+
+

मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा

रासस रासस
२०८१ साउन २६ गते १७:५२

२६ साउन, जनकपुरधाम (धनुषा) । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उधोगमाथि कारबाही गर्ने भएको छ ।

मापदण्ड विपरीत सञ्चालित जनकपुर–१४ स्थित जानकी र छिरेश्वरनाथ नगरपालिका–५ स्थित विशाल डेरी उद्योगमाथि जिल्ला अदालत जनकपुरमा मुद्दा दायर गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।

कार्यालयले अनुगमनका क्रममा दुवै उद्योगबाट उत्पादित सामग्रीको नमूना सङ्कलन गरी जाँच गर्दा कैफियत पाएपछि कारबाही गरिएको कार्यालयका सूचना अधिकारी प्रवीण तिवारीले जानकारी दिए ।

‘माँ जानकी डेरी उद्योगबाट उत्पादित खुवा, घ्यू तथा प्रशोधित दूधको नमूना सङ्कलन गर्दा मापदण्डअनुसार नभएको पाइएको छ । विशाल डेरी उद्योगको पूजामा प्रयोग गरिने घ्यूको जाँच गर्दा कैफियत पाइएको हो’, उनले भने । बजारमा विशाल डेरीबाट उत्पादित घ्यू नष्ट गरिएको छ ।

कार्यालयले गत आवमा यहाँ ४६ वटा औद्योगिक तथा व्यावसायिक फार्मबाट उत्पादित सामग्रीको अनुगमन, छड्के निगरानी गरी मिसावट भएका, गुणस्तरहीन तथा म्याद नाघेका वस्तु नष्ट गरेको थियो । सङ्कलित नमूनामध्ये प्रयोगशालामा जाँच गर्दा दुई डेरी उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको कार्यालयका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

कार्यालयबाट जनकपुरसहित धनुषाको विभिन्न बजार तथा चोकमा अनुगमन भएको थियो । व्यावसायिक होटल, रेष्टुरेण्ट, मासु पसल, किराना पसल, मिष्ठान भण्डार, बोर्डिङ स्कुलका क्यान्टिन, अस्पतालका क्यान्टिनको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ती व्यवसायिक फार्मबाट रु दुई लाख मूल्य बराबरको अखाद्य वस्तु नष्ट गरिएको तिवारीले बताए ।

गत आवमा मधेस प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७ खाद्यपदार्थको नमूना जाँच गर्दा ७४ वटा नमूना प्रतिकूल पाइएको थियो । तीमध्ये ३१ मुद्दा दायर, १६ को बयान सकिएको र अन्यको बयान लिन बाँकी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?