+
+

कांग्रेस बैठकमा प्रधानमन्त्रीको कार्यकाल तोक्ने प्रस्तावको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १७:३०

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा व्यक्ति दुईपटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावका विरुद्धमा पार्टी संस्थापन पक्षका नेताहरू देखिएका छन् ।

बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले समसामयिक विषयमा प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा एउटा व्यक्ति प्रधानमन्त्री दुईपटक भन्दा बढी बन्न नहुने प्रस्ताव छलफलका लागि पेश गरेका छन् । उक्त प्रस्तावको विरोधमा परराष्ट्रमन्त्री आरजु राणा र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत देखिएका हुन् ।

शुक्रबार पार्टी बैठकमा बोल्ने क्रममा सभापति शेरबहादुर देउवा पत्नी राणा र प्रवक्ता महतले शर्माको प्रस्तावको विरोध गरेको सहभागी एक नेताले जानकारी दिए ।

शर्माको प्रस्ताव अस्वीकार्य रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले पार्टी बैठकमा भनिन्, ‘संविधानले जतिपटक पनि प्रधानमन्त्री बन्न दिन्छ, कांग्रेसले रोक्ने कसरी मिल्छ ?’

पार्टी प्रवक्ता महतले महामन्त्री शर्माको प्रस्ताव व्यावहारिक नभएको टिप्पणी गरे । दुईपटक भन्दा प्रधानमन्त्री हुन नमिल्ने भन्दै ल्याइएको प्रस्ताव सभापतिलाई पुनः प्रधानमन्त्री हुन नदिने उद्देश्यले ल्याइएको उनले आरोप लगाए ।

‘विश्वप्रकाशजीले ल्याएको एक्जिट पोलिसी व्यावहारिक छैन । यसलाई पारित गर्ने हो भने सभापति देउवाले फेरि प्रधानमन्त्री बन्न पाउनुहुन्न,’ महतले भने, ‘यो प्रस्ताव सभापतिलाई फेरि प्रधानमन्त्री बन्न नदिने उद्देश्यले आएको देखिन्छ ।’

महामन्त्री शर्माले एक्जिट पोलिसीमा वान/टु/थ्री/फोर अनुसार नेतृत्व बहिर्गमन नीति प्रस्तुत गरेका छन् । राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद बढीमा चारपटक हुन पाउने गरी उनले प्रतिवेदन बैठकमा छलफलका लागि पेश गरेका छन् ।

प्रस्तावित एजेण्डालाई पार्टीले पारित गरेमा संवैधानिक व्यवस्था मिलाउन कांग्रेसको पहल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?