+

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका

२०८१ साउन  २७ गते ९:०६ २०८१ साउन २७ गते ९:०६
पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका

२७ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ ।

२६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो ।

अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् । आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिला बास्केटबल जस्ता समूह खेलको स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

आज साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३-३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला (८१ केजीमाथि)मा एक-एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

महिला म्याराथनमा नेपालबाट सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ६ खेलाडीको खेल भइसकेको छ ।

पदक तालिकामा चीन र अमेरिकाको शीर्ष स्थानमा रहने भन्ने होडबाजी छ । अन्तिम दिनको प्रतिस्पर्धाअघि चीन ३९ स्वर्ण जितेर शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्ण जितेर पछ्याइरहेको छ ।

चीनले २७ रजत र २४ कांस्यसहित९० पदक जितेको छ । यस्तै अमेरिकाले ४२ रजत र ४२ कांस्य पनि जितेको छ र कुल १२२ पदक जितेको छ ।

अष्ट्रेलिया १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित ५० पदक जितेर तेस्रो स्थानमा छ । जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेर चौथो स्थानमा छ ।

आयोजक फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्लसे १६ स्वर्ण, २४ रजत र २२ कांस्यसहित ६२ पदक जितेको छ ।

बेलायत १४ स्वर्ण, २२ रजत र २७ कांस्य गरी ६३ पदक जितेर छैटौं स्थानमा छ ।

दक्षिण कोरिया र नेदरल्याण्ड्स समान १३ स्वर्ण जितेर क्रमश: सातौं र आठौं स्थानमा छन् भने १२ स्वर्ण जितेको जर्मनी नवौं र इटली ११ स्वर्णसहित दशौं स्थानमा छ ।

शीर्ष दशमा एसियाबाट ३, युरोपबाट ५ तथा अमेरिका र अष्ट्रिया छन् ।

दक्षिण एसियाली राष्ट्रमध्ये स्वर्ण जित्ने एक्लो राष्ट्र पाकिस्तान ६३औं स्थानमा छ । पाकिस्तानले पुरुष ज्याभलिन थ्रोमा स्वर्ण जितेको थियो । भारत १ रजत र ५ कांस्यसहित ६ पदक जितेर ७१औं स्थानमा छ । अहिलेसम्म पेरिस ओलम्पिकमा सहभागी २०६ मध्ये कुल ९१ राष्ट्रले पदक जितेका छन् ।

पेरिस ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा राति ९ बजे सुरु हुनेछ । समापन समारोहमा चार वर्षपछिको ओलम्पिक आयोजक लस एन्जल २०२८ लाई ओलम्पिक झण्डा हस्तानतरण गरिनेछ ।

पेरिस ओलम्पिक सकिएपछि सबैको नजर २८ अगष्टदेखि सुरु हुने पेरिस पारालिम्पिकमा हुनेछ ।

अमेरिका चीन पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय