+

दशौं राष्ट्रिय खेलकुदको मस्कट रेडपाण्डा प्रस्ताव

२०८१ साउन  २७ गते ६:३६ २०८१ साउन २७ गते ६:३६
दशौं राष्ट्रिय खेलकुदको मस्कट रेडपाण्डा प्रस्ताव

२७ साउन, सुर्खेत । आगामी मंसिर पहिलो साता कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको सय दिने काउन्टडाउन सुरु भएको छ ।

स्थानीय आयोजकको रुपमा रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले शबावार वीरेन्द्रनगरमा एक कार्यक्रम गर्दै एक सय दिनको काउन्टडाउन सुरु गरेको हो ।

दशौं राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेसम्मका लागि तय भएको छ ।

दशौं राष्ट्रिय खेलकुदको मुख्य उद्घाटनस्थल निर्माणाधीन कर्णाली प्रदेश रंगशालामा शनिबार विषेश कार्यक्रम आयोजना गरिएको थियो । जहाँ कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पनि राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्तावको रुपमा पेस गरेको छ ।

प्रस्तावित लोगोमा सातवटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित लोगो राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्तावको रुपमा पठाइएको छ । उक्त लोगोको रचयता भने विकास तमखु रहेका छन् ।

यस्तै कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ ।

सरोकारवाला सबैको सुझावमा रेडपाण्डालाई मस्कटको रुपमा राष्ट्रिय खेलकुद परिषद्लाई पठाइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्न तयार रहेको बताए ।

यस्तै कर्णाली प्रदेशले सार्वजनिक सूचनामार्फत कर्णाली खेल गीतको शब्द रचना तयार गरी संगीत गरिएको गीतको समेत शनिबार मन्त्री भण्डारीले सार्वजनिक गरेका थिए ।

उक्त कर्णाली खेल गीतका शब्द रचनाकार जाजरकोटका रामकुमार शाही ‘क्षितिज समर्पण’ रहेका छन् भने उक्त गीतमा संगीत सन्तोष श्रेष्ठले गरेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउनडाउ सुरु गरेसँगै परिषद्ले पाँच मुख्य कामलाई ध्यान दिएर अगाडि बढेको परिषद्का सदस्य-सचिव विश्वामित्र संज्यालले बताए ।

सदस्य सचिव संज्यालका अनुसार परिषद्ले पहिलो प्रथामिकतामा राखेका पाँच काममध्ये पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षा रहेका छन् ।

सदस्य-सचिव संज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने कार्य योजना तयार रहेको बताए ।

यस्तै हुम्लामा हक्की खेल मैदान, रारामा कबड्डीको खेल मैदान र जुम्ला, कालीकाट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार भएको संज्यालले जानकारी दिए ।

सदस्य-सचिव संज्यालका अनुसार जाजरकोटमा भने टेवल टेनिसको लागि खेल पूर्वाधार तयार रहे पनि केही मर्मत सुधार गर्नु पर्नेछ ।

दशौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशभित्र २४ खेल मात्र गर्न सम्भव रहेको संज्लयाले बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरु समावेश भएका थिए । तर, १०औंमा आयोजक कर्णाली प्रदेशले २४ वटा खेल खेलाउन सक्ने गरी खेल तालिका बनाएर पठाएको छ ।

सोही अनुसार बसोबासलाई व्यवस्थित गर्न उद्घाटनभन्दा ६ दिन अगाडिदेखि खेलहरू सुरु गर्ने गरी प्रस्तावित तालिका र खेल संख्या राष्ट्रिय खेलकुदलाई पठाइसकेको छ ।

दशौं राष्ट्रिय खेलकुद रेडपाण्डा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय