+
+
निबन्ध :

रेचल कार्सनको मौन वसन्त

दोस्रो विश्वयुद्धसम्म युद्ध मैदानमा मात्र प्रयोग गरिएको डीडीटी पाउडर त्यसपछि जब लामखुट्टे र अन्य कीरा मार्नका लागि सबैतिर प्रयोग गर्न थालियो यसले प्राणीजगतको सूक्ष्म खाद्यचक्रलाई कसरी असर गर्‍यो भन्ने अध्ययनबाट वातावरणवाद र वातावरणीय आन्दोलन सुरु भयो । यसको जगमा थियो रेचल कार्सनको पुस्तक-‘साइलेन्ट स्प्रिङ’ ।

रोशन शेरचन रोशन शेरचन
२०८१ साउन २६ गते ८:३२

सालघारीले घेरिएको वन विज्ञान अध्ययन संस्थान हेटौंडाको गेस्ट हाउसमा हप्ता दिनको निम्ति आश्रय लिएको छु । प्रोफेसर मित्र राजबाबु पहाडीको निम्तोमा दशकौंपछि यस क्याम्पसमा आउने जोग मिलेको छ, जहाँ मैले वि.सं २०४२–४४ साल विद्यार्थी भई बिताएको थिएँ । यसपालिको उद्देश्य भने भिन्न छ । स्नातकोत्तर तहका विद्यार्थीलाई सेसन लिनु छ । त्यसकारण रोमाञ्चभावले घेरिएँ । हप्ता दिनको बसाइमा म एक्लो थिइनँ । क्याम्पस गेट प्रवेश गरेपछि दायाँ साइडमा भेटिने कल्कीका बोटहरूमा, प्रशासन भवन, कक्षाकोठा, पुस्तकालय र खेलकुद मैदानमा प्रत्येक क्षण मलाई विगतको स्मृतिले पछ्याइरह्यो । स्मृति पनि तन्नेरी । अठार, उन्नाइस वर्षे !

राजबाबु कक्षा बिहान भएको बताउँछन् । उसको कर्म अध्यापन हो तर हृदयले उनी संवेदनशील कवि हुन् । हामीबीच दुई समानता छन्– वनकर्मी र सृजनात्मक रुचि । वन क्षेत्रमा साहित्यमा रुचि हुनेहरू दुर्लभ प्राणी हुन् ।

सखारै उठ्नुपर्ने भएकोले अलार्म लगाउँछु । उठ्दा चराचुरुङ्गीहरूको थरीथरीको ध्वनि र चिरबिरले वन घन्किरहेको हुन्छ । गेस्ट हाउस कुटी जस्तो छ । अलग्ग र शान्त । वरपर अग्लिएको साल र अस्नाका रूखहरू वर्षाले भिजेर कालो भएको झ्यालबाट देखिन्छ । बिहानी कक्षा भएकोले पढाउँदा ताजगी अनुभव गर्छु ।
दिउँसो गेस्ट हाउसमा गुफा बस्छु, लेक्चर नोट तयार पार्दै । थकाइ अनुभव भए ल्यापटपमा संगीत सुन्छु । लिनुपर्ने बाह्र सेसन मध्ये एउटा छ– वातावरणवाद र

वातावरणीय आन्दोलन । काठमाडौंबाट हिंड्नुअघि केही सन्दर्भ सामग्रीहरूको अध्ययन गरेको थिएँ । बाँकी गेस्ट हाउसमा गरें ।

