+
+

इजरायलले गाजाको स्कुलमा आक्रमण गर्दा ९३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते ७:२४

२७ साउन, काठमाडौं । युद्धका कारण विस्थापित भएकाहरुले आश्रय लिइरहेको गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृत्यु भएको छ ।

बीबीसीले आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको गाजाको अल अहली अस्पतालका प्रमुखलाई उद्धृत गर्दै सो आक्रमणमा कम्मिात ७० जनाको मृत्यु भएको उल्लेख गरे पनि संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले महिला र बालबालिकासहित ९३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरहरुमा आक्रमण गर्दै आएको छ, जहाँ लाखौं व्यक्तिहरुले आश्रय लिइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ । कार्यालयका अनुसार शनिबार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको छ ।

यी आक्रमणबाट अधिकांश निर्दोष सर्वसाधारण मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार जारी युद्धमा ३९ हजार ६९९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ९१ हजार ७२२ जना घाइते भएका छन् । गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत विस्थापित भएका छन् ।

गत ७ अक्टुबरमा हमास र केही प्यालेस्टिनी चरमपन्थी समूहले इजरायलको दक्षिणी क्षेत्रमा आतंकवादी आक्रमण गरेका थिए । सो आक्रमणबाट १ हजार २०० जनाको मृत्यु भएको थियो । मारिनेमा १० जना नेपालीहरु पनि थिए । विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर गाजा क्षेत्रमा लगिएको थियो । त्यही बेलादेखि इजरायलले आतंकवादीलाई समाप्त पार्ने भन्दै आक्रमण सुरु गरेको थियो । बन्धक बनाइएकाहरुलाई रिहा र युद्ध अन्त्यको प्रयास भइरहे पनि सफल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?