+

भुटानी क्लब पारोले उठायो दशरथ रंगशालामाथि प्रश्न

२०८१ साउन  २८ गते २१:१५ २०८१ साउन २८ गते २१:१५
भुटानी क्लब पारोले उठायो दशरथ रंगशालामाथि प्रश्न

२८ साउन, काठमाडौं । एएफसी च्यालेन्ज कप प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीबीच दशरथ रंगशालमा खेल हुँदैछ ।

करिब ९ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुँदा मैदानको विषयलाई लिएर प्रश्न उठेको छ । काठमाडौंको दशरथ रंगशालामा २ मंसिर २०८० मा नेपाल र यमनबीच खेल भएदेखि अन्तर्राष्ट्रिय खेल भएको छैन ।

यस बीचमा मैदानको अवस्था खेल्नलायक नभएकैले नेपालको राष्ट्रिय टोलीले दशरथ रंगशालामा खेल्नुपर्ने दुईवटा खेल खेल्न पाएन । फिफा विश्वकप छनोट अन्तर्गत नै बहराइन र युएईविरुद्धको खेल नेपालले न्यूट्रल भेन्यूमा खेलेको थियो ।

एसियाली फुटबलम महासंघ (एएफसी) ले दशरथ रंगशालको पिच कन्डिसन, सुरक्षा स्थिति र फ्लडलाइडको विषयमा प्रश्न उठाएपछि नेपाल घरेलु मैदानमा खेल्नबाट बञ्चित भएको थियो ।

एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेलाउनको लागि स्वीकृति प्रदान गरेपछि चर्च ब्वाइज र पारो एएफसीबीच दशरथ रंगशालामा फुटबल हुन लागेको हो ।

तर भुटानी टिम पारोका प्रशिक्षक पुष्पलाल शर्माले भने दशरथ रंगशालामा खेल्न आफूहरुलाई अफ्ठ्यारो हुने बताएका छन् । सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले भने, ‘पहिलो चुनौती यहाँको मौसम कन्डिसनमा छ । यस्तै ग्राउण्डको पनि चुनौती छ । हिजो ट्रेनिङमा पनि चुनौती भयो ।’

आइतबार प्रशिक्षणपछि पारोका जापानी खेलाडी केसुके होन्डाले प्रशिक्षणस्थल एकदमै खराब रहेको बताएका थिए । सुरुमा पारोले भद्रकालीस्थित नेपाली सेनाको मैदानमा प्रशिक्षण गर्ने तय थियो । तर समयमा मैदान तयार नभएपछि पारोले दशरथ रंगशालामा अभ्यास गरेको थियो ।

होन्डाले बोलेको सार्वजनिक भिडियोमा भने उनले अभ्यासस्थल खराब रहेको भनेका छन् । ‘जब म सुरुमा आएँ । यो जोकजस्तो लाग्यो । १०० जना जति मानिस काम गर्दै थिए । अचम्म लाग्यो यसमा हामीले खेले कस्तो होला’, उनले टिकटकमा भनेका छन् ।

उनले जापानिज भाषामा बोलेको अभिव्यक्ति अंग्रेजीमा उल्था गरेर भिडियोमा राखिएको छ । ‘म खुशी छु कि त्यसपछि हामीले म्याच खेल्ने मैदानमै प्रशिक्षण गर्न पायौं, उनले भिडियोमा भनेका छन् ।

दशरथ रंगशालाको बारेमा सोधिएको प्रश्नमा उनले यो आफूले विगतमा खेलेको मैदान भन्दा फरक रहेको बताएका छन् । ‘विगतमा खेलेको पिचसँग म तुलना गर्न चाहन्न । कम्प्लेन गरेर हुँदैन । म तयार हुनुपर्छ । हामीले यो पिच शतप्रतिशत प्रयोग गर्न सक्छौँ जस्तो लाग्दैन’, होण्डाले भनेका छन् ।

सोमबार प्रिम्याच कन्फ्ररेन्समा पारोका प्रशिक्षक पुष्पलाल शर्मालाई टिममा स्टार खेलाडी हुँदा के फाइदा हुन्छ भनेर प्रश्न गर्दा उनले खेलाडी राम्रो भएपनि मैदान राम्रो भएन भने त्यसले असर गर्ने बताएका थिए ।

‘मेरो लागि क्लालिबर प्लेअरको भन्दा टिम बन्डिङ महत्वपूर्ण हो । टिमको कोअर्डिनेस मुख्य कुरा हो । त्यो हामीले गरिरहेका छौं । एउटै अपसेट हुने कुरा के हो भने होन्डाले लाइफमा खेलेकोमध्ये सबैभन्दा वर्स्ट फिल्ड भनेका छन्’, प्रशिक्षक शर्माले भनेका छन् ।

चर्च ब्वाइज क्लबले पनि खेलअघि दशरथ रंगशालामा प्रशिक्षण गर्न पाएको छैन । चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले दशरथ रंगशालामा खेलअघि प्रशिक्षण गर्न नपाउँदा फरक पर्ने बताए ।

उनले आफ्नो टिमले प्रशिक्षण गरेको स्थान भने राम्रो नरहेको बताए । चर्च ब्वाइजका कप्तान अनन्त तामाङले भने दशरथ रंगशालामा यसअघि खेलिसकेकाले लामो समयपछि त्यहाँ खेल्दा फरक नपर्ने बताए ।

एएफसीले च्यालेन्ज कपका लागि दशरथ रंगशालाको निरीक्षण गरेर नै खेल्नको लागि स्वीकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले बताए ।

‘एएफसीले इभेन्ट हुँदा आएर परीक्षण गर्ने हो । यो इभेन्टलाई उसले स्वीकृत गर्‍यो । अर्को इभेन्ट आउँदा फेरि निरीक्षण हुन्छ’, राईले भने ।

राष्ट्रिय खेलकुद परिषद राखेपले एक वर्षको सुरक्षा सर्टिफिकेट उपलब्ध गराएपछि एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलका लागि स्वीकृति दिएको राईले बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अहिले दशरथ रंगशालाको अवस्था धेरै राम्रो भएको बताए । ‘एएफसीले निरीक्षण गरेर नै दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेलका लागि स्वीकृति दिएको छ । अहिले मैदानको अवस्था धेरै राम्रो भएको छ ।’

च्यालेन्ज कप प्लेअफ पछि एन्फाले दशरथ रंगशालामा दक्षिण एसियाली फुटबल महासंघको कार्यक्रम अनुसार साफ यू-२० च्याम्पियनसिप आयोजना गर्दैछ । उक्त च्याम्पियनसिप भदौ २ देखि १२ गतेसम्म हुनेछ ।

यस्तै अक्टोबरमा काठमाडौंमै साफ महिला च्याम्पियनसिप पनि हुने तय छ । त्यसअघि सेप्टेम्बरमै एसिया रग्बीको कार्यक्रम अनुसार दुई वटा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता पनि दशरथ रंगशालामै आयोजना हुँदैछ ।

दशरथ रंगशाला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय