+
+

कर बढाएको विरोधमा मकवानपुरका व्यवसायी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते ७:०३

२८ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ ।

संघको आइतबार साँझ बसेको कार्यसमिति बैठकले पहिलो चरणमा पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको संघका अध्यक्ष कृष्ण गुप्ताले जानकारी दिएका छन् ।

७ असारमा भएको उपमहानगरको १५ औं नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो । उक्त निर्णय गुपचुपमै भएको भन्दै व्यवसायीहरुले यसअघि नै उपमहानगरको ध्यानाकर्षण गराएका थिए ।

एक साताअघि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघलगायतले कर वृद्धिको निर्णय फिर्ता लिन माग गरेका थिए । उपमहानगरलाई ध्यानाकर्षण गराउँदा समेत २५ गतेको कार्यपालिका बैठकले मागको सम्बन्धमा चासो नदेखाएकाले आन्दोलनको घोषणा गर्न बाध्य भएको संघले जनाएको छ ।

उपमहानगरले नगर सभाबाट ६ वटा समूहमा विभाजन गरिएको वहालकर ५० प्रतिशतसम्म वृद्धि गरेको थियो । ‘ए’ देखि ‘एफ’ समूहसम्मका करदातालाई क्रमशः ७ हजारबाट १० हजार, ६ हजारबाट ८ हजार ५ सय, ५ हजारबाट ६ हजार ५ सय तथा ४, ३ र २ हजार कर रहेकालाई थप एक हजारका दरले करमा वृद्धि गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी, उपमहानगरपालिकाले थोक बिक्रेतातर्फ ५० प्रतिशत, ‘क’ वर्गको थोक तथा खुद्य्रा बिक्रेता र कोल्ड ड्रिंग्स तथा बेकरीमा १ सय प्रतिशतले राजश्व वृद्धि गरेको छ ।

सुनचाँदी गरगहनातर्फ ठुला बिक्रेताको हकमा ६६ प्रतिशत र ज्याला लिई सुनचाँदीको काम गर्नेको हकमा ५० प्रतिशतले कर बढाएको हो ।

श्रृंगार, खेलौना र उपहार बिक्रेतालाई १ सय प्रतिशत, मोटरसाइकल ममर्तमा १ सय, हेभी सवारीसाधन बिक्रेतालाई ५० प्रतिशत, स्टेशनरीमा २० प्रतिशत, कृषि तथा भेटेरीनरीमा ६०, कम्प्युटर, मोबाइल तथा फोटोकपी मर्मतमा १ सय प्रतिशतसम्म कर वृद्धि गरिएको हो । ड्राइक्लिनर्सलाई १ सय ३३ प्रतिशत र सुपरमार्केटलाई १ सय ५० र मार्टलाई ८७ प्रतिशतसम्म कर वृद्धि गरिएको जनाइएको छ ।

संघको नेतृत्वमा सोमबारबाट आन्दोलन सुरु गर्दै राजनीतिक दलका भातृ संगठन र सहकारी संस्थाका प्रतिनिधिहरुसँग कर वृद्धिको विषयमा छलफल गर्ने र व्यवसायी तथा व्यापारीको भेला आयोजना गर्ने उपाध्यक्ष उज्वल चौलागाईले जानकारी दिए ।

मंगलबार कर अवज्ञा गर्न व्यवसायी र नगरवासीलाई आह्वान गर्न सुरु गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने उनले बताए ।

बुधबार हेटौंडा बजारको बुद्धचोकसँगै विभिन्न स्थानमा राजश्व वृद्धिको निर्णयविरुद्ध हस्ताक्षर संकलन गर्ने, हेटौंडा उपमहानगरपालिकामा १ घण्टा धर्ना दिने, राजश्व वृद्धिको विरोधमा विभिन्न स्थानमा कालो व्यानर राख्ने निर्णय भएको जनाइएको छ ।

बिहीबार हेटौंडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने उपाध्यक्ष चौलागाईले बताए ।

संघर्षको कार्यक्रमअन्तर्गत शुक्रबार -यालीसहित व्यवसाय बन्द गरी हेटौंडा उपमहानगरपालिकामा चावी बुझाएर पहिलो चरणको आन्दोलनको कार्यक्रम समापन गर्ने बताइएको छ ।

बैठकले निर्माण व्यवसायी संघसहित सबै सरोकारवालासँग एकतावद्ध भएर आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको उनले बताए ।

यसैगरी, कर वृद्धि गरेको विरोधमा आइतबार हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि गेटमा व्यवसायीहरुले चुप आन्दोलन गरेका छन् ।

आर्थिक मन्दीले निम्त्याएको असरमा सुधार नआएको अवस्थामा राजस्वको दरमा वृद्धि गरी व्यवसायीलाई मारमा पार्ने काम भएको भन्दै सोही विरोधमा युवा व्यवसायीले उपमहानगरको ढोकामा चुप आन्दोलन सुरु गरेको आन्दोलनमा सहभागी किशोर अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?