् ।

त्यतिबेला अदालती कारणले रोकिन परेको भन्दै उनले टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिबस हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको बताएका छन् ।

‘सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने छ,’ बालेनले लेखेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

१५ वर्षदेखि टुकुचा खोल्न नसकेको महानगर

बालेनले भनेजस्तै काठमाडौं महानगरपालिकाले टुकुचा खोल्न १५ वर्षदेखि प्रयास गरिरहेको छ ।  २०६६ सालमा काठमाडौं महानगरपालिकाले एक सार्वजनिक सूचना निकालेर टुकुचा खोलामा भएको अतिक्रमण हटाउन भनेको थियो । तर, खोला खोज्न फिल्डमा भने गएन ।

२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार ग¥यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।

टुकुचाको खोजीको विषय पटक–पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला–ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै २०७९ साल १२ साउनमै काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि अतिक्रमण हटाउन भनेको थियो । सूचनामा काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तरतर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनिएको थियो ।

सूचनामा घर धनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएर खोतल्न पनि सुरु गरेको थियो । ३० भदौ २०७९ मा सुरुमा जय नेपाल हलको परिसरमा करिब १५ फिट खोतल्दा महानगरले खोला ढाकिएको परम्परागत गुम्बज शैली नाला फेला पारेको थियो । त्यसपछि ५ सय मिटर जति उत्खनन भएपछि महानगरलाई अदालतको आदेशले रोकेको छ ।

महानगरले बोनाफाइड इन्जिनियरिङ कन्सलटेन्सीमार्फत टुकुचाको खोला पहिलेको अवस्था, हाल भएको अतिक्रमण र महानगरले गर्नुपर्ने कामको सम्बन्धमा  गरेको  अध्ययन  अनुसार  टुकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो ।

माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत घर, टहरा र संरचनाहरु बनाइँदा टुकुचा खोला अतिक्रमित र दुर्गन्धित भएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?