+
+

भारतीय विदेश सचिव मिश्री र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १२:१३

२८ साउन, काठमाडौं । नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता भएको छ ।

सोमबार बिहान शहरी विकास मन्त्रालयमा भएको भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई बधाइ र कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री सिंहले स्वच्छ भारत अभियान र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरे ।

त्यस्तै, मन्त्री सिंहले नेपाली नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण आवश्यक रहेको बताए ।

‘शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियान नै चलाएका छौं । सिमा नदीमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्योे सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरु राख्यौं । उहाँहरु त्यसमा सकारात्मक हुनुभयो ।’

विदेश सचिव मिश्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधैँ साथ सहयोग रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?