+
+

निर्देशक हटाउन प्रयोगशालामै पुगे मन्त्री र सचिव

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ साउन २७ गते २१:३२

२७ साउन, जनकपुरधाम । निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार धक्कामुक्की भएको छ । यो विवाद सुल्झाउन मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह र सचिव डा. प्रमोद यादव नै प्रयोगशाला पुगे ।

संघका एघारौं तहका कर्मचारी डा. श्रवण मिश्र १८ साउन २०७७ मा प्रयोगशालामा निर्देशक थिए । केन्द्रको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० असारमै उनलाई दरबन्दी रहेको कोशी अस्पताल, बिराटनगरमा काज फिर्ता जान भनेको थियो । तर दुईपटक सरुवाको प्रयास टार्दै उनले जनकपुर छाडेनन् ।

पछिल्लो पटक मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयले २० साउनमा निर्देशक मिश्रलाई २४ घण्टाभित्र बरबुझारथ गरेर सरुवा भएको ठाउँमा जान निर्देशन दियो । अनि, नवौं तहका मृत्युञ्जयप्रसाद यादवलाई निमित निर्देशकको जिम्मेवारी तोक्यो । उनी ११ फागुन २०८० मा यहाँ कार्यरत थिए ।

मिश्रले प्रयोगशाला छाडेनन् । ‘२४ घण्टाभित्रै बरबुझारथ गरी जानुपर्ने कानुनमा कतै उल्लेख छैन । त्यसको २० दिन भित्र जान सकिन्छ’ उनले तर्क गरे ।

शुक्रबार उनी कार्यालयमा थिएनन्, निमित निर्देशकको जिम्मेवारी पाएका मृत्युञ्जयप्रसाद यादव उपस्थित भएर हाजिर गरे । तर आइतबार मिश्रले विवाद निकाले ।

निमित्त निर्देशक यादव आइतबार कार्यालयमा पुग्नु अगावै डा. मिश्र पुगिसकेका थिए । मूलगेटमा ताल्चा लगाउन लगाए, उनी पक्षका कर्मचारीले यादवलाई निर्देशकको कार्यकक्षमा प्रवेश गर्न दिएनन् । त्यसक्रममा धकेलाधकेल भयो । मिश्र पक्षका कर्मचारीहरुले धक्काधक्कीसँगै आफूलाई दुर्व्यवहार गरेको यादवको आरोप छ ।

विवादले उग्ररुप लिएपछि मुख्यमन्त्री शतिकुमार सिंहले स्वास्थ्यमन्त्री र सचिवलाई जान निर्देशन दिए । किनकी मिश्र तत्कालीन सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको जोडबलमा आएका थिए ।

जनमतका मुख्यमन्त्री सिंह उनलाई यहाँबाट हटाएर आफ्नो शक्ति देखाउन चाहन्थे ।

मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री र सचिव पुगे । झन्डै तीन घण्टा बसेर निमित्त निर्देशक यादवलाई प्रयोगशालाको नेतृत्व बुझाए । ‘मुख्यमन्त्रीजीले निमित्त निर्देशक हाजिर हुन आउँदा अवरोध भयो । तपाईंहरु पुगे विधिसम्मत गर्न निर्देशन भएपछि मन्त्रीजिसँगै म पनि आएको हुँ’, सचिव यादवले भने ।

मिश्रले भने दिनरात काम गरेर उदाहरणीय प्रयोगशाला बनाएको पुरस्कार पाएको प्रतिक्रिया दिएका छन् ।

प्रयोगशालामा दिनहुँ ३ ०० देखि ४०० बिरामीको स्वास्थ्य परीक्षण हुन्छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?