+

एएफसी च्यालेन्ज लिग : प्लेअफका लागि चर्च ब्वाइज र पारो तयार

२०८१ साउन  २८ गते १५:१७ २०८१ साउन २८ गते १५:१७
एएफसी च्यालेन्ज लिग : प्लेअफका लागि चर्च ब्वाइज र पारो तयार

२८ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिग प्लेअफमा मंगलबार भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि चर्च ब्वाइजले पहिलो पटक महादेशीय क्लब प्रतियोगिता खेल्दैछ भने भुटानको पारो दोस्रो पटक नेपाल आएर खेल्न लागेको हो ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन् । यस खेलको विजेता च्यलेन्ज लिगको मुख्य चरणमा प्रवेश गर्ने भएकाले दुवै टोली नतिजा आफ्नो पक्षमा ल्याउने योजनामा छन् ।

चर्च ब्वाइजको भर नेपाली खेलाडी

यही खेलका लागि भनेर चर्च ब्वाइजले साउन १ गतेदेखि तयारी गरिरहेको छ । गत वर्षको लिग बिजेता चर्च ब्वाइजले अनन्त तामाङको कप्तानीमा नेपालमा उपलब्ध अन्य क्लबका खेलाडीहरु पनि ल्याएर टिम बनाएको छ ।

चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेन्ज लिग प्लेअफका लागि आफ्नो टोली तयार रहेको बताएका छन् । ‘हाम्रो लगभग तयारी पूरा भएको छ । ३ साता भन्दा बढी प्रशिक्षण गर्‍यौँ । दशरथ रंगशालमा ६-७ महिनापछि खेल हुँदैछ । छोटो समय भएपनि अनन्तको कप्तानीमा टोली सन्तुलित छ ।’

चर्च ब्वाइजले तयारीस्वरुप त्रिभुवन आर्मी एफसी र यू-२० राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । महर्जनले घरेलु मैदानमा राम्रो नतिजा ल्याउने दावी गरे । ‘घरेलु मैदानमा घरेलु दर्शकलाई राम्रै नतिजाको आशा छ’, महर्जनले सोमबार प्रिम्याच कन्फ्रेन्समा भने, ‘योजनाअनुसार शतप्रतिशत दिएमा नतिजा आउन सक्छ ।’

यस्तै कप्तान अनन्त तामाङले पनि टिम तयार रहेको बताए । ‘विगत एक महिनादेखि प्रशिक्षण गरिरहेका छौँ । टिम फिजिकल्ली र मेन्टली रुपमा तयार छ’, तामाङले भने, ‘फरक फरक क्लबबाट आएको खेलाडी भएपनि राष्ट्रिय टिममा सँगै खेलेको अनुभव छ । छोटो समय भएपनि टिममा सुधार आएको छ । भोलि राम्रो प्रदर्शन गर्नेछौँ ।’

दशरथ रंगशालामा खेल्ने भएपनि चर्च ब्वाइजले त्यहाँ प्रशिक्षण गर्न पाएको छैन । एन्फा कम्प्लेक्सको टर्फमा प्रशिक्षण गरेर दशरथ रंगशालामा खेल्दा केही कठिन हुने प्रशिक्षक महर्जन बताउँछन् ।

‘दशरथ रंगशाला प्रशिक्षण गर्न नपाउँदा निराश त छौँ । तर हामीसँग विकल्प छैन । त्यसैमा एडजस्ट गर्नुपर्‍यो । अब आयोजक भएकाले कन्सिडर गर्नुपर्‍यो’, महर्जनले भने ।

चर्च ब्वाइजमा यस पटक ३ जना विदेशी खेलाडी छन् । चर्च ब्वाइजले नेपाली खेलाडीमा विश्वास गरेको छ र राम्रो नतिजा ल्याउने आशा राखेको छ ।

भुटानको पारोमा भने ११ जना विदेशी खेलाडी छन् । जसले गर्दा पारो भुटानी टिम कुनै विदेशी टिम जस्तै देखिन्छ । यस पटक एएफसीले च्यालेन्ज लिगमा विदेशी खेलाडीको कोटा असिमित बनाउँदा पारोले ५ जापानीसहित ११ विदेशी खेलाडी राखेको हो ।

