+
+

कोशीमा मन्त्रालय संख्या बढ्दैन : मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १८:४४

२७ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले कार्यबोझ नबढेको अवस्थासम्म मन्त्रालय थप नगर्ने बताएका हुन् ।

कोशीमा कांग्रेस एमालेको सरकार छ । मन्त्रालय भागबन्डा गर्दा कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाएको छ ।

सरकारमा सहभागी हुने सहमति भए पनि कांग्रेसमा आकांक्षी धेरै भएका कारण कांग्रेसले मन्त्री पठाउन सकेको छैन । कांग्रेसमा डा. शेखर कोइराला पक्षले दुई वटा मन्त्रालय माग गरेको छ, तर सभापति शेरबहादुर देउवा तयार छैनन् ।

शेखर पक्षले मन्त्रालय थप गरेर भए पनि २ वटा मन्त्रालय माग गरेको थियो । सोही कारण कांग्रेस सरकारमा सहभागी भएको छैन ।

मुख्यमन्त्री कार्कीले अहिलको अवस्थामा कार्यबोझ नबढेका कारण मन्त्रालय थप नगर्ने बताए । उनले कांग्रेस सभापतिसहित अन्य नेतासँग मन्त्रालय नबढाउने सहमति भएको बताए ।

उनले प्रदेशको बजेट संशोधनको सम्भावना नरहेको बताए । कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट संशोधन गर्न माग गरेको थियो । तर बजेट संशोधन नहुने उनले बताए ।

लगानी र चिया सम्मेलन गर्दै

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले चिया सम्मेलन र लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए । प्रदेशमा उत्पादन हुने चियाको बजारीकरण र विकासका लागि चिया सम्मेलन गर्ने उनले बताए । लगानी आकर्षित गर्नका लागि प्रदेशमा लगानी सम्मेलनको तयारी पनि भइरहेको उनले बताए ।

पर्यटकलाई आकर्षित गर्नका लागि प्रदेश सरकारले काम गरिएको उनले बताए । भारतबाट आउने पर्यटकलाई ठाउँठाउँमा चेकजाँचको नाममा दुःख दिइने गरेको गुनासो आएको बताउँदै उनले प्रवेश नाकामा कडाइ गरेर अन्यत्र खुकुलो बनाइने बताए ।

कार्कीले आउने पर्यटकको सहजीकरणका लागि प्रदेशमा पर्यटक प्रहरी राख्ने तयारी सुरु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?