+
+

वाल्मीकि आश्रम जान ‘लवकुश’ झोलुंगे पुल सञ्चालनमा

रासस रासस
२०८१ साउन २९ गते १३:१०

२९ साउन, त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो ।

माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा सम्पन्न भएको थियो । चितवन तर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा उक्त पुल सञ्चालनमा आउन सकेको थिएन ।

करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल रुबिना – मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । रु छ करोड लागतमा पुल निर्माण गरिएको हो । पुल सोमबारदेखि सञ्चालनमा आएको छ ।

पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ । यसअघि चितवन तर्फ बाटो नभएको र नवलपुर तर्फबाटसमेत वाल्मीकि आश्रम पुग्ने बाटो थिएन ।

जसले गर्दा त्रिवेणीस्थित गण्डक बाँध पार गरी भारतको वाल्मीकि नगर र वाल्मीकि टाइगर रिजर्भ हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता थियो । नेपालको धार्मिकस्थल भारतीय बाटो हुँदै जानुपर्दा दुरी र समय धेरै लाग्ने गरेको थियो ।

अबदेखि वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने अवस्थाको अन्त्य भएको नवलपुरका पूर्व सांसद तिलक महतले बताए । नेपाली धार्मिक पर्यटक देशकै बाटो हुँदै पुग्न सकिने उनले बताए । महत्वपूर्ण धार्मिकस्थल वाल्मीकि आश्रम झोलुङ्गे पुलले जोडिँदा यसको विकास, संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

पुल सञ्चालन भएपछि विनयी त्रिवेणीस्थित त्रिवेणी धाममा चहलपहल बढ्ने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

‘पुल निर्माण भएर सञ्चालन नहुँदा हामी चिन्तित थियौँ, पुल सञ्चालन गर्न पटक–पटक पहल गर्‍यौं, अब हामी हाम्रो भूमिबाट वाल्मीकि आश्रम जान पाउने भएका छौँ , हाम्रो पहलले सार्थकता पाएको छ’, अध्यक्ष गिरीले भने ।

वाल्मीकि आश्रम धार्मिक तथा पौराणिक महत्व बोकेको क्षेत्र हो । सीताले लामो समय बिताएको, सीता पाताल प्रवेश गरेको, लव–कुशको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, वाल्मीकि आश्रम आफैमा ऐतिहासिक धार्मिकस्थल भएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसाल बताउँछन् ।

वाल्मीकि आश्रम र त्रिवेणीलाई झोलुङ्गे पुलले जोडेपछि धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?