+
+

बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर चुडामणि शर्मा सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १८:५५

२५ साउन, काठमाडौं । कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर डिल्लीबजार कारागार पुगेका सहसचिव चुडामणि शर्मा आफू गैरकानूनी थुनामा बस्नुपरेको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।

बाहिरै बसेर विशेष अदालतको फैसला विरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनिने परिस्थिति बनेको भन्दै शर्माले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेका हुन् । उनले विशेष अदालत, अख्तियार, डिल्लीबजार कारागार र सर्वोच्च अदालतकै मुद्दा तथा रिट महाशाखालाई विपक्षी बनाएका छन् ।

विशेष अदालतले गत वर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ तिराउन आदेश गरेको छ । बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।

फौजदारी कानुनमा १० वर्षसम्म कैद सजाय पाएका आरोपीहरूले थुना बाहिर रहेरै मुद्दाको पुनरावेदन गर्न पाउँछन् । तर आफूमाथि ९ वर्षमात्रै कैद तोकिएको अवस्थामा धरौटी बुझाउन नसकेकाले थुनामा बस्नुपरेको भन्दै उनले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् । राज्यको कुनै निकायले व्यक्तिलाई थुनामा राखेमा उसले बन्दीप्रत्यक्षीकरणको निवेदन दिन पाउँछ ।

चुडामणि शर्मा कर फर्स्यौट आयोगकै भ्रष्टाचारको अनुसन्धानका सिलसिलामा समेत थुनामा परेका थिए । अनुसन्धानमा असहयोग गरेको भनी अख्तियारले पक्राउ गरेर थुनामा राखेपछि उनी बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । त्यतिबेला सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । शर्माले शुक्रबार दर्ता गरेको निवेदनमाथि सर्वोच्च अदालतमा आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?