+

मोटोपन नियन्त्रण नगरे फ्याटी लिभरको जोखिम हुन्छ ? (भिडियो)

२०८१ साउन  २९ गते १७:१५ २०८१ साउन २९ गते १७:१५
मोटोपन नियन्त्रण नगरे फ्याटी लिभरको जोखिम हुन्छ ? (भिडियो)

फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्नु हो । विभिन्न कारणले कलेजोमा बोसो थुप्रिएर यो समस्या  उत्पन्न हुन्छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्‍याउँछ । कलेजो बिग्रिने प्रमुख कारणमध्ये फ्याटी लिभर पनि एक हो । फ्याटी लिभरकै कारण कलेजो फेल हुने, कलेजोको क्यान्सरसम्मको जोखिम हुन्छ । विश्वमा कलेजो प्रत्यारोपण गर्नुपर्ने तेस्रो कारण फ्याटी लिभर हो ।

फ्याटी लिभरको विभिन्न चरण हुन्छ । पहिलो, दोस्रो, तेस्रो र चौथो । तेस्रो र चौथो चरणपछि फाइब्रोसिस र सिरोसिसको स्टेजमा पुग्यो भने त यसको कुनै उपचार हुँदैन । कलेजो प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ ।

फ्याटी लिभरको कारण

जसको शरीरमा बोसोको मात्रा धेरै छ उसलाई यो समस्या देखा पर्छ । फ्याटी लिभर हुँदा शरीरमा बोसोको मात्रा ३३ प्रतिशतभन्दा बढी हुन्छ । शरीरमा हुने बोसो नराम्रो नै हो भन्ने होइन, २० देखि २५ प्रतिशत बोसो सामान्य हो । तर जब शरीरमा बोसो सामान्य भन्दा बढी भएर जम्मा हुन थाल्छ त्यो कलेजोमा पनि जम्मा हुन्छ ।

फ्याटी लिभरको अर्को कारण खराब खानपान हो । एउटै तेल प्रयोग गरेर धेरै दिनसम्म पकाएको खाना, प्रशोधित खाना, फास्टफुड लगायत खानेकुरा लामो समयसम्म खाएमा बोसो जम्ने र फ्याटी लिभरको समस्या देखिन्छ ।

शारीरिक व्यायामको कमीका साथै तनावपूर्ण जीवनले मोटोपन र यसकै कारण फ्याटी लिभरको समस्या देखा पर्छ । थाइराइडको कमी भएकाहरूमा मोटोपनका कारण फ्याटी लिभर देखिन्छ । मधुमेहको समस्या र मुटुको समस्या भएकाहरूमा पनि फ्याटी लिभरको जोखिम हुन्छ ।

लक्षण

सामान्यतया फ्याटी लिभरको देखिने गरी कुनै लक्षण हुँदैन । जुन बेला लक्षण देखा पर्छ त्यो बेला बिरामीको अवस्था खराब भइसकेको हुन्छ । पहिलो चरणमा खासै केही लक्षण देखा पर्दैन ।

दोस्रो चरणबाट दाहिने कोखामा भारीपन हुने, वाकवाकी लाग्ने हुनसक्छ । कसैकसैलाई नहुन पनि सक्छ । धेरैजसो केसमा लक्षण देखा पर्दैन, अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गर्दा मात्र फ्याटी लिभर देखिन्छ ।

तेस्रो र चौथो चरणमा पुगेपछि समस्या बढ्दै गएर ‘फाइब्रोसिस’ का कारण कलेजो कडा हुने अवस्थासम्म पुग्छ । यस्तो भएमा कलेजो पहिलेको अवस्थामा फर्किन सक्दैन । जसले गर्दा सिरोसिस, ‘कलेजो फेल’ र कलेजो क्यान्सर, मधुमेह, मिर्गौलाको समस्या, मुटुको समस्या, पक्षाघात समेत गराउन सक्छ ।

फ्याटी लिभर ठलो समस्या होइन भन्ने गलत धारणा

फ्याटी लिभर ठूलो समस्या होइन भन्ने गलत धारणा धेरैमा छ । फ्याटी लिभर पहिलो चरणमा छ भने त्यति आत्तिनु पर्दैन । खानपान र जीवनशैलीमा सुधार गरेर यो समस्या बढ्नबाट रोक्न सकिन्छ । दोस्रो चरणको छ भने अलि सचेत हुनुपर्छ । तेस्रो चरणमा पुग्यो भने त्यो जटिल अवस्था हो र चौथो चरणमा पुग्दा फाइब्रोसिस हुन्छ र जुन अब निको हुँदैन, कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।

फ्याटी लिभरलाई हेलचेक्र्याइँ गरियो भने ठूलो जटिलता निम्तिन सक्छ । यसले रक्सी नखाएकामा रक्सी खाए बराबरको कलेजो बिगार्न सक्ने क्षमता राख्ने समस्या हो ।

उपचार

फ्याटी लिभरको समस्यालाई बढ्न नदिने एक मात्र उपाय वजन घटाउनु हो । जसका लागि खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ ।

कोही पातलो छ तैपनि उसलाई फ्याटी लिभर देखा परेको छ भने वंशाणुगत कारण हुनसक्छ । यस्तोमा बिरामीलाई मधुमेहको समस्या छैन भने केही महिना भिटामिन ई दिएर फाइब्रोसिसको समस्याबाट बचाउन सकिन्छ ।

फ्याटी लिभरमा लाइपोसक्सन सर्जरी उपयोगी हुन्छ ?

लाइपोसक्सन सर्जरी मार्फत शरीरको केही भागबाट बोसो निकालेपछि शरीर तन्दुरुस्त हुन्छ । शरीरलाई २० प्रतिशत भन्दा कम बोसो चाहिन्छ, धेरै हुँदा मात्र समस्या हुने हो । यस्तोमा शरीरबाट बोसो निकाल्दा शरीरलाई चाहिने बोसो कलेजोमा जम्मा भएको बोसोबाट परिचालित हुने भएकाले कलेजोको बोसो कम हुन्छ ।

मोटोप घट्नु फ्याटी लिभरको जोखिम कम हुनु हो

सामाजिक सञ्जालमा विभिन्न प्रकारका विज्ञापन देखिन्छन्, चिया, कफी, सप्लिमेन्टको सेवनबाट सात दिनमा तौल नियन्त्रण भनेर । साथै केही व्यक्तिले गुनासो गरिरहेका हुन्छन् धेरै व्यायाम गर्छु तैपनि मेरो तौल कम भएको छैन भनेर ।

१५ देखि २० वर्षका किशोरहरु मोटो हुँदैनन् किनकि उनीहरूको मेटाबोलिजम राम्रो हुने भएकाले खाना पचाउन सक्ने क्षमता राम्रो हुन्छ । त्यस उमेरपछि गलत खानपानका कारण तौल बढ्न थाल्छ । यस्तोमा खानपान सुधार गरेर तौल नियन्त्रण गर्न सकिन्छ ।

मोटोपन घटाउने हो भने खानपानमा परिवर्तन ल्याउन जरुरी छ । सबैभन्दा बुझ्नुपर्ने कुरा भनेको हिजो धेरै खाना खाएर आज तौल बढेको होइन । त्यसरी नै तौल पनि आजको भोलि घट्दैन । यस्तोमा चिया, कफी खाएर ५ देखि ७ दिनमा तौल घट्दैन, तौल घट्न पनि निश्चित समय लाग्छ । कम्तीमा तीनदेखि ६ महिना लाग्छ, ३-४ केजी तौल घट्न ।

खाना खाएन भने तौल घट्छ भनेर कतिपयले त खाना नै खान छोड्छन् । कतिपयले कार्बोहाइड्रेट खान छोड्छन्, त्यो गलत हो । तौल नियन्त्रण गर्न एउटा वयस्क पुरुषले १८ सयदेखि २ हजार किलोक्यालोरी खाना खानुपर्छ । महिलाले १६ सयदेखि १८ सय किलोक्यालोरी खानुपर्छ ।

खानपानमा ध्यान दिनुका साथै व्यायाम गर्नुपर्छ, जसले क्यालोरी बर्न (खर्च) हुन्छ र तौल नियन्त्रण हुन्छ । तौल नियन्त्रण गर्न सम्पूर्ण शरीरको व्यायाम गर्नुपर्छ । दैनिक एक घण्टा हिंड्ने, उठबस गर्ने, पुलअप, पुसअप गर्ने जस्ता सामान्य व्यायाम गरेर तौल नियन्त्रण गर्नुपर्छ ।

तौल नियन्त्रण गर्न कतिपयले किटो डाइट, लोकार्ब डाइट गर्छन् । यस्तो डाइटले छिटो तौल त नियन्त्रण हुन्छ । तर शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट पुग्दैन । हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये कार्बोहाइड्रेट पनि हो, त्यसैले यसो गर्नु त्यति राम्रो होइन ।

कार्बोहाइड्रेट खाएर होइन, बढी खाएर समस्या भएको हो । त्यसैले खाँदै नखाने होइन,  निश्चित मात्रामा खाने हो । खाँदै खाएन भने झनै समस्या निम्तिन सक्छ । किनकि दिमागले लिने खाना भएको कार्बोहाइड्रेट हो । कार्बोहाइड्रेट कम भयो भने दिमागले राम्ररी काम गर्दैन, डिप्रेसन जस्ता समस्या निम्तिन सक्छ । त्यसैले सन्तुलित खाना खानुपर्छ ।

खानामा ५० प्रतिशत कार्बोहाइड्रेट, २० देखि ३० प्रतिशत प्रोटिन र २० देखि ३० प्रतिशत बोसो हुनुपर्छ । बोसोमा पनि राम्रो बोसोको सेवन गर्नुपर्छ  । जसमा माछा, मासु, अण्डा, ड्राइफुट जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

सन्तुलन मिलाएर खाने हो भने विश्वभरिको राम्रो खानामा नेपाली खाना पर्छ । किनकि हामी भात खान्छौं, जसमा कार्बोहाइड्रेट हुन्छ, दालमा प्रोटिन, तरकारी र अचारमा लवण र भिटामिन, घिउ, तेलमा बोसो हुन्छ ।

धेरै व्यक्ति भात एक थाल खाने, दाल कम र तरकारी त झन् एकदमै कम खान्छन् । दैनिक रुपमा व्यायाम गर्दैनन्, जसले गर्दा खाएको खाना बोसोको रुपमा जम्मा हुन्छ र मोटोपन बढ्छ ।

तौल नियन्त्रण गर्ने व्यक्तिले चारदेखि पाँच गाँस भात, दाल एक कचौरा र तरकारी एक थाल खान सक्छन् । यसले पेट पनि भरिन्छ र तौल पनि नियन्त्रण हुन्छ र फ्याटी लिभरको जोखिम कम हुन्छ ।

मोटोप घटाउन ध्यान दिनुपर्ने कुरा

धैर्यता : मोटोपन घटाउन धैर्यता चाहिन्छ । किनकि आजको भोलि वा सात दिनमा तौल घट्दैन, निरन्तर प्रयास गर्नुपर्छ ।

नियमितता र अनुशासन : तौल नियन्त्रण गर्न नियमितता र अनुशासन चाहिन्छ । जुन कुरा नखानुपर्ने कुरा आज खान्छु भनेर खाइयो भने एकबाट दुई र तीन चार हुँदै बढ्छ, त्यसैले खानामा अनुशासित हुनैपर्छ ।

सन्तुलित खाना र  व्यायाम : यो खाना बार्छु , त्यो खाना बार्छु भन्दा पनि सबै खाना खान्छु तर सन्तुलित रुपमा खान्छु भनेर प्रण गर्नुपर्छ । दुई हजार क्यालोरी खान्छु भनेपछि दुई हजार मात्र नै खानुपर्छ । साथै त्यो क्यालोरी बर्न गर्न नियमित व्यायाम गर्नुपर्छ ।

तनावमुक्त : तौल नियन्त्रण हुन तनावमुक्त पनि हुनुपर्छ । तनाव बढी हुँदा शरीरमा कर्टिसोल हर्मोन बढ्छ । यो हर्मोन बढेपछि तौल घट्दैन । त्यसैले तौल नियन्त्रण गर्न तनावमुक्त हुनुपर्छ ।

केही व्यक्ति तौल नियन्त्रण भनेपछि फेरि पुरानै खानपान र पुरानै जीवनशैलीमा फर्किने गर्छन् । त्यस्तो गर्न हुँदैन सुधारिएको खानपानलाई निरन्तरता दिने धुम्रपान, मद्यपान नगर्ने, गुलियो पेय पदार्थ नखाने र बाहिरको प्रशोधित खाना कम गरियो भने तौल नियन्त्रण हुन्छ र विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

फ्याटी लिभर मोटोपन
लेखक
डा. अवशेष भण्डारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय