+
+

तीन दिनदेखि बागमतीका सवारी कार्यालयको सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १९:०३

२८ साउन, काठमाडौं । तीन दिनदेखि बागमती प्रदेशका सवारी कार्यालयहरूको सेवा ठप्प भएको छ ।

गत बुधबार र बिहीबार सर्भर डाउन भएको भन्दै केही सेवा प्रभावित भएको थियो । शुक्रबार, आइतबार र सोमबार भने सेवा ठप्प नै भएको छ ।

अधिकारीहरूका अनुसार बागमती प्रदेशको भेहिकल रजिस्ट्रेसन सिस्टम (बीपी–भीआरएस) प्रणाली ठप्प छ । सोमबार दिउँसो ३ बजेपछि प्रणाली सञ्चालनमा आए पनि अझै पूर्ण रुपमा सर्भर चुस्त रुपमा नचलेको कर्मचारीहरूले बताएका छन् । ‘अहिले प्रणाली साह्रै सुस्त चलेको छ,’ यातायात व्यवस्था कार्यालय मोटरसाइकल–गुर्जुधाराका एक कर्मचारीले भने, ‘भोलि पनि सेवा दिन पाइएला जस्तो छैन ।’

स्रोतका अनुसार रािष्ट्रय सूचना प्रविधि केन्द्रमा रहेको बीपी–भीआरएसको प्रणालीमा समस्या देखिएपछि अनलाइन प्रणाली अवरुद्ध भएको हो । यसले गर्दा अनलाइन प्रणाली प्रयोग गरेर हुने सबै सेवा बन्द भएको हो ।

बागमती प्रदेशभित्रका साना ठूला सवारी कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था कार्यालय मोटरसाइकल–गुर्जुधारा काठमाडौं, यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुर र सानोभर्‍याङ काठमाडौंबाट सेवा लिनेहरू मर्कामा परेका छन् ।

यस्तै यातायात व्यवस्था सेवा कार्यालय काभ्रे, खुर्कोट सिन्धुली र हेटौंडा मकवानपुरबाट दिइने सवारीसम्बद्ध सेवा पनि ठप्प भएको हो । कार्यालयहरू खुले पनि सेवा बन्द भएको सूचना टाँसेर सेवाग्राहीलाई गेटबाटै फर्काइएको छ ।

यसले गर्दा सबैभन्दा धेरै सवारीको कर तिर्न गएका सेवाग्राही मर्कामा परेका छन् । यस्तै सवारी दर्ता, नामसारी, रुट इजाजत, पटके इजाजतजस्ता सेवा समेत प्रभावित भएको छ ।

यतिसम्म कि पटके इजाजत समेत जारी नहुँदा सार्वजनिक सवारीले रिजर्भका लागि काट्ने पटके इजाजत नै लिन पाएका छैनन् । सरकारी प्रणाली अवरुद्ध हुँदा पटके इजाजत नपाएकाहरूले उल्टै ट्राफिकलाई जरिवाना तिरेर सवारी चलाउनु परिरहेको छ ।

एकान्तकुनामा सवारी कर तिर्न पुगेका सञ्जीव मानन्धर सरकारले नै अनलाइन प्रणाली अवरुद्ध राख्ने र सेवाग्राहीसँग कर नतिरेको भन्दै जरिवना अशुल्ने काम भइरहेको बताउँछन् ।

‘जेठमा कर तिर्न जाँदा पनि सर्भर डाउन छ भने फिर्ता पठाए,’ उनले भने, ‘पछिल्ला दिनमा पटक–पटक कार्यालय पुग्दा पनि कर्मचारी त्यही भन्दै फिर्ता पठाइरहेछन्, अनि सोध्दा जरिवाना त लाग्छ भन्ने जवाफ दिन्छन् ।’

साना ठूला सवारी कार्यालय एकान्तकुनाका प्रमुख हरिहर पोखरेल शुक्रबार र आइतबार पूर्ण रुपमा ठप्प भएको सेवा सोमबार दिउँसोबाट सुरु भएको बताउँछन् ।

‘अब समस्या हल भइसक्यो,’ उनले भने, ‘बुधबार र बिहीबार पनि सर्भर स्लो भएको थियो, रातिसम्म सेवा दियौं, कोही ढिला भएर फर्किनुभयो होला ।’

अघिल्लो साता विद्युतीय लाइसेन्सको प्रणाली बन्द हुँदा केही दिन लाइसेन्स कार्यालयहरूले सेवा रोक्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?