+
+

कमला पुल निर्माण थाल्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १५:२१

२७ साउन, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माण प्रक्रिया सात दिन भित्र थाल्न माग गर्दै संघर्ष समितिले मधेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सिरहा सदरमुकामबाट मोटरसाइकल र्‍यालीसहित दर्जनौंको संख्यामा आएका प्रदर्शनकारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले ज्ञापनपत्र बुझाउँदै सात दिन भित्र पुल निर्माण प्रक्रिया नथालिए मुख्यमन्त्री कार्यालय अगाडि सामूहिक आमरण अनशन बस्ने चेतावनी दिए ।

समितिले कमला नदीमा यथाशीघ्र पुल निर्माण गर्नुपर्ने एक सूत्रीय माग राखेको छ । पहिलाको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले, त्यसलाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग रोखेको छ । प्रदेश सरकारले आफ्नै लगानीमा पुल बनाउनु पर्ने संघर्ष समितिको माग छ ।

१३ वर्षदेखि निर्माणाधीन कमला नदीको पुल सन्चालनको तयारीमा हुँदा अत्यधिक बाढीले १७ असार २०७८ मा भासिएको थियो । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको थियो । तर पटक पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन ।

२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । २०७८ असार १३ भित्र सक्ने गरी काम भइरहेको बेला पुल नै भासिएको थियो ।

पुल नबन्दा दक्षिणी क्षेत्रका लाखौं नागरिकले सास्ती खेप्नु परेको छ । सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत भइरहेको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले आफू सप्तरीकै बासिन्दा भएकाले जनकपुर आउ–जाउ गर्दा कठिनाइको सामना गरिरहेको बताए । पुलको निर्माण संघीय सरकार मातहत रहेकाले यस विषयमा पटक–पटक ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

पुनः संघीय सरकारको नेतृत्वलाई भेटेर निर्माणको जिम्मा मधेश सरकारले लिने गरी छलफल गर्ने मुख्यमन्त्री सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?