+
+

अनलाइनखबरले छान्यो ४० वर्ष मुनिका ४० युवा

हामी यी र यस्ता अनेकौं ‘चेन्जमेकर’ युवाहरूलाई स्याबासी दिऔं, उनीहरूबाट ऊर्जा र प्रेरणा लिऔं । ४० भित्र नपरे पनि समाजलाई निरन्तर मार्गदर्शन गरिरहने युवाहरूलाई निरन्तर हौसला प्रदान गरौं ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते २०:३१

२८ साउन, काठमाडौं । १२ अगष्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा अनलाइनखबरडटकमले नेपालका४० वर्ष मुनिका ४० प्रभावशाली युवाको सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ४० युवाहरु छन् ।

अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका  ब्युरोहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको प्रारम्भिक सूची तयार गरेको थियो । यसमा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो ।

यसरी तयार भएको १५० माथिको सूचीलाई विभिन्न विधा (राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा) र स्पष्ट मापदण्ड तय गरी ८० मा झारिएको थियो ।

अनि तयार भएको ८० जनाको सूचीलाई स्वतन्त्र जुरीसमक्ष प्रस्तुत गरेको थियो । १७ र २१ असार २०८१ मा बसेको जुरीको बैठकको निर्णय बमोजिम ४० वर्ष मुनिका ४० युवाको अन्तिम सूची तयार गरिएको हो ।

अन्तिम नाम छनोट गर्ने जुरीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हा, संयोजक, पूर्व बैंकर तथा नेपाल प्राइभेट इक्विटी एशोसिएसनका अध्यक्ष सिद्धान्तराज पाण्डे, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र संकायकी उप–प्राध्यापक नीति अर्याल खनाल र अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । र, ‘४० मुनिका ४०’ को संयोजन गरेका थिए अनलाइनखबरका विचार सम्पादक सुदर्शन खतिवडाले ।

जुरीले ४० जनाको नाम छनोट गर्दा पहुँच बाहिरको परिस्थितिका कारण कोही उपलब्ध हुन नसकेमा वा कसैले अनिच्छा देखाएमा वैकल्पिक सूचीका नाम मध्येबाट छनोट गर्न पाउने गरी ४ जनाको वैकल्पिक सूची पनि छनोट गरेको थियो ।

समाजका विभिन्न क्षेत्रमा प्रभावकारी नतिजा दिएर क्रियाशील भइरहेका युवाको पहिचान तथा उनीहरुको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘४० प्रभावशाली युवा’ छनोटको उद्देश्य रहेको अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँलेले जानकारी दिए ।

‘हिजोआज मुलुकमा केही गर्न सकिन्न र यहाँ केही गर्ने वातावरण नै छैन भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो सही होइन भन्ने यो सूचीले पुष्टि गर्छ’ प्रधानसम्पादक गाउँलेले भने, ‘हो, हाम्रा थुप्रै नीतिगत र व्यावहारिक समस्या छन्, तर पनि राजधानीदेखि कुनाकन्दरासम्म थुप्रै युवाहरु आफ्नो पौरखमा रमाइरहेका छन्, यो सूची त्यसको प्रमाण हो ।’

४० प्रभावशाली युवा छनोटका लागि विभिन्न मापदण्ड बनाइएको थियो । ती मापदण्ड यस्ता थिए–

१. पछिल्ला एक वर्षमा समाज रूपान्तरणका लागि विशिष्ट काम गरेका ४० वर्षभन्दा तलका युवा पहिचान गरिएको ।

२. समाजलाई प्रोत्साहन गरिरहेका, आफ्नो कर्म/सोचद्वारा प्रेरित र तरङ्गित गरिरहेका, जसको कथाले समाजको उल्लेख्य हिस्सालाई ठूलो मात्रामा सकारात्मक प्रभाव पार्न सक्छ, त्यस्ता युवा ।

३. कुनै खास क्षेत्रमा उल्लेखनीय काम र निरन्तर संघर्षद्वारा समाज र समुदायमा अद्वितीय/विशिष्ट योगदानकर्ता युवा ।

४. प्रचलित कुरीति र हानिकारक तथा गलत परम्परागत मान्यतालाई चुनौती दिएर समाजलाई लाभ पुर्‍याएका युवा ।

५. समाजमा इन्नोभेटिभ आइडिया दिएका, असल अभ्यासकर्ता जसको योग्य कामले पनि मूलप्रवाहको ध्यानाकर्षण गर्न सकेको छैन, त्यस्ता युवा ।

६. नेपाली समाजको विविधता झल्किने, उमेर र भूगोल समेतलाई ख्याल गरेर छनोटमा परेका युवा ।

हामीले जुन अभ्यास गर्‍यौं, यस्तो अभ्यास अन्यत्र पनि छ । व्यवसाय क्षेत्रका परिवर्तनकर्ताहरू, सफल अभ्यासको नेतृत्वकर्ता, कुनै पनि क्षेत्रको दूरदर्शी नेतृत्व, चुपचाप प्रगति गरिरहेकाहरू, रूपान्तरणकारी योजनामा कार्यरत, हाम्रो देशको भविष्यलाई आकार दिन मद्दत गरिरहेका प्रेरणादायी युवाहरू यो छनोटमा परेका छन् ।

हाम्रो यो प्रयासले व्यक्तिगत प्रतिबद्धता र व्यावसायिक सफलतालाई मात्रै उजागर गर्ने होइन, उनीहरूका परोपकारी काम र त्यसले समाजलाई दिइरहेको सन्देश समेत बाहिर आउन पाओस् भन्ने चाहना राखेका छौं ।

हामी आगामी वर्षहरूमा पनि यस्ता युवाहरूको खोजी गर्दै रहनेछौं । तपाईंको सुझाव यसमा अपेक्षित छ ।

१२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ! हामी जुनसुकै उमेर समूहका हौं, यी र यस्ता अनेकौं ‘चेन्जमेकर’ युवाहरूलाई स्याबासी दिऔं, उनीहरूबाट ऊर्जा र प्रेरणा लिऔं । ४० भित्र नपरे पनि समाजलाई निरन्तर मार्गदर्शन गरिरहने युवाहरूलाई निरन्तर हौसला प्रदान गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?