+
+

मधेशमा आफ्नै मुख्यमन्त्रीसँग सीके राउत असन्तुष्ट

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ साउन २६ गते १४:०६

२५ साउन, जनकपुरधाम । मन्त्रिपरिषद २० सदस्यीय बनाएको तीन दिनपछि शुक्रबार सीके राउत नेतृत्वकाे जनमत पार्टीले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण माग गरेको छ ।

२५ जेठमा मुख्यमन्त्री बनेका सिंहले २२ साउनमा ५ जना राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय बनाएका थिए । मन्त्रिपरिषद जम्बो बनाएर प्रशासनिक खर्च बढाउने मात्र काम गरेको भन्दै मुख्यमन्त्री र पार्टीको आलोचना भइरहेका बेला जनमत पार्टीले स्पष्टीकरण माग गरेको हो ।

प्रवक्ता शरद सिंह यादवका अनुसार मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरी मन्त्रालय बाँडफाँड गरेको र राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय पुर्‍याएकामा पार्टी असन्तुष्ट छ ।

त्यस्तै मुख्यमन्त्रीले नागरिकको काम भन्दा उद्घाटन जस्ता औपचारिक कार्यक्रममा समय खर्च गरेको पनि जनमत पार्टीको निश्कर्ष छ । मुख्यमन्त्रीले पार्टीको निर्देशन नमानेको र पटक पटक गल्ती गरेको जनमत पार्टीको भनाइ छ

‘पार्टीले मुख्यमन्त्रीलाई काम गर्न गाइडलाइन दिएको थियो । त्यसको पालना भएन । पटक पटक त्रुटि भइरह्यो । उहाँलाई पार्टीको केही निर्देशन छ, जसको पालन भएन । मुख्यमन्त्रीको कामप्रति पार्टी असन्तुष्ट छ’, जनमतका प्रवक्ता शरदसिंह यादव भन्छन् ।

बजेट बनाउने क्रममा प्रदेश सांसदहरुलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा आँच पुर्‍याएको पनि जनमत पार्टीका प्रवक्ता यादवले बताए ।

२५ जेठमा नेकपा एमालेसहित ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका सिंहको मन्त्रिपरिषद मधेशमा अहिलेसम्मको ठूलो हो । यसअघि साढे ६ वर्ष जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्दा मन्त्रिपरिषद १५ सदस्यीय भन्दा ठूलो भएको थिएन ।

जनमतका एक नेताका अनुसार ३ साउनमा कांग्रेस र लोसपा सरकारमा सहभागी हुँदा पछि थप १–१ राज्यमन्त्री दिने सहमति थियो ।

२२ साउनमा मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नै नगरी मनपरी काँग्रेसलाई सहमति विपरीत २, एमाले र आफ्नो पार्टीलाईसमेत १ राज्यमन्त्री मुख्यमन्त्रीले थपेका थिए ।

मधेशमा २२ साउनमा ५ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउँदै मुख्यमन्त्री सिंह ।

‘कांग्रेसलाई थप १, एमाले र आफ्नो पार्टीबाट थप १–१ राज्यमन्त्री बनाउने कुनै जरुरी नै थिएन । तर पार्टीसँग समन्वय नगरी थप तीन राज्यमन्त्री नियुक्त गर्नुभयो । जसको कारण सरकारसँगै पार्टीको पनि चर्को आलोचना भइरहेको छ’ जनमतका एक प्रदेशसभा सदस्य भन्छन्, ‘यसअघिका केही घटना क्रम भएपनि स्पष्टीकरण सोध्नु मुख्यतः पार्टीसँग समन्वय नगरी जम्बो मन्त्रिपरिषद बनाउनु कारण हो ।’

मुख्यमन्त्री सिंहले भने आफूले पार्टीको निर्देशन विपरीत काम नगरेको जिकिर गरेका छन् । संविधानमा मन्त्रिपरिषदको आकार प्रदेशसभा सदस्यको २० प्रतिशतसम्म हुन सक्ने व्यवस्था रहेको भन्दै उनले २० सदस्यीय मन्त्रिपरिषद संविधान विपरीत नभएको दाबी गरे ।

‘प्रदेश सभामा कुल सदस्यसंख्याको २० प्रतिशत मन्त्रिपरिषद बनाउन सकिने संवैधानिक प्रावधान छ । ‘यस हिसाबले एकजना अझ थप्न सकिन्छ’, उनले भने, ‘विगतमा जस्तो राज्यमन्त्री बनाएर थुपार्ने काम मात्र हुँदैन । कामको जिम्मेवारी दिएर दिएर काम गरेर समेत देखाउँछु ।’

२०७४ सालमा प्रदेशसभा गठन भएयताको साढे ६ वर्षमा मधेशमा जनता समाजवादी पार्टीले नै सरकार चलाएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि गत जेठमा जनमत पार्टीले एमाले–माओवादीसहितको दलको समर्थनमा सरकार बनाउन पाएको हो । गत असारमा सत्ता समीकरण फेरिएपछि माओवादी बाहिरिएको छ भने कांग्रेस सरकारमा सहभागी भएको छ ।

तर दुई महिनामै जनमत नेतृत्वको सरकार आलोचित भएको छ । डा. सिके राउत नेत्वको जनमत पार्टीले फरक ढंगले काम गर्ने आशा मधेशका बासिन्दामा छ ।

तर जनमत नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट पनि आलोचनाबाट अछुतो रहन सकेन । बजेटमा त्रुटि भएको मुख्यमन्त्री सिंहको स्वीकारोक्तिलाई प्रतिपक्षी जसपाले मुद्दा बनायो । बजेटको सफ्टवेयरमै अनधिकृत व्यक्ति प्रवेश गरेर जथाभावी योजना थपघट गरेको आरोपसमेत लाग्यो ।

बजेटको अनियमितता छानबिन गर्न जसपा नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवकको नेतृत्वमा समिति नै बनेको छ ।

सिंह नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले प्रत्येक सांसदलाई पाँच करोड बजेट चलाउन दिने निर्णय गरेको सार्वजनिक भएको थियो ।

काम कारबाहीको विषयमा पार्टीले मुख्यमन्त्री सिंहलाई यसअघि सचेत नै गराएको थियो । एक केन्द्रीय नेताका अनुसार साउन पहिलो साता जनकपुरमा बसेको जनमतको सचिवालय बैठकमा जनमतले महसुस हुने गरी कामममा जोड दिन निर्देशन दिएको थियो ।

‘विगत जस्तो त्रुटि हुन नदिनुस् । जनतालाई अनुभूति हुने गरी काम गर्नुस् लगायतको निर्देशन सचिवालय बैठकमै मुख्यमन्त्री सिंहलाई दिइएको थियो’, ती नेता सुनाउँछन् ।

मुख्यमन्त्री सिंह नेतृत्वसँग समन्वय गरेर नै धेरै काम गरेको दाबी गरे । ‘पार्टी नेतृत्व मेरो अभिभावक हो । पार्टीलाई बाइपास गरेर हिँड्न मिल्दैन । महत्वपूर्ण धेरै कामहरु समन्वय सरसल्लाह गरी गर्छु’, मुख्यमन्त्री सिंह भन्छन्, ‘गठबन्धनको सरकार भएकाले सबैलाई मिलाएर काम गरिरहेको छु ।’

जनतालाई महसुस गराउन १८ घण्टा खट्ने गरेको उनले यसअघिका बेथिती सुल्झाउन समय लाग्ने बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?