****

वातावरणवाद (इन्भारमेन्टालिज्म्) को उद्भवको जरा तन्कँदै १९औं शताब्दीको पूर्वाद्र्धसम्म पुग्छ । वातावरणवाद नामक दर्शन, चिन्तन पद्धति वा सामाजिक आन्दोलनको अभीष्ट छ-वातावरणीय सुरक्षा । वातावरणवादका अनेकौं चरणमध्ये दोस्रो विश्वयुद्धपछिको चरण खास रोचक छ । सन् १९४५ मा विश्वयुद्धमा जर्मनीको पराजयपछि अमेरिकाको उदय हुन्छ । विजयपछि अमेरिका सैन्य शक्तिको रूपमा उदाउँछ नै, युद्घबाट जीर्ण भएको अर्थतन्त्र उकास्न अमेरिकाले केही नीतिहरू अपनाउँछ । सैन्य हतियार निर्माण गर्ने फ्याक्ट्रीमा उपभोग्य वस्तु बनाउन थालिन्छ । युद्धबाट फर्केका भेट्रानहरूलाई सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गरिनाले घरजग्गा व्यवसाय फस्टाउँछ । कार, टेलिभिजन, रेफ्रिजेरेटर, विद्युतीय ओभन, भ्याकुम क्लिनर, मिक्सर जस्ता घरायसी काममा प्रयोग हुने उपकरणहरूको आगमनले उपभोगवादी संस्कृतिले जरा हाल्छ । बुम इरा सुरु हुन्छ । यस्तै आर्थिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमिमा, सन् १९६२ मा समुद्री जीवविद् रेचल कार्सनको पुस्तक ‘साइलेन्ट स्प्रिङ’ प्रकाशित हुन्छ ।

सरकारले आकाशबाट डीडीटी पाउडर छरेको केही समयपछि डक्सबरीस्थित आफ्नो पक्षी आरक्षमा केही पक्षीहरूको मृत्यु भएको ओल्गा ओवेन्स हकिन्सले देखिन् । यस घटनाले हकिन्स स्तब्ध भइन् । हकिन्सले डीडीटीको नकारात्मक असरबारे मित्र रेचललाई अवगत गराउँदै सन् १९५८ मा पत्र लेखेर सहयोगको अपील गरिन्

पुस्तकको शीर्षकप्रति मेरो जिज्ञासा बढी मोडिएको थियो । किन साइलेन्ट स्प्रिङ ? त्यसकोे अर्थ के ? खुल्दुली थियो तर कारण थाहा थिएन । सन्दर्भ सामग्रीहरू पढिसकेपछि कारण थाहा भयो । कारण के थाहा भयो, अर्थ खुल्यो । यस्तो पो शीर्षक ! मनमा भाव आयो ।

दोस्रो विश्वयुद्धताका डीडीटीको प्रयोग युद्घरत सैनिकहरूलाई लामखुट्टे वा अन्य कीराहरूबाट बचाउन गरिन्थ्यो । अर्थात् त्यसको प्रयोग सैन्य गतिविधिमा सीमित थियो तर युद्धपश्चात् डीडीटी सर्वसुलभ बन्यो र आम नागरिकको पहुँचमा पुग्यो । खेतीकिसानी, जनस्वास्थ्य र घरायसी कामको निम्ति पनि यसको प्रयोग हुन थाल्यो । धन र शक्तिमा प्रभुत्व जमाउँदै गरेका उदीयमान रसायनिक औषधि बेच्ने कम्पनीहरूले लोकप्रिय पत्रिकाबाट आफ्ना उत्पादनको प्रवर्धनलाई तीव्र बनाए । आक्रामक विज्ञापनको रणनीति लिए ।

सन् १९४७ जून ३० मा टाइम पत्रिकामा डीडीटीको विज्ञापन छापियो । शीर्षक थियो- ‘डीडीटी इज् गुड फर मी… ।’ कृषि, माँस र डेरी उद्योग, फलफूल फार्म, खाद्यान्न प्रशोधन केन्द्रमा मात्र होइन, घरायसी प्रयोगमा समेत उपयोगी हुन्छ भन्ने आशयको सन्देश यत्रतत्र फैलिन थाल्यो ।