यसले उनीहरुलाई फाइदा पुग्ने महर्जनले बताए । ‘विदेशी खेलाडी असीमित हुँदा जसले लगानी गर्छ उसलाई फाइदा हुने देखिन्छ । विदेशी खेलाडीको कोटा तोकिएको भए राम्रो हुन्थ्यो’, महर्जनले भने, ‘पारोमा जापानको ५ र अरु देशबाट ६ भएपनि डराउनुपर्ने अवस्था छैन । उनीहरु फिजिकल्ली फिट छन् । लिगमा टपमा छन् । हाम्रो विदेशी धेरै छैन । तर आवश्यक पोजिसनमा विदेशी राखेका छौँ ।’

विदेशी खेलाडीले बलियो पारो एफसी

यस पटक पारो एफसी विगतमा भन्दा बलियो बनेर आएको छ । त्यसको केन्द्रमा विश्वकप खेलिसकेका जापानी स्टार फुटबलर केसुके होन्डा छन् । होन्डासहित जापनबाट ५ तथा सर्वियाबाट २ घानाबाट ३ तथा मोन्टेनेग्रोबाट १ खेलाडी विदेशका छन् ।

पारोमा प्रशिक्षक पुष्पलाल शर्माले टिम कम्बिनेसन राम्रो रहेको बताए । शर्माले प्रिम्याच कन्फ्रेन्समा भने, ‘यस पटक हाम्रो तयारी राम्रो छ । टिम बन्डिङ पनि राम्रो छ । केसुके बाहेक सबै खेलाडी एक हप्तादेखि नै सँगै छन् ।’

उनले यस पटक राम्रो नतिजा ल्याउने गरी टोली आएको बताए । ‘चर्च ब्वाइजसँगको खेलका लागि हाम्रो तयारी राम्रो छ । गत वर्ष मछिन्द्रसँग ३-२ ले पराजित भएको थियौँ । यस पटक योजना अनुसार खेलेर राम्रो नतिजा ल्याउने लक्ष्य छ ।’

पारोका कप्तान किनले वाङ्चुकले पनि दोस्रो पटक नेपाल आएर खेल्न लागेको र टिम तयार रहेको बताए । ‘हामी खेलका लागि शतप्रतिशत तयार छौँ । पहिले भन्दा राम्रो नतिजा आउनेछ ।’

आइतबार प्रशिक्षणपछि पारोका जापानी खेलाडी केसुके होन्डाले दशरथ रंगशालाको अवस्था एकदमै खराब रहेको भन्दै टिकटकमा पोस्ट गरेका थिए । यसले ठूलो चर्चा पाएको थियो । प्रशिक्षक शर्माले पनि मैदानको अवस्था राम्रो नभएको गुनसो गरे । ‘टिममा वर्ल्ड क्लास प्लेअर भएपनि पिचको कन्डिसनले नतिजामा धेरै असर गर्न सक्छ’, उनले भने ।

पारो टिममा होन्डासँगै नेपालमा खेलिसकेका घानाका फरवार्ड विलियम ओपोकु पनि अनुभवी खेलाडी हुन् ।

तर प्रशिक्षक शर्माले खेलाडीको क्षमता भन्दा पनि टिम कम्बिनेसन महत्वपूर्ण हुने बताए । ‘टिम कम्बिनेसन महत्वपूर्ण हुन्छ । होन्डा वर्ल्ड क्लास प्लेअर हो । ओपोकुले पनि नेपालमा खेलिसकेको छ । धेरै अनुभव छ उनीहरुसँग । मोटिभेसन महत्वपूर्ण कुरा हो’, उनले भने ।

प्रशिक्षक शर्माले नेपाल र भुटान नजिकको साथी भएकाले नेपाली खेलाडी र प्रशिक्षकबारे पनि जानकार रहेको बताए । ‘चर्च ब्वाइज राष्ट्रिय टिम जस्तै छ । खेलाडीहरुबारे हामीले व्यक्तिगत रुपमा पनि बुझ्ने प्रयास गरिरहेका छौँ’, शर्माले भने, ‘बालगोपाल नेपालको सफल कोच हुन् । उनको हो रणनीति बुझ्ने प्रयासमा छौँ ।’

शर्माले चर्च ब्वाइजमा रहेका राष्ट्रिय टिमका खेलाडीहरु आफ्नो टिमको लागि खतरा बन्न सक्ने बताए ।

एएफसी च्यालेन्ज लिग चर्च ब्वाइज पारो तयार
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय