+
+

प्रचण्डलाई रूपान्तरण हुने मौका

शर्माको प्रस्तावलाई प्रचण्डले राजनीतिक कम, व्यक्तिगत ‘इगो’ ज्यादाको रूपमा लिने सम्भावना उत्तिकै छ। अन्तरविरोधमा खेलेर थप जटिल अन्तरविरोध सिर्जना गर्ने प्रचण्ड प्रवृत्ति यसपटक पनि पुनरावृत्त नहोला भन्न सकिंदैन।

प्रशान्त लामिछाने प्रशान्त लामिछाने
२०८१ साउन २९ गते १६:४५

‘मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसबारे गम्भीर समीक्षा हुनुपर्दछ ।’

माथिको बुँदा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेश गरेको फरक प्रस्तावको अन्तिम लाइन हो।

माओवादीको सांगठनिक संरचनामा शान्ति प्रक्रिया पछि जसरी पुनर्गठन हुनुपर्थ्यो त्यो हुन सकेन। पार्टी उहिलेदेखि अहिलेसम्म फौजी शैलीमा नै चल्दै आयो। जागिरे जीवनमा निश्चित अवधिपछि व्यक्ति रिटायर्ड हुन्छ। राजनीतिमा पनि पद फेरबदल भइरहन्छन् तर माओवादी मात्र यस्तो पार्टी हो त्यसमा अध्यक्ष बाहेक अरु फेरिइरहन्छ। यस्तो अलोकतान्त्रिक शैलीले प्रचण्ड ३५ वर्षदेखि पार्टीको नेतृत्वमा छन्।

मशालका तत्कालीन महासचिव महोन वैद्य ‘किरण’ को नेतृत्वमा भएको असफल सेक्टर काण्डपछि पार्टी नेतृत्व लिएका प्रचण्डले त्यसयता पछि फर्केर हेर्नुपरेको छैन।

उनले पार्टीमा बेलाबेला प्रश्नहरू सामना गरिरहनुपर्छ। पार्टी नेतृत्व सम्हालेपछि किरण, डा. बाबुराम भट्टराई र बादलहरूले उनीमाथि पटक–पटक प्रश्नहरू उठाएका छन्। तर ती प्रश्नको जवाफ दिएर समाधान निकाल्नु भन्दा प्रचण्डले पार्टीमा नयाँ अन्तरविरोध सिर्जना गर्दै कुनै लेप लगाएर पाखा लगाउने काम गर्दै आए। जस्तो किरणका सवालहरूमा बोल्नुभन्दा ‘शास्त्रीय कम्युनिस्ट’ भनिदिनुमा उनले सहज महसुस गरे। डा. भट्टराईको प्रस्तावलाई संस्थागत रूपमा स्वीकार गर्नुभन्दा ‘बुर्जुवा’ भन्दै पन्छाउनुमा सहजता ठाने, बादललाई त लिनप्याओवादीसम्मको आरोप लगाइदिए।

शर्माले आफ्नो प्रस्तावमा उल्लेख गरे जस्तै मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको माओवादी पङ्क्तिले ती नेताहरूलाई त्यसरी नै बुझ्दै गयो। वस्तुत: यो प्रचण्डको प्रश्नहरूबाट भाग्ने कुटिलता हो भन्ने बुझ्न जनार्दन शर्मा जस्ता खरा नेतालाई पनि वर्षौं लाग्यो। उनले आफ्नो प्रस्तावमा प्रचण्डको जवाफदेखि भाग्ने शैलीलाई कडा शब्दमा प्रस्तुत गरेका छन्।

‘…मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू छन्‌। ती प्रश्नहरूको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पंक्तिलाई तरङ्गित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ। स-साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सृजना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ।’

प्रचण्डले पार्टीमा दोस्रो पुस्ताका नेताले यसखालको वैचारिक राजनीतिक चुनौती सामना गर्नुपरेको पहिलो पटक हो। यसअघि उनका समकालीन नेताहरूले वैचारिक चुनौती दिने गरेका थिए। मूलत: किरण र डा. भट्टराई। उनीहरूका प्रस्तावहरू विशेष रूपमा सैद्धान्तिक खालका र भावी मार्गचित्रका रूपमा थिए। जसलाई प्रचण्डले अस्वीकार गरे पनि विभिन्न तरिकाले आफ्नो योजनामा ढाल्दै प्रयोग गर्थे।

