+
+

प्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ साउन २९ गते १०:५२

२९ साउन, जनकपुरधाम । उपचारमा लापरबाही गरेको भन्दै प्रादेशिक अस्पताल सिराहका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र अर्का एक जना चिकित्सकविरुद्ध जाहेरी परेको छ ।

तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादव र चिकित्सक सन्तोष गोइतविरुद्ध जाहेरी परेको हो ।

फिस्टुलाको अपरेशनको क्रममा दुवै घुँडामा करेन्ट लगाएर गम्भीर घाउ बनाइदिएको भन्दै सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हाका २४ वर्षीय रामबाबु महतोले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।

पीडित महतोले जिल्ला हुलाक कार्यालयमार्फत आइतबार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीले जाहेरी लिन नमानेपछि हुलाक कार्यालय मार्फत दर्ता गराएको पीडित महतोले बताए ।

मलद्वारमा समस्या भएपछि ६ चैतमा अस्पतालमा भर्ना भएका महतोको भोलिपल्ट ७ चैतमा फिस्टुलाको शल्यक्रिया भएको थियो ।

अपरेसन थिएटरबाट निकाल्दा उनको देब्रे घुँडाको छाला बढी र दाहिने घुँडामुनि पनि ३ ठाउँमा हल्का-हल्का जलेको थियो ।

शल्यक्रिया अस्पतालका तत्कालीन मेसुसमेत रहेका सर्जन डा. यादवले गरेका थिए । शल्यक्रिया गरेको उनले स्वयम् स्वीकार गरिसकेका छन् । त्यसबेलाका मेसु यादवले औषधि उपचारको सम्पूर्ण खर्च बेर्होर्ने आश्वासन दिएका थिए ।

पीडित महतोसोही अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । २८ चैतमा मेसु डा. नागेन्द्र यादवको राजविराजस्थित गणेजन्द्रनारायण सगरमाथा अस्पतालमा सरुवा भयो । उनी अहिले त्यहाँका निमित मेसु छन् ।

घाउ बल्झिदा महतोलाई भने सिरहा अस्पतालले १८ वैशाखमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिदियो । दाहिने घुँडाको तीन ठाउँमा डढेको घाउ निको भएपनि देब्रे घुँडाको घाउ अहिलेसम्म निको भएको छैन ।

उपचारमा हालसम्म तीन लाख रुपैयाँ खर्च भइसकेको रामबाबु बताउँछन् । स्थानीय एक पेट्रोल पम्पमा काम गरेर जीवीकोपार्जन गर्ने रामबाबु उल्टै उपचारको क्रममा ऋणको भारी बोक्न बाध्य भएको बताउँछन् ।

क्षतिपूर्ति र लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै घुँडामा भएको घाउ बोकेर उनी न्यायको लागि भौतारिरहेका छन् ।

३३ लाख क्षतिपूर्तिसहित कारबाहीको माग

मेसुसहित चिकित्सको चरम लापरबाहीले आफ्नो यस्तो अवस्था आएको भन्दै पीडित रामबाबुले हालसम्म आफ्नो फिस्टुलाको घाउ पनि निको नभएको गुनासो गरेका छन् । ‘फिस्टुलामा अहिले पनि समस्या छ र निको भएको छैन । फिस्टुलाको उपचार गर्न गएकोमा सोको उपचार राम्रोसँग भएन बरु बढ्यो भने मलाइ खुट्टामा विपक्षीहरुवाट लापरबाही गरेर जलाएर झनै कडा रोगको सिकार भएको छु,’ उनको जाहेरीमा उल्लेख छ ।

उनले उपचार गराउन लागेको खर्च, अगामी दिनमा लाग्ने खर्चसहित १३ लाख र उपचारमा लापरबाही गर्ने मेसुसहित चिकित्सकबाट २० लाख गरी ३३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइदिन जाहेरीमा माग गरिएको छ ।

‘उपचारमा रु ७ लाख खर्च भएको र ६ लाख अब लाग्ने भएको र क्षतिपूर्तिबापत २० लाख गरी जम्मा ३३,००,०००/- विपक्षीहरुबाट दिलाई पछि रोग बढेमा सोको समेत उपचार गराई लापरबाही साथ सो कार्य गरेकोले निज विपक्षीहरुलाई हदैसम्म कैद सजाय गरी पाउँ,’ जाहेरीमा लेखिएको छ ।

लापरबाही भएको पुष्टि

रामबाबुले सूचनाको हक प्रयोग गरी आफ्नो शल्यक्रियासहितको उपचारको कागजात अस्पतालबाट लिएका छन् । जसमा शल्यक्रियाको क्रममा त्रुटि भएको रेडर्कडमा पाइएको छ । जसमा ६ गते नै शल्यक्रिया भएको लेखिएको छ भने ७ गते शल्यक्रिया गर्न दिइने एनेसथेसियाले बेहोस गरेको देखिन्छ ।

शल्यक्रियामा अस्पतालमा विज्ञ डाक्टरले अपरेसन गर्नु पर्नेमा बिचैमा सर्जन मेसुले छोडेर गएको र असम्बन्धित एमबीबीएस डाक्टर सन्तोष गोइतले शल्यक्रिया गरेका छन् । जसमा उनको हस्ताक्षर छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?