+
+

कोशी प्रदेशसभा बैठक डेढ महिनादेखि अनिश्चित 

तत्काल बोलाउन माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते ९:४२
फाइल तस्वीर ।

२९ साउन, विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।

१ असारमा प्रदेशसभामा पेश भएको बजेट ८ असारमा पारित भएको थियो, बजेट पारित भएपछि सभामुख अम्बरबहादुर विष्टले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरेका थिए । बजेट पास भएलगतै राजनीतिक समीकरण परिवर्तन भएका कारण प्रदेशसभा बैठक अनिश्चित भएको हो ।

केन्द्रमा समीकरण फेरिएसँगै बजेट बनाउँदा सरकारमा रहेको माओवादी केन्द्र अहिले सरकार बाहिर छ ।  तर समर्थन भने फिर्ता लिएको छैन । माओवादी केन्द्रले प्रदेशसभा बैठक सुरु भएपछि सरकारको समर्थनबारे निर्णय गर्ने बताएको थियो ।

तर सरकारले प्रदेशसभा बैठक बोलाउन रुचि नदेखाएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आरोप लगाए । सरकारले गैरजिम्मेवार ढ‌ंगले काम गरेको बताउँदै उनले बैठक अघि नै समर्थन फिर्ता लिने तयारी भइरहेको उनले बताए ।

‘केन्द्रीय समीकरण अनुसार प्रदेशमा यहाँहरुको(कांग्रेस एमाले) भागबन्डा र नयाँ  मन्त्रीमन्डल गठनको बिषयमा हाम्रो कुनै चासो छैन । तर उहाँहरुको असक्षमताले बाढी,पहिरो,डुबान लगायत प्राकृतिक विपत्ति,नीति कार्यक्रम र नयाँ बजेट कार्यवन्यनलगायत बिषयमा छलफल र सरकारको ध्यानाकर्षण गराउने जनप्रतिनिधिको मुख्य थलो प्रदेशसभा बन्धक भएको लामो समय भयो,’ उनले भने, ‘बिना कुनै बहाना तत्काल प्रदेशसभा सुचारु गर्न मुख्यमन्त्री र सभामुखज्युको गम्भीर ध्यानाकर्षण गराउछु ।’

सभामुखले पनि प्रदेशसभा बैठक चलाउन आट नगरेको बताउँदै उनले संसद सरकारको छायाँमा परेको बताए । ‘कांग्रेस भित्रको गुट व्यवस्थापनका लागि मन्त्रालय बढाउनै पर्ने दबाबमा मुख्यमन्त्री हुनुहुन्छ,त्यसको विरोध हुने भएकाले सबै काम सकेर अनुकुलतामा मात्रै सदन चलाउने तयारीमा उहाँहरु हुनुहुन्छ,’ आङ्बोले भने, ‘सरकारको छायाँमा सदन पर्‍यो । सभामुख निरिहजस्तो देखिनु भएको छ ।’

प्रदेश निजामति ऐनलाई संसोधन गर्न बनेको विधेयक,तत्कालीन सरकारले ल्याएको अध्यादेश अस्वीकृतसँगै निष्क्रिय रहेका ऐनहरु पुनर्स्थापित गर्ने विधेयक लगायत अत्यावश्यक विधेयकहरु प्रदेशसभामा अलपत्र रहेका कारण तत्काल बैठक बोलाउनुपर्ने उनको माग छ ।

माओवादी केन्द्रका सांसद जीवन आचार्यले पनि दुई तिहाइ बहुमतले संसद थिचिएको आरोप लगाए । ‘जनताको आवाज जनताद्वारा चुनिएका जनप्रतिनिधिद्वारा उठाउने थलो कोशी प्रदेश सभा (संसद) लामो समयदेखि बन्द छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई तिहाइ बहुमतको भारमा थिचिएर रुमल्लिएको प्रदेश सरकार र सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण होस् ।’

केन्द्रमा समीकरण फेरिएपछि माओवादी केन्द्र ११ साउनमा सरकारबाट बाहिरिएको थियो । सरकारबाट माओवादी बाहिरिए पनि कांग्रेस अझै सहभागी हुन सकेको छैन ।

कांग्रेससँग ४–४ मन्त्रालय लिने सहमति भएपनि कांग्रेसको आन्तरिक बाडफाडमा सहमति नजुटेका कारण सरकारमा सहभागी भएको छैन । कांग्रेसले थप एउटा मन्त्रालय मागिरहेको छ । कांग्रेसलाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकार विस्तारपछि प्रदेशसभा बैठक बोलाउने बताउँछन् । संसदलाई बिजनेश  दिइरहेको बताउँदै उनले भदौ पहिलो सातासम्म सरकार विस्तार गरेर बैठक बोलाउने तयारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?