+
+

बोर्ड अध्यक्षमा दिनेश डिसी, करिश्मा मानन्धर र राजेश थापाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १२:२३

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाले आवेदन दिएका छन् । फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापाले आवेदन दिएका हुन् । अहिलेसम्म आवेदन दिएका यी तीनैजना सत्तारुढ एमाले निकट भातृ संगठनमा आबद्ध छन् ।

डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष हुन् ।

राजेशकुमार थापा सांस्कृतिक संस्थानको पूर्वप्रबन्ध निर्देशक तथा एमाले निकट जनसांस्कृतिक महासंघका सदस्य हुन् । अभिनेत्री करिश्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृतिक विभागमा सदस्य तथा फिल्म अभिनेत्री हुन् ।

यी तीनजना आकांक्षीको नाम अहिले चर्चामा छ । अध्यक्ष पदका लागि आवेदन दिने मिति बुधबार सकिंदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो ।

चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापाले विगतमा अन्तिम दिनमा पनि आवेदन आएको इतिहास भएकाले बुधबार पनि आवेदन आउने सम्भावना रहेको बताए ।

उनका अनुसार आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गर्छ । त्यसपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ ।

समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले तीनमध्ये कुनै एक जनालाई अध्यक्षमा नियुक्त गर्छ । अहिलेको चलचित्र ऐनअनुसार बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । आवेदनको सूचनामा पनि दुई वर्षकै कार्यकाल भनेर उल्लेख थियो ।

प्रस्तावित चलचित्र ऐनमा भने अध्यक्षको कार्यकाल चार वर्ष प्रस्ताव गरिएको छ । ऐन संशोधन नहुँदासम्म कार्यकाल दुई वर्षकै हुने सदस्य सचिव थापाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?