डीडीटीको प्रयोग अनियन्त्रित रूपमा बढ्दै गयो । सन् १९४५ देखि १९५५ सम्म कृषिमा मात्र वार्षिक १२५ मिलियन पाउण्डबाट बढेर ६०० मिलियन पाउण्ड डीडीटी प्रयोग हुन थाल्यो । कृषिमा मात्र सीमित रहेन, यसको प्रयोग । अमेरिकी सरकारले यसको प्रयोग सार्वजनिक स्थान र आवासीय क्षेत्रमा पनि गर्न थाल्यो । पार्क, बगैंचा र घर पछाडिको उद्यानमा समेत जहाजबाट डीडीटी छरियो । लामखुट्टेको लार्भा र अन्य हानिकारक कीरा मार्न पोखरी, नदीनाला र स्वीमिङ पुललाई समेत बाँकी राखिएन । आकाशे स्प्रेको केही समयपछि डक्सबरीस्थित दुई एकडमा (फुटबल मैदानभन्दा करिब डेढ गुणा ठूलो क्षेत्रफल) फैलिएको आफ्नो पक्षी आरक्षमा केही पक्षीहरूको मृत्यु भएको ओल्गा ओवेन्स हकिन्सले देखिन् । यस घटनाले हकिन्स स्तब्ध भइन् । हकिन्सले डीडीटीको नकारात्मक असरबारे मित्र रेचललाई अवगत गराउँदै सन् १९५८ मा पत्र लेखेर सहयोगको अपील गरिन् । पत्रको सार थियो :

‘…गएको गर्मी मौसममा राज्यले लामखुट्टे उन्मूलन अभियान भनेर जहाजबाट गर्ने गरेको डीडीटी स्प्रेलाई हानिरहित भनी प्रचार गरेको थियो । उद्यानमा मैले हुर्काएका करीब दर्जन अर्धपाल्तु चराहरू त्यसको असरमा परी मरे । म दाबी गर्छु, निजी स्वामित्वमाथि गरिएको यो अतिक्रमण बद्नियतपूर्ण छ । डीडीटी पाउडरको यस्तो घातक वर्षा न जरूरी थियो, न कसैले चाहेको थियो । यो अमानवीय छ, मूर्खतापूर्ण, प्रजातन्त्रविरोधी र सम्भवतः गैरसंवैधानिक पनि छ ।’

पत्रले रेचललाई डीडीटीको वातावरण र जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावको अध्ययन गर्न घचघच्यायो । युद्घबाट तङ्ग्रिदै गरेको अमेरिकाले डीडीटीलाई मानव जातिलाई अनिकाल र मलेरियाबाट जोगाउने शक्तिशाली अस्त्रको रूपमा प्रस्तुत गरिएको थियो । विज्ञान र प्रविधिको बुई चढी आएको डीडीटीको नकारात्मक असरमाथि अमेरिकी सरकारको ध्यान गएको थिएन ।

त्यसपछि रेचलले विषादी र कीटनाशक रसायन सम्बन्धी उपलब्ध भएसम्मका वैज्ञानिक लेखहरूको विशद् अध्ययन गरिन् । धेरै वैज्ञानिक, संरक्षणविद् र विज्ञहरूसँग सम्पर्क गरी उनीहरूको धारणा सुनिन् । डीडीटीको नकारात्मक प्रभावले थलिएका व्यक्तिहरूलाई भेटिन् । र, उनीहरूको पीडा र विषाद उनीहरूकै मुखबाट सुनिन् । तथ्यलाई प्रमाणिक बनाउन स्थलगत भ्रमण गरिन् । अध्ययन, अनुसन्धान र लेखनको मध्यतिर सन् १९६० मा रेचललाई स्तन क्यान्सर भयो । क्यान्सरले थलिएपछि उनी कमजोर बनिन् । शल्यक्रिया (मासटेक्टोमी) गरिन् तर आफ्नो मिसनमा विचलित नभई डटिरहिन् ।

अनुसन्धानको तथ्यांक र प्रमाणको विश्लेषण गर्दै जाँदा डीडीटीको नकारात्मक असर आफूले कल्पना गरेभन्दा व्यापक र गहिरो भेटिन् । वातावरण र जनस्वास्थ्यमा डीडीटीका दूरगामी प्रभावबारे आमनागरिकलाई बताउनै पर्छ भन्ने सोचेर पुस्तक निकाल्न कस्सिइन् । रेचलले लेखेकी छिन्, ‘यस विषयमा म मौन बसें भने, मैले शान्ति पाउने छैन !’

