+
+

लुम्बिनीले माग्यो पूर्वाधार विकासमा बजेट, प्रधानमन्त्रीले भने– अहिले भवनमा खर्च नगरौं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १५:५२

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश मन्त्रीहरूले प्रदेशको राजधानीमा पूर्वाधार विकास गर्न संघ सरकारसँग बजेटको माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलमा उनीहरूले प्रदेशको समग्र पूर्वाधार विकासमा संघ सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले अहिले भवन, कार्यालय लगायतका संरचनामा खर्च नगर्न आग्रह गरे । उनले मुख्यमन्त्री र मन्त्रीलाई पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ केन्द्रित हुन भनेका छन् ।

उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न प्रधानमन्त्रीको सुुझाव थियो ।

‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । हामीसँग उर्वर भूमि र हावापानी छ । मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधार छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन ।’

उत्पादनमा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्ने भन्दै उनले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्ने पनि बताए । ‘हामीहरु नियुक्तिमा को जाने/नजाने खालको साना विषयमा अल्झनु हुँदैन । मुुख्य कुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ,’ ओलीले भने ।

अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ/तरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ्य खाना खुवाउने प्रबन्ध गर्न सम्झाउनुुपर्ने बताए ।

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उनले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ भन्ने प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरु सञ्चालन भएकाले आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गरे ।

छलफलमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?