+
+

बाढीपीडित कन्चनपुर पटराखल्ला बासी भन्छन् : दिनभरी बस्तीको बास, रातभर विद्यालयको आस

रासस रासस
२०८१ साउन २७ गते २०:०२

२७ साउन, वेदकोट । नजिकै जोगबुढा नदी बगिरहेको छ । खेती गरेको जमिन पूरै जलमग्न छ, कतै नदीको बाढी पसेर जमिन कटान गरेको छ । दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका स्थानीय कतिबेला विपद् आइपर्ने हो भनेर अझै त्रासमै छन् ।

थोरै पानी पर्दा पनि घर छोडेर विद्यालयमा आश्रय लिन जानुपर्ने बाध्यता कायमै छ । ‘मौसम राम्रो भएको बेला बस्तीमै बस्छौँ तर आकाशमा बादल लाग्ने बित्तिकै डरले घरमा बस्न सकिँदैन”, पटराखल्लाकी मिना सुनारले भनिन्, ‘बस्तीमा कतिबेला बाढी पसेर के हुन्छ ? भन्ने डर लाग्छ । त्यसैले लालाबाला बोकेर विद्यालयमा रात कटाउँछौँ।’

असार तेस्रो साता गएको बाढीले त्रसित यहाँका स्थानीय अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन् । दिनभर बस्तीमा काम गर्ने गरे पनि रात बिताउन विद्यालयमा जाने गरेको स्थानीय सपना सुनार बताउँछिन् । ‘दिनभरी बस्तीमै काम गरे पनि बेलुका रात कटाउन विद्यालयमा जान्छौँ । फेरि बिहान घर फर्किन्छौँ । असार तेस्रो साता आएको बाढीपछि हाम्रो दिनचर्या यसरी नै चलिरहेको छ।’

बस्ती नजिकै जमुना आधारभूत विद्यालय छ । यहाँ वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती महिला राती बास बस्ने गरेका छन् । ‘जोगबुढा नदी बस्ती पस्दा बास उठ्यो । घर भताभुङ्ग हुनुका साथै भित्रका अन्नपात, लत्ताकपडा सबै बगायो’, स्थानीय रामु मगरले भने, ‘होचो भूभाग हुँदा अझै पानी जमेकै छ । खै! कहिलेसम्म यस्तो हुने हो ?’

उनकाअनुसार थोरै वर्षा हुँदा पनि बस्ती डुबानमा पर्ने गरेको छ । यहाँका स्थानीयले विगतदेखि नै सुरक्षित आवासको व्यवस्थापन गरिनुपर्ने माग गर्दै आएका छन् । जोगबुढा नदीमा पक्की तटबन्ध निर्माणका लागि बारम्बार माग गरे पनि सुनुवाइ नभएको स्थानीय मंगल सुनारले गुनासो गरे ।

‘पक्की तटबन्ध निर्माण भए जोगबुढाको कटान र बाढी रोकिन्थ्यो । पक्की तटबन्ध निर्माण नहुँदा थोरै पानी पर्दा पनि डराइडराइ बस्नुपरेको छ’, उनले भने, ‘कि तटबन्ध गर्नुपर्‍यो कि त सुरक्षित आवासको व्यवस्था गरिदिए हुन्थ्यो तर कसले सुन्ने हाम्रा कुरा !’

विसं २०२१ देखि बसोबास सुरू भएको यस बस्तीमा हाल ३६ परिवार छन् । हरेक वर्षायाममा यी परिवारले त्रास मै बस्नु परिरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?