+
+

सांसद हरि ढकाललाई सभामुखले रोकेपछि संसद अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १३:३३
संसद बैठकको फाइल तस्वीर ।

२९ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद अवरोध गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले माइक काटेका थिए ।

त्यसपछि रास्वपा र राप्रपा सांसद उठेर अवरोध गरेका हुन् । उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाएका थिए ।

त्यस क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले सांसद हरि ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरुले संसदमा जुनसुकै विषय उठाउन सक्ने भन्दै सभामुखले रोक्न नपाउने बताए । संसदमा जुनसुकै विषय उठाउन सांसदलाई सार्वभौम अधिकार रहेको लिङ्देनको भनाइ छ ।

रास्वपा र राप्रपा सांसदहरु उठेर संसद अवरोध गरिरहे । सभामुखले बस्न आग्रह गर्दा पनि उनीहरु मानेनन् । केहीबेरमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरु पनि उठे ।

अन्तिममा सभामुख घिमिरेले सांसद हरि ढकाललाई बाँकी समय उपयोग गरेर बोल्न समय दिएपछि माओवादी, रास्वपा र राप्रपा सांसदहरु बसे र संसद बैठक सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?