+
+

प्रचण्ड देखाउँदैछन् हसिना र आफूलाई हटाउने ‘समुद्रपारिको शक्ति’

प्रचण्डले पार्टी बैठकमा अनौठो दाबी गरे– बंगलादेशमा हसिना हटाउने र नेपालमा आफूलाई हटाउने शक्ति एउटै हो ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ साउन २७ गते १९:४९

नेपालका कतिपय नेताहरु आफ्नो उत्थान र अधोगतिमा बाह्य चलखेल कारक हो भन्ने कुरा जुन हदसम्म विश्वास गर्छन्, त्यति विश्वास त स्वयं आफ्नै क्षमता/अक्षमतामाथि पनि गर्दैनन् । अघिल्लो महिना प्रधानमन्त्री गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार यस्तै दाबी गरे ।

पार्टीका पदाधिकारीले सुनाए अनुसार प्रचण्डले बैठकमा भने :

‘तपाईंहरुले भर्खरै बंगलादेशमा शेख हसिना वाजेदलाई भाग्न विवश बनाइएको घटना देख्नुभयो होला । झट्ट हेर्दा त्यहाँ आन्दोलन भएपछि उनी भागेकोजस्तो देखिन्छ, त्यो सत्य होइन । यसमा समुद्रपारिको शक्ति लागेको छ । र, तपाईंहरु यो पनि बुझ्नुहोला, समुद्रपारिकै शक्तिले मलाई पनि अस्ति प्रधानमन्त्रीबाट हटाउन भूमिका खेल्यो । त्यसैले लडाईं सामान्य छैन । हामीले त्यसको तयार गर्नुपर्छ । त्यो भनेको चुनावसम्म पुग्दा बलियो शक्ति बन्ने र यी सबलाई जवाफ दिने हो ।’

प्रचण्डले तीनपल्ट समुद्रपारिको शक्ति भनेर नाम लिए पनि ‘संयुक्त राज्य अमेरिका’ भनेर किटेनन्, जबकि अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आफूले हस्ताक्षर गर्न नमानेकाले प्रतिकुलता सिर्जना भएको प्रष्ट भनिदिए ।

नेपालका तीन छिमेकीमध्ये संकेतमा भारतलाई ‘दक्षिण’, चीनलाई ‘उत्तर’ अनि अमेरिकालाई ‘समुद्रपारि’ भनेर बुझ्ने गरिन्छ ।

संसदीय शक्तिमा रुपमा निरन्तर खुम्चिरहेका प्रचण्ड यति बेला पार्टीभित्र आफ्नो नेतृत्वको औचित्यबारे प्रश्न र चुनौती झेल्दैछन् । कुनै बेला प्रचण्डप्रति विना प्रश्न आदेश तामेल गर्ने पंक्तिसमेत उनको ‘म्याजिक नम्बर’ को उथलपुथलसँग क्षुब्ध छ । कांग्रेस र एमाले अर्थात् दुई ठूला शक्ति नै आपसमा मिलेपछि म्याजिक नम्बर हाललाई खोटो सावित भएको छ ।

यी तिनै प्रचण्ड हुन्, जो युद्धकालमा आफ्नो कार्यशैलीमाथि पार्टीभित्र चुनौती खडा भयो भने कुनै वास्तविक वा निर्मित संकटलाई केन्द्रमा फालिदिएर आफूतर्फको संकटमोचन गर्ने गर्थे ।

यसपल्ट प्रचण्डले किन एसपीपी देखाए त, जबकि उनी आफैं सडकमा एमसीसीको विरोध गर्न कार्यकर्ता पठाएर आफू तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग एउटै कागजमा दुईतर्फ हस्ताक्षर गरी अमेरिकालाई चिठी लेख्दै थिए । अनि त्यसमा एमसीसी फेल होइन, पास नै गर्ने प्रतिबद्धता उल्लेख थियो । र यसमा प्रचण्डले आफ्नै पार्टीका कार्यकर्ता र समर्थकसँग झुटो बोलेका थिए ।

खासमा प्रचण्डले आफ्नो सत्ता–बहिर्गमनबारे स्वयं अमेरिकी राजदूत डीन आर. थम्पसनलाई पनि सोधेका रहेछन् । यो पंक्तिकारसँग ३ साउनको बिहान खुमलटार निवासमा गफ गर्नुभन्दा ठिक अघि प्रचण्डले राजदूत थम्पसनलाई घरैमा भेटेका थिए । राजदूत हिँडेपछि प्रचण्डलाई मैले सत्ता परिवर्तनसँग अमेरिकी चासो के रहेछ भनेर जिज्ञासा राखेँ ।

प्रचण्डले भने, ‘मैले पनि राजदूतलाई सोधें– मलाई त विश्वास छैन, तर मान्छेहरु म सत्ताबाट हट्नुमा अमेरिकालाई देखाउँछन् नि ?’