जस्तो डा. भट्टराईको संविधान सभा र लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव। त्यसकै कारण प्रचण्डले डा. भट्टराईलाई पार्टीमा कारबाही गर्दै जनमुक्ति सेनाको हिरासतमा समेत राखे। पछि चुनवाङ बैठकसम्म आउँदा त्यसलाई नै आफ्नो कार्यदिशा बनाएर राजनीतिक दलहरूसँग सहकार्यको नीति बनाए। अहिले माओवादी मूल राजनीतिक जग यही छ तर यसका योजनाकार डा. भट्टराई प्रचण्डसँग छैनन् ।

यहाँ पालुङटार विस्तारित बैठकको उदाहरण पनि उचित होला। त्यतिबेला माओवादीमा फेरि क्रान्तिमै फर्किने कि यही अवस्थामा अघि बढ्ने भन्ने दोधार थियो। मोहन वैद्य लगायतका नेताहरू क्रान्तिको कार्यदिशामा थिए भने डा. भट्टराईको प्रस्ताव शान्ति र संविधानको थियो। तर प्रचण्डको खास प्रस्ताव थिएन। उनले त्यतिबेला बहुमत वैद्यको पक्षमा देखिरहेकाले बैठकबाट वैद्यकै प्रस्तावलाई अनुमोदन गराए।

सेक्टर काण्डपछि किरणले प्रचण्डलाई आलोकाँचो युवा भन्दै नेतृत्व हस्तान्तरण नगरेको भए यसको परिणति के हुन्थ्यो ? यो प्रचण्डले पनि सोच्नुपर्ने विषय हो। हरेक पटक भएका निर्वाचनमा पार्टीको आकार सानो हुँदै गइरहेको छ। पार्टीका मुख्य नेताहरू करिब–करिब पार्टीभन्दा बाहिर पुगिसकेका छन्

‘मुखमा शान्ति मनमा क्रान्ति’ जुन कार्यदिशा नै माओवादीका लागि घातक भइदियो। क्रान्तिको कार्यदिशाले शान्तिमा जाँदा पहिलो संविधानसभाबाट संविधान बन्ने सम्भावना कम भयो। अन्य दल र शक्ति केन्द्र स्वाभाविक रूपमा यस प्रकारको द्वैध नीतिले तर्सिने नै भए। अन्तत: वैद्य बाटो लागे। प्रचण्ड बाबुरामकै प्रस्तावमा आए।

शर्माले प्रचण्ड नेतृत्वबारे प्रश्न गर्दै भनेका छन्-

अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारी सहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने। वा,

२. नेतृत्व पुस्तान्तरण: अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने। हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने। वा,

३. हालको केन्द्रीय कमिटी भङ्ग गरी क. प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशन मार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने।

आलोचना सहन नसक्ने प्रचण्डले यसलाई राजनीतिक रूपमा लिने सम्भावना कम छ। तर यसपटक शर्माले ल्याएको प्रस्ताव प्रचण्डका लागि त्यस्तो सजिलो छैन। भलै बहुमतका कारण उनको प्रस्ताव पाखा लगाउन सजिलो छ। शर्मा विगतदेखि नै माओवादीमा ‘एक्सन ओरियन्टेड’ नेता हुन्। उनको प्रस्ताव ठूलो वैचारिक सिद्धान्त भन्दा पनि यसरी यसरी काम गरौं भन्नेमा केन्द्रित छ।

शर्माको प्रस्तावलाई प्रचण्ड राजनीतिक कम, व्यक्तिगत ‘इगो’ ज्यादाको रूपमा लिने सम्भावना उत्तिकै छ। अन्तरविरोधमा खेलेर थप जटिल अन्तरविरोध सिर्जना गर्ने प्रचण्ड प्रवृत्ति यसपटक पनि पुनरावृत्त नहोला भन्न सकिंदैन। आफ्नो इतिहास रक्षा गर्ने हो भने प्रचण्डले क्षणिक भुलभुलैया छोडेर शर्माको प्रस्तावलाई राजनीतिक रूपमा आत्मसात् गर्दै अघि बढ्नु बुद्धिमानी हुन्छ।

डा. भट्टराई, किरण जस्ता ‘हेविवेट’लाई त पाख लगाइयो अरू त के न हुन् भन्ने सोचाइले काम गर्‍यो भने त्यो गलत हुनेछ। यसअघि प्रचण्डलाई उनका समकालीनले चुनौती दिएका थिए यो पटक दोस्रो पुस्ताका नेताले उहीस्तरको चुनौती दिएका छन् यसकारण यो महत्वपूर्ण छ।

शर्माको प्रस्तावमा स्पष्टता छ। विगतमा माओवादीमा नेताहरूले ल्याउने प्रस्ताव अध्ययन गर्नकै लागि समयतालिका बनाएर काम गर्नुपर्थ्यो। कतिपय अवस्थामा सामान्य कार्यकर्ताले बुझ्न नसक्ने खालका भाषा र दर्शनका कारणले समस्या थियो। तर शर्माको प्रस्ताव बुँदागत ढंगबाट सबैले बुझ्ने तरिकाले आउनु सकारात्मक छ।

विगतमा प्रचण्ड शैली थियो किरण र डा. भट्टराईलाई जुधाएर आफूले फाइदा लिने। यहाँ शर्माले यो विषयलाई त्यसरी नै उल्लेख नगरे पनि यस्तो हुनसक्नेतर्फ सचेत देखिन्छन्। उनले भनेका छन्, ‘पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन हैन फुटाउनको लागि गरिने मिहिनेत बारेको प्रश्न।

अझ उनी अगाडि बढेर नाम नै लिएर समेत यसलाई स्पष्ट पारेका छन्। ‘सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन त कहिले वर्षमानका विरुद्ध गरिएका दुष्प्रचार सम्बन्धी प्रश्न’ भन्दै नाम सहित उनले सवाल उठाएका छन्।

समग्रमा शर्माले पार्टीभित्र लोकतन्त्रीकरणका लागि सवाल उठाएका छन्। लामो समय एकै नेतृत्व हुने र त्यसको लोकतान्त्रिक परीक्षण नहुनु आफैंमा समस्या हो। कि नयाँ नेतृत्वमा जाउँ कि यसको महाधिवेशनबाट लोकतान्त्रिक परीक्षण गरौं भन्ने प्रस्तावलाई सचेत राजनीतिक कार्यकर्ताले राजनीतिक रूपमा बुझ्नुपर्छ।

सेक्टर काण्डपछि किरणले प्रचण्डलाई आलोकाँचो युवा भन्दै नेतृत्व हस्तान्तरण नगरेको भए यसको परिणति के हुन्थ्यो ? यो प्रचण्डले पनि सोच्नुपर्ने विषय हो। हरेक पटक भएका निर्वाचनमा पार्टीको आकार सानो हुँदै गइरहेको छ। पार्टीका मुख्य नेताहरू करिब–करिब पार्टीभन्दा बाहिर पुगिसकेका छन्। उनीहरूको आरोप पनि प्रचण्डको शैलीकै विषयमा हुने गर्छ। तर अध्यक्ष प्रचण्डले त्यसलाई अनेक वादको लेपन लगाएर आफूलाई महान् देखाउन खोजिरहनुहुन्छ।

यदि सबैले तपाईंमाथि नै प्रश्न उठाउँछन् भने यो के भइरहेको छ भनेर एकपटक ठन्डा दिमागले सोच्ने कि आफ्नो प्रभावले त्यसलाई पन्छाइरहने? प्रचण्डले यसलाई इगोको रूपमा नभएर दोस्रो पुस्ताका नेताहरूले दिएको मौकाको रूपमा लिएर अघि बढ्दा समग्र माओवादीलाई फाइदा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?