+
+

‘छोराको रहरमा जन्मिएका छोरीहरुको कथालाई ऐना जस्तै देखाइदिएका छौं’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १७:४८

काठमाडौं । मलिका महत पछिल्लो समय युवापुस्तामा रुचाइएकी फिल्म अभिनेत्री हुन् । उनको चौथो कथानक फिल्म ‘सतीदेवी’ भदौ ७ गते प्रदर्शन तयारीमा छ । म्युजिक भिडियो पृष्ठभूमिबाट फिल्ममा स्थापित महतले यसअघि यात्रा, पानीफोटो र अगस्त्यमा अभिनय गरिन् ।

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ले छोराको चाहनामा छोरी जन्मिने र उनीहरुमाथि अवहेलना गर्ने पितृसमाजको सोचको कथा भन्छ । यो फिल्ममा मलिकाले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।

पछिल्लो साता स्नातकको परीक्षासँगै मलिका फिल्म प्रवर्द्धनको दौडधुपमा छिन् । समकालीन अभिनेत्रीहरु स्टारडमको पछि लागिरहेको बेला मलिका भने महिला र चरित्रप्रधान फिल्ममा आफूलाई अभ्यस्त तुल्याइरहेकी छिन् । यसै सन्दर्भमा उनको पछिल्लो फिल्म दर्शकमाझ आउन लागेको छ । अभिनय, पात्र, स्टारडम र समाजको आयाममा रहेर मलिकासँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :

तपाईंका लागि ‘सतीदेवी’ कस्तो फिल्म हो ?

यो फिल्ममा मैले सतीदेवी अधिकारी नामक पात्रको भूमिका निर्वाह गरेको छु । उसको पात्र सामान्य तर मान्छेले देखे-भोगेको कथामा छ । हामीले ट्रेलरबाट बुझिसक्यौं कि यो फिल्म छोरा र छोरीको विभेदको कथामा छ । नेपाली समाजमा यस्ता केही छोरी छन् जो त्यस्तै परिस्थितिमा छन्, हामीले उनीहरुको कथालाई चित्रण गरेका छौं । यो ५-६ वर्षको अभिनय करिअरमा मैले धेरै कुरा सिकें । सिक्दै जाँदा थाहा हुँदै गयो । सिकेको र बुझेको कुरा सतीदेवीमा उतार्ने प्रयास गरेकी छु ।

अहिलेको समाजमा यो कथा भन्नुपर्ने कारण किन ?

समाजमा अहिले पनि यो वास्तविकता छ । काठमाडौंमा बसेको र पढेको मान्छेलाई यो कुरा अहिले पनि हुन्छ र भन्ने प्रश्न पनि आउन सक्छ । यो कुरा उहाँहरुलाई थाहा नभएको हुनसक्छ । तर काठमाडौंभित्र पनि केलाएर हेर्दा, अहिले पनि घरघरकै कथा हो यो । यहाँ बस्ने मान्छेहरुले अहिले पनि खुलेर नबोल्नुहोला । तीन जना छोरी पनि छोराको चाहना राखेर प्रयास गरेको कुरा बुझिन्छ नि त । काठमाडौंभन्दा थोरै पर जानुभयो भने यो आमरुपमा चलिरहेको नै कुरा हो । मैले यस्तो कुरा व्यक्तिगत रुपमा भोगेकी त छैन तर मेरो परिवारले पनि त्यस्तो महसुस गराउनुभएन । वरिपरि देखे सुनेको भने बच्चैदेखि हो ।

सतीदेवी’ पात्र र मलिकाको निजी जीवनबीच मिल्दोजुल्दो कुनै विशेषता छन् ?

सतीदेवीको जीवन र कथा निकै गहिरो छ । चरित्र विकासको प्रक्रियामा काम गर्दा सतीदेवी र मलिकाबीच मिल्दोजुल्दो के महसुस भयो भन्दा अन्तरवैयक्तिक कुराहरु जस्तै सोचाइ, जीवनलाई हेर्ने तरिका, परिवारलाई कसरी लिने, तपाईं कसैलाई कति माया गर्नुहुन्छ भन्ने अवधारणाका कुरा मिल्दोजुल्दो भयो । उसको ठाउँमा बसेर हेर्दा नयाँ मान्छेको दृष्टिकोणबाट हेरिरहेको छु भन्ने महसुस भएन ।

यो फिल्मको चरित्रमा डुब्दा तपाईंले आफैले आफूलाई कति मच्योर्ड महसुस गर्नुभयो ?

सतीदेवी गर्नुअघि अगत्स्यको बेला सौगात मल्ल दाइसँग भेट भएको थियो । उहाँबाट पनि धेरै कुरा सिकें । सतीदेवीको लागि मैले धेरै समय पूर्वतयारीमा थियो । पात्र निर्माणमा धेरै समय दिएँ । समय लिएर तयारी गरें । टिमले दिएको टाइमलाई सक्दो सदुपयोग गरें । निश्चय नै, प्रत्येक प्रोजेक्ट सिकाइको अवसर हुन् । मैले जति सिकें, मिल्नेजति कार्यान्वयन गरेकी छु ।

पछिल्लो समय महिलाप्रधान फिल्मले बक्स अफिसमा राम्रो पर्फमेन्स गरेका छन् । बोक्सीको घरलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ । यो ट्रेन्डले सतीदेवीको प्रस्तुतिमा कसरी उत्साह प्रदान गर्ला ?

