+
+

थारू समुदायले मनाए गुरही पर्व

६ जना थारू महिला खेलाडीहरूलाई सम्‍मान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १६:१०

२५ साउन, काठमाडौं। थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व आज संघीय राजधानी काठमाडौंसहित कैलाली र कञ्चनपुरमा धुमधामसँग मनाएका छन् ।

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका  थारू समुदायले खेतीपाती सकिएपछि धानबालीमा कीरा नलागोस् भनेर गुरहीको प्रतीकका रुपमा यो पर्व मनाउने गरेको निसराउ ग्रुपका अध्यक्ष तथा मुल आयेजक समितिका सल्लहकार शिवशक्ति थारूले बताए ।

उनका अनुसार गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाइ गाउँको दक्षिण पट्टिको चोकमा सेलाउने (असरैना) चलन रही आएको  उनका अनुसार यो थारू समुदायको पहिलो पर्व हो भने दिदीबहिनी र दाजुभाइबीचको आपसी सद्भावी र प्रेमको प्रतीको पर्व हो ।

उनले अनलाइनखबरसँग भने, ‘साँझमा सूर्य अस्ताएपछि गाउँका दाजुभाइ र दिदीबहिनीहरू चौतारोमा जम्मा हुन्छन् । उनीहरूले रंगीचङ्गी कपडाले बनाइएका गुरहा र गुरहीलाई सँगै राखेर गाउँका अगुवाहरूबाट अस्ताउने गर्दछन् ।’

प्रकृतिमा गाइने कीराले अरू कीरा फट्यांग्रा नाश गरे जस्तै घरमा आपत्त-विपत्त नआओस् भनेर गुरही पर्व मनाउने गरेको जनविश्व रही आएको उनको भनाइ छ ।

यस्तै गुरही पर्वमा ६ जना थारू महिला खेलाडीहरूलाई सम्‍मान समेत गरिएको छ । सम्‍मानित हुनेमा राष्ट्रिय महिला भलिबलकी स्पाइकर सरस्वती चौधरी र संगम महतो, राष्ट्रिय महिला बिच भलिबलकी मनिसा चौधरी, राष्ट्रिय महिला ह्यान्डबलकी संगीता चौधरी, राष्ट्रिय महिला ह्यान्डबलकी अदिति चौधरी र हिलिना राना थारू रहेकी छिन् ।

यस्तै गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वाससमेत रहिआएको थारू नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले जानकारी दिए ।

उनले भने, ‘गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वाससमेत रहिआएको छ ।’ गुरही सेलाउने काम सकिएपश्चात् गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा प्रसादका रुपमा एकआपसमा बाँढीचुँडी खाने र नाचगानगरी रमाइलो गर्ने प्रचलन रहेको उनले बताए ।

थारू सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्वद्र्धन गर्र्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको सखी सञ्जाल कैलालीकी संयोजक उन्नती चौधरीले बताइन् । ‘विशेषगरी ‘गुरही’ एक प्रकारको कीराको नाम हो, यस कीरालाई नेपाली भाषामा ‘गाइनेकीरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस किराले वातावरण सरसफाइमा टेवा पुर्‍याएको हुन्छ’, उनले भनिन्, ‘यसै गुरहीको प्रतीकका रुपमा गाउँघरका बालबालिका तथा दिदीबहिनीले लुगाको गुरिया बनाई गाउँको चोकमा सेलाउने (असरैना) गर्दछन् र पुरुष सेलाएको गुरियालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध र नराम्रो चिज लैजा भनेर जोरजोरले कराउने प्रचलन रहेको छ ।’

यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रुपमा पनि लिने गरेको छ । गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाँक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहेको थारू अगुवाहरुले बताएका छन् । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ ।

यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाँउमा भएको दुख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ । परापूर्वकालदेखि यो पर्व थारू समुदायले नागपञ्चमीको दिनमा मनाउँदै आएकाले यो पर्वसँगै अन्य पर्वको सुरुआत हुने गरेको थारू कल्याणकारिणी सभाका पूर्वसभापति माधव चौधरीले बताए । उनले यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्ने चाहिँ कुनै लिखित इतिहास नभएको उल्लेख गरे ।

योपर्व काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समेत आयोजना गरिएको छ भने कैलाली मनाउन सखी सञ्जाल, थारू कल्याणकारिणी सभा धनगढी नगरसमिति, राष्ट्रिय थारू कलाकार मञ्च प्रदेश समिति, थारू महिला सभा कैलालीलगायतको संयुक्त आयोजनामा धनगढीको क्याम्पस चोकमा यो पर्व मनाउँन कार्यक्रमको आयोजना नै गरिएको छ ।

त्यस्तै जिल्लामा थारू बसोबास भएका विभिन्न गाउँठाउँमा पनि सामूहिक रुपमा गुरही पर्व मनाइरहेका छन् । यो पर्व थारू समुदायले विगत १५ वर्षदेखि धनगढीको क्याम्पस चोकमा भव्यताका साथ मनाउँदै आएका छन् ।

थारू समुदायले मनाउने गरेको सो पर्वका अवसरमा आज जिल्लाका स्थानीय तहले यहाँ सार्वजनिक बिदासमेत दिएका छन् ।

तस्वीरहरू : दिनेश चौधरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?