+
+

गाउँघरमा सारंगी रेटेर ४ जनाको जीविका चलाउँछन् डम्बर   

रासस रासस
२०८१ साउन २८ गते १८:१०

२८ साउन, राँझा (बाँके) । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायक नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आएका छन् ।

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुर्ख्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको बताए ।

काँधमा कालो झोला, गलामा सारङ्गी भिरेर नेपालगञ्जका विभिन्न गाउँ घुम्ने डम्बरले सारङ्गी रेटेर गीत गाउँदै दैनिक पाँच सयदेखि सात सय रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

नेपालगञ्जमा मात्र नभई कोहलपुर, खजुरा, सुर्खेतको वीरेन्द्रनगर, छिन्चु, बर्दियाको गुलरिया, भुरीगाउँ, बाँसगढी, दाङको लमही, घोराही र तुलसीपुरमा समेत पुग्ने गरेको उनले बताए ।

१२ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै आएका डम्बर परिवारको हातमुख जोड्नका लागि सारङ्गी रेट्दै नेपालगञ्ज छिरेका हुन् । उनले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि आग्रह गर्छन् ।

‘सहरमा हाम्रो गीत कसैले सुन्छन्, कसैले वास्तै गर्दैनन् । जसोतसो घरखर्च सङ्कलन हुँदै हाएको छ’, डम्बरले भने, ‘मागेर खान नभई आफ्नो संस्कृति र पेसालाई जोगाउन सारङ्गी रेट्दै विरहका गीत गाउने गरेको छु । यो पेसाबाट मलाई गर्व महसुस हुने गर्दछ ।’

बीचमा केही वर्ष रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेको बताउँदै उनले पछिल्लो सात वर्षदेखि निरन्तर सहर बजारमा एक्लै सारङ्गी रेटेर जीविकोपार्जन गर्दै आएको जानकारी दिए । सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रमा पाश्चात्य गीतसङ्गीतको प्रभाव बढ्दै गइरहेका उनको बुझाइ छ ।

सहरमा सारङ्गी रेटेर विरहका भाकासँगै डम्बरले विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउँदै आएका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–४ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्दै आएका डम्बरले बदलिँदो समयसँगै नयाँ पुस्ताले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन सम्भव नदेखेपछि अन्य पेसा अङ्गाल्दै गएका बताए ।

समसामयिक अवस्थालाई सरल शब्दमा सर्वसाधारणले बुझ्ने गरी गीतको माध्यमबाट व्यक्त गर्ने पुख्र्यौली पेसा अहिले विस्थापित हुँदै गएकामा डम्बरले चिन्ता व्यक्त गरे ।

कुनै दिन बम्बईका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज देखिन छाडेका उनको भनाइ छ ।

रेडियो, पत्रपत्रिका, टेलिभिजन, मोबाइलफोनलगायत अत्याधुनिक सूचना प्रविधिको विकासले आफूहरुले पुर्ख्यौली पेसा परिवर्तन गर्न बाध्य भएको डम्बरले गुनासो गरे । नेपाली मौलिक लोक संस्कृति र पुर्ख्यौली पेसा संरक्षण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?