पक्कै पनि । ‘बोक्सीको घर’जस्ता महिलाप्रधान फिल्म चल्दा यसले हाम्रोजस्तो फिल्म टिमलाई आशावादी बनाउँछ । ‘मोटिभेसन फ्याक्टर’को रुपमा त्यो सफलताले काम गर्न सक्छ जस्तो लाग्छ ।

म्युजिक भिडियोमा तपाईंलाई दर्शकले लार्जर देन लाइफ स्टाइलको सहरिया पात्रको रुपमा देख्न पाइरहेका छन् । ‘सतीदेवी’मा तपाईंले ग्रामीण युवतीको रोलमा काम गर्नुभएको छ ? यो भूमिकाका लागि तपाईं कसरी तयार हुनुभयो ?

म एक्सपेरिमेन्ट र चरित्रप्रधान फिल्मको खोजीमा थिएँ । यात्रा, पानीफोटो र अगस्त्यमा पनि चरित्र केन्द्रित भूमिका गरेकी छु । मलाई लाग्छ, अभिनेत्रीको रुपमा मैले विविधता दिन खोज्छु । भिन्न तरिकाले चित्रण प्रयास गर्छु । मैले जुनसुकै चरित्रमा अभिनय गर्न सक्ने रहेछु भन्ने सन्देश दर्शकमाझ जान्छ जस्तो लाग्छ ।

सतीदेवीको चरित्रका लागि कसरी तयार हुनुभयो ?

यसको कथा वास्तविक जीवनका घटनाबाटै प्रेरित छ । मैले बच्चैदेखि यस्तो सुनिरहेकै हुँ । उपत्यकाबाहिर जाँदा पनि देखिने कुरा हो । यो टपिक मेरो लागि नयाँ होइन । मैले सुनेको, देखेको र बुझेकै कुरा हो । कथासँग जोडिने कुरा ममा आफैं आयो । म पनि यो कुरामा सचेत थिएँ । म यो विषयमा कति जोडिन सकेको छु, यी कुरा बुझेर म पात्रको लागि तयार भएँ ।

तपाईंकै समकालीन अभिनेत्रीहरु स्टारडमको पछि लागेको देखिन्छ । तपाईंलाई यस्तो गरौं भन्ने लागेन ?

यो नितान्त निजी रोजाइ हो । मलाई राम्रो काम गर्न मन छ । राम्रो काम गर्न स्क्रिप्ट पनि राम्रो चाहियो । मेरो लागि पूर्वसर्त स्क्रिप्ट नै हो । म सधैं क्यारेक्टर टाइपका फिल्म मात्र गर्छु, कमर्सियल गर्दै गर्दिनँ भन्ने होइन । एक्टरको रुपमा सबै जनरामा काम गर्न चाहन्छु र गर्छु पनि । मलाई कनेक्ट हुनुपर्‍यो । मैले गरिरहेको कामले कुनै प्रभाव पार्छ वा मनोरञ्जनको शैलीमा मनोरञ्जन पनि गराउँछ भने यस्तो फिल्ममा म काम गर्छु ।

तपाईंले म्युजिक भिडियो, नाटक र फिल्ममा एकसाथ काम गरिरहनुभएको छ । कथा वाचन र अभिनय प्रस्तुतिको कारणले तपार्इंलाई कुन प्लाटफर्म प्रिय लाग्छ ?

म फिल्म अभिनेत्रीको रुपमा आफूलाई चिनाउन चाहन्छु । किनभने म्युजिक भिडियोमा सतहीरुपमा प्रस्तुत गरिन्छ । म्युजिकलाई अघि बढाउन दृश्यात्मक रुपमा सहयोग मात्र गर्ने हो । नाटक मेरो कोर जनरा चाहिं होइन जस्तो लाग्छ । फिल्म बृहत प्लाटफर्म हो । कुनै क्यारेक्टर गर्दै हुनुहुन्छ भने त्यो पात्रको जन्मदेखि मृत्युसम्मको अवधिलाई अध्ययन गर्न सकिन्छ । उसको जीवन बाँच्न पाइयो, त्यो प्रोसेस रमाइलो पनि छ । प्रशस्त समय पनि पाइन्छ । यो कुराले म मुभीलाई रोज्छु ।

फिल्म ‘सतीदेवी’ले दर्शकलाई कस्तो सन्देश दिन्छ ?

हामीले कुनै पनि सन्देश सिधै दिएका छैनौं । सामान्य रुपमा समाजमा भइरहेको कुरालाई ऐना जस्तै मात्र देखाइदिएको हो । जे घटिरहेको छ, त्यही देखाइदिएको हो । कुनै कुरा सिधा भन्दा मान्छेले स्वीकार्ने सम्भावना कम हुन्छ । हामीले यसलाई दृश्यकै रुपमा प्रस्तुत गरेर भनेका छौं । हामी केही भन्दैनौं, देखाइदिन्छौं । त्यो देखाउँदा तपाईंलाई महसुस हुन्छ । सतीदेवीको गोल चाहिं दर्शकलाई महसुस गराउने र परिवर्तनको लागि प्रेरित गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?