यसरी चार वर्षको अथक् साधनापश्चात् सन् १९६२ मा ‘साइलेन्ट स्प्रिङ’ प्रकाशित भयो । यस पुस्तकले अमेरिकी र विकसित देशमा ठूलो तरङ्ग उत्पन्न गर्‍यो । पुस्तक अत्यन्त चर्चित बन्यो । जति पुस्तक रुचाइयो, उति विवादास्पद पनि बन्यो । पक्ष र विपक्षमा समाज ध्रुवीकृत बन्यो । वातावरणीय आन्दोलन थप अगाडि बढ्यो ।
घडी हेरें । सेसन लिंदालिंदै साढे एघार पनि बजिसकेछ । केहीबेर छलफल गरेर बिट मारें ।

****

वातावरणीय आन्दोलन चर्किएपछि अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले साइन्स एड्भाइजरी कमिटीलाई रेचलको दाबीहरू सही भए–नभएको छानबिन गर्न निर्देशन दिए । पुस्तक प्रकाशन भएको दुई वर्षपछि, ५६ वर्षको उमेरमा स्तन क्यान्सरकै कारण रेचलको मृत्यु भयो । यता कमिटीले रेचलको दाबी सत्य भएको निष्कर्ष निकाल्यो ।

मित्र राजबाबुलाई पहिलो दिन नै खाना कहाँ खाँदा ठिक होला भनेर सोधेको थिएँ । उनले क्याम्पसको क्यान्टिन देखाएका थिए । क्यान्टिनमा खाना खाएर कुटी फर्कें । अर्को दिनको नोट बनाउनतिर लागें । साँझपख क्याम्पसको खेलकुद मैदानतिर निस्कें । विद्यार्थी भाइहरू फुटबल खेलिरहेका थिए, बहिनीहरू भलिबल । विद्यार्थी बहिनीहरू पनि फुटबल खेलेको हेर्ने चाहना थियो तर पितृसत्तात्मक सोच अझै गजधम्म उभिएको रहेछ । नत्र झण्डै चार दशकमा खेलकुद अझै किन जेन्डर्ड ?

मैदानको पश्चिमपट्टि छात्रावास देखिन्थ्यो । रोगन उडेको र वर्षात्को पानी रसाएको नीरस छात्रावास । त्यो छात्रावासमा बस्ने पहिलो ब्याच थियौं हामी । विसं २०४३, प्रमाणपत्र तहको दोस्रो वर्षको विद्यार्थी हुँदा त्यस छात्रावासमा सरेका थियौं हामी । नयाँ र आधुनिक छात्रावासमा सर्न पाउँदा हामी रमाएका थियौं । दुई जनालाई सिंगो कोठा । हरेक विद्यार्थीलाई काठको एक गह्रुङ्गो कुर्सी र टेबल । अनि लुगा झुन्ड्याउने क्लजेट-वार्डरोव । पुरानो होस्टलमा त पाँच जनासम्म कोचिएर बसेका थियौं । कपडा पनि ट्याङ्कामा राखिन्थ्यो । नयाँ कोठाको झ्याल मैदानतिर खुल्ने भएकोले कोठाबाटै फुटबल हेर्ने सुविधा थियो । जाँगर चले, मैदानमा उत्रिंदा पनि भयो । यसपालि चाहिं विद्यार्थी भाइहरू फुटबल खेलेको हेरिबसें ।

उतातिर मेरो दिमागमा चाहिं रेचल नै थिइन् । पुस्तकमा डीडीटीले हानिकारक लामखुट्टे र कीराहरूको साथसाथै चरा, जलचर र लाभदायक कीराहरू समेत मार्ने भएकोले त्यसले सूक्ष्म खाद्य जालोलाई कसरी खल्बलाउँछ भनेर त्यसतर्फ सबैको ध्यान आकर्षण गराएकी थिइन् । मिचिगन स्टेट युनिभर्सिटीका चराविद् प्रोफेसर जर्ज वालेस र ग्राजुएट विद्यार्थी जन मेनरले चरा सम्बन्धी अनुसन्धान गरेका थिए । युनिभर्सिटी परिसर रोबिन चराको चिहानमा परिणत हँुदै गएको देखेपछि उनीहरू त्यसको कारण खोज्न लागे । डीडीटीको प्रत्यक्ष सम्पर्क (एक्सपोजर) मा आउनाले भन्दा पनि विषादी मिसिएको गड्यौला खाएकोले रोबिन मरेको निष्कर्षमा वालेसको टोली पुग्यो ।

डा. वालेसलाई उद्धृत गर्दै रेचलले लेखेकी छिन्-रोबिन र अन्य चराहरूले गुँड बनाए तर अण्डा दिन सकेनन् । केही चराले अण्डा दिए पनि कोरल्न सकेनन् । कतिसम्म भने रोबिन प्रजातिको चरा २१ दिनसम्म समर्पित भई ओथारो बस्दा पनि बच्चा कोरल्न असफल भयो, जबकि सामान्यतया कोरल्न १३ दिन लाग्छ (पृष्ठ १०७) । यसरी प्रजनन् क्षमतामा ह्रास आई अन्ततः सबै चरा लोप भई चराचुरुङ्गीको चिरबिर नै बन्द हुन जाँदा वसन्त मौन बन्नेछ । वसन्त नयाँ पालुवा लाग्ने र चराको चिरबिर सुनिने ऋतु । मौन भए, वसन्तको के अर्थ ? भाषाशैली काव्यात्मक छ । मौन वसन्त रेचलको उर्बर कल्पनाशीलताले बुनेको बिम्ब हो-डीडीटीले प्राकृतिक विज्ञानको घाँटी निमोठ्दै गरेको दृश्यको ।

चरामा मात्र नभई, मानवमा डीडीटीको प्रभाव के कस्तो पर्न सक्छ भन्नेबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । डीडीटीसँगको निरन्तर सम्पर्कले क्यान्सर जस्ता दीर्घ रोग निम्तिने अनुसन्धानले देखाएको तर्फ उनले संकेत गरेकी छन् । डीडीटी छर्केपछि लामो समयसम्म त्यो नष्ट नहुने र त्यसको अवशेषले पनि प्राणी र मान्छेको स्वास्थ्यमा असर पर्ने उनले लेखेकी छन् । साथै, नाफाको पछाडि कुद्ने रसायनिक कम्पनीहरूको आलोचना गरेकी छन् ।

डीडीटीबारे लेखिएको भए पनि यो पुस्तक संरक्षणविद्, शिक्षक, विद्यार्थी लगायत आम नागरिकबीच यति लोकप्रिय भयो कि त्यसले आधुनिक वातावरणीय आन्दोलनलाई थप गति दियो । त्यही वर्ष अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले साइन्स एड्भाइजरी कमिटीलाई रेचलको दाबीहरू सही भए-नभएको छानबिन गर्न निर्देशन दिए । पुस्तक प्रकाशन भएको दुई वर्षपछि, ५६ वर्षको उमेरमा स्तन क्यान्सरकै कारण रेचलको मृत्यु भयो । यता कमिटीले रेचलको दाबी सत्य भएको निष्कर्ष निकाल्यो । कमिटीको प्रतिवेदन, आमनागरिक र अभियानकर्मीहरूको बढ्दो दबाबले सन् १९७२ मा अमेरिकाले डीडीटीको प्रयोगमा बन्देज लगायो ।

साहित्यमा जस्तै वातावरणीय आन्दोलनमा पनि रचनात्मक दबाब आवश्यक पर्दोरहेछ । अनुमान गर्न सकिन्छ, हकिन्सले रेचललाई पत्र नलेखेकी भए, सायदै ‘साइलेन्ट स्प्रिङ’ लेखिन्थ्यो । रेचल कार्सनले पुस्तकको धन्यवाद खण्डमा लेखेकी पनि छिन्-

‘जनवरी, १९५८ को पत्रमा ओल्गा ओवेन्स हकिन्सले मलाई पत्र मार्फत उसको सानो संसारलाई डीडीटीले कसरी मृत बनाइदियो भन्ने बारे आफ्नो तिक्त अनुभव बताएकी थिइन् । त्यस पत्रले मेरो ध्यान बलियोसँग आकृष्ट गर्‍यो । त्यो समस्या लामो समयदेखि मेरो पनि सरोकारको विषय थियो । त्यसपछि मैले अठोट गरें, मैले यो पुस्तक लेख्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?