+
+

भ्रष्टाचारमा दोषी चुडामणि शर्माले गरे आत्मसमर्पण

सर्वोच्चमा गरे पुनरावेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १८:४०

२५ साउन, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् ।

कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि गरेका छन् ।

‘उहाँ गत बुधबार कारागारमा उपस्थित हुनुभएको हो । लगत्तै सर्वोच्च अदालतमा पुनरावेदन दिनुभयो,’ कारागार स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बिगो र जरिवानावापतको रकम धरौटी राखेर मात्रै मुद्दामा पुनरावेदन गर्न पाइने व्यवस्था छ । उहाँले करिब ६ अर्ब रुपैयाँ धरौटी राख्न सक्नुभएन । थुनामा बसेर पुनरावेदन गर्नुभयो ।’

विशेष अदालतले ५ असार २०८० मा बहुचर्चित कर फर्स्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने फैसला गरेको थियो ।

कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा दोषी ठहर भएका थिए ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगको कामकारबाहीबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै त्यसलाई तीन जना आरोपीबाट बिगो भराउने आदेश गरेको थियो ।

विशेष अदालतबाट भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका व्यक्तिहरु सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउँछन् । तर पुनरावेदन गर्दा उनीहरुले बिगो र जरिवाना बापतको रकम धरौटी बुझाउनुपर्छ । अनि कैद तोकिएको अवस्थामा हरेक दिनको ३ सय रुपैयाँका दरले थप धरौटी जम्मा गर्नुपर्छ ।

बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ परेको थियो । तोकिएको धरौटी बुझाउन नसक्ने अवस्था भएमा दोषी ठहर भएकाहरु थुनामै बसेर पुनरावेदन गर्न पाउँछन् । ठूलो रकम धरौटीबापत बुझाउनुपर्ने भएपछि शर्माले थुना रोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?