राजदूतको हाउभाउ सुनाउँदै प्रचण्डले भनेका थिए, ‘राजदूत केहीबेर हाँस्दै बसे । अनि भने, त्यस्तो होइन । बरु हामीलाई त तपाईं प्रधानमन्त्री हुँदाखेरि नै सहज लागिरहेको थियो ।’

कूटनीतिमा कति कुरा भनिन्छन्, कति भनिन्नन् । अमेरिका र प्रचण्डको बीचमा अहिले मिल्नु वा नमिल्नुपर्ने कुराहरु नै उनलाई हटाउने फ्याक्टर थिए भनी पत्याउने आधार भेट्न भने कठिन छ । गत फागुन २१ मा कांग्रेसको पोल्टाबाट प्रचण्डलाई एमालेको पोल्टामा ल्याउँदा कतिपयले चीनतिर देखाएको प्रसंगमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमै बोलेका थिए, ‘कतिपय कुरामा त हामीलाई पनि जस दिने गर्नुस् न । हामी आफैं गर्न सक्षम छौं नि ।’

ओली र प्रचण्डको सहकार्य भने सुरु गर्दा बेलाजस्तो जम्न सकेन । प्रचण्डले अघि सारेको नीति कार्यक्रम र बजेटमा संगति नरहेकोबारे ओलीले पटक–पटक प्रश्न उठाउन थालेका थिए । आफूसँग सल्लाह गरेर अघि बढ्नुको साटो प्रचण्ड एक्सक्लुसिभ्ली जान थालेकोमा उनको आपत्ति थियो । त्यसपछिका कतिपय असामान्जस्यहरुबारे दुई नेताबीच समझदारी निर्माण हुन नसकिरहेका बेला ओलीले कांग्रेसको प्रस्ताव स्वीकार्दै गठबन्धन छोड्ने नीति लिए ।

त्यसपछि ओली प्रधानमन्त्री बने । केही दिनअघिसम्म ‘म्याजिक नम्बर’ भएकाले आफूहरु जता पनि जान सक्ने बताइरहेका प्रचण्ड अब कतै जान नमिल्ने गरी थन्किए । यो नै पछिल्लो आन्तरिक राजनीतिक यथार्थ थियो, जसलाई प्रचण्ड समुद्रपारको चलखेल बताउन खोजिरहेका छन् ।

के उसोभए नेपालमा दक्षिण, उत्तर वा आकाशले जोडेका छिमेकीले चलखेल नै गर्दैनन् त ?

दुई दिनअघि नेपालस्थित चिनियाँ राजदूत छन् सोङसँग हामी केही सम्पादकहरु गफगाफमा थियौं । एक सम्पादकले उनलाई सोधे, ‘बंगलादेशमा भर्खरै हसिना राज अन्त्य हुनुमा तपाईंहरुको हात छ भनिन्छ नि ? अनि नेपालमा पनि केही समयअघि सत्ता गठबन्धन बदलियो । यसमा तपाईंको के चासो वा भनाइ छ ?’

ती सम्पादक मित्रले सोध्ने क्रममा केही समयअघि हसिनाले बेइजिङमा गरेको भ्रमणको पृष्ठभूमि दिएका थिए, जसलाई राजदूतले उपेक्षा गर्न सम्भव थिएन ।

ठट्यौली रुचाउने राजदूत छनले गम्भीर हुँदै भने, ‘जहाँसुकैको परिवर्तनमा पनि आन्तरिक पक्ष नै प्रधान हो । बाह्य पक्षले केही भूमिका गर्न खोज्लान्, तर आन्तरिक पक्ष तयार नहुन्जेल केही पनि सम्भव छैन । मलाई पनि एकजनाले सुनायो, ‘अहिले ढाकामा जहाँतहीँ ‘रअ’ का मान्छे तैनाथ छन् अरे ।’ मैले सोधें, ‘तैनाथ होलान् पनि । तर किन ? त्यो गरेर के हुन्छ ?’

राजदूत छनको आशय अनुसार, बाहिरका मान्छेहरु त्यसरी भेला हुनुले खासै अर्थ राख्दैन, जबसम्म त्यहीँका जनताले कुनै निर्णय गर्दैनन् ।

नेपालका प्रत्येक परिवर्तनमा बाह्य तत्व देखाउने गरिन्छ । २००७ सालको परिवर्तनका बेला यहाँका राजा नै भागेर दिल्ली जानु परेको थियो । राणा, राजा, कांग्रेसका बीच दिल्ली सम्झौता भएको थियो । त्यसयताका थुप्रै निर्णायक क्षण, अनि नियमित दिनहरुमा समेत सिमानाबाहिर भेटघाट, छलफल हुने गरेका छन् । कहिलेकाहिँ मध्यस्थता पनि भएका छन् ।

प्रश्न फेरि पनि उही रहन्छ– ती आधारभूत रुपमा कसले गरेका थिए ? ती केका लागि, कसका लागि थिए ? यदि नेपाली पक्ष नै अग्रसर हुन्थेनन् भने ती भेट, वा यतिउति बुँदे समझदारी हुन्थे कि हुन्थेनन् होला ?

अब रह्यो बंगलादेशको कुरा । प्रचण्डलाई बंगलादेशको संकटबारे राम्रोसँग थाहा नभएको भए उनले झन्डै एक दशकयता त्यहाँ बढ्दो उकुसमुकुसको पृष्ठभूमि नियाल्न सक्थे । शेख हसिना भाग्नुको मूल कारण बंगलादेशभित्र उनले रचेको विकृतिको शृंखला हो, चीन, भारत वा अमेरिका पक्कै होइन । हो भन्ने आधार छैन । षड्यन्त्र सिद्धान्तलाई केही समय बेच्न सकिन्छ, तर हरेक देशका जनता यस्ता कुराबाट अघि बढिसके ।

शेख हसिनालाई बंगलादेशको स्वाधीनता र विकासकी नायिका मान्न प्रचण्ड तयार भएका हुन् भने त्यो अर्धसत्य मात्रै हो । सत्ता उन्मादले हसिना जुन हदसम्म उन्मत्त बनेकी थिइन्, त्यसको आधा अनुपातमात्रै उन्मत्तता देखाउने कोसिस नेपालमा भयो भने जुनसुकै शासकले भाग्न तयारी गर्नुपर्ने हुन्छ । अमेरिका, चीन, भारतलाई देखाउनै पर्दैन ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?