+
+

बेनी-दरबाङ सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २६ गते ८:११

२६ साउन, गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको बेनी-दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी-दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन् ।

बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको छ । यात्रु जोखिम मोलेर पहिरो पार गरी आ-आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी-दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो ।

उक्त सडक खण्डको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका-६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका-२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

उक्त सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताए ।

पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । करिब १८ वर्षअघि सडक खन्नुअघि नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङमा हरिकृष्ण पौडेलले बताए ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ । यात